+
+

काठमाडौंका ८ वटै वडामा बालेन अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २१:१५

२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुवातदेखिको अग्रता कायम राखेका छन् ।

आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता अझ फराकिलो बनाउँदै लगेका छन् ।

महानगरको वडा नम्बर १ र २ को मतगणना सकिएको छ । वडा नं १ मा बालेनले ७८३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत पाएकी छन् ।

वडा नं २ मा बालेनले एक हजार २२०, स्थापितले ७२८ र सिंहले ४९७ मत प्राप्त गरेकी छन् ।

यी दुबै वडाको अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । एमालेका वडाध्यक्षका उम्मेदवारले भन्दा मेयरका उम्मेदवार स्थापितले कम मत पाएका छन् । वडा नम्बर १ का अध्यक्षमा निर्वाचित भरतलाल श्रेष्ठले ६२२ मत पाए, जुन स्थापितले पाएको भन्दा २५७ मत बढी हो ।

यस्तै, वडा नं २ को अध्यक्षमा निर्वाचित राजेन्द्रकुमार श्रेष्ठले मेयरका उम्मेदवार स्थापितले भन्दा ६४९ मत बढी अर्थात् १ हजार ३७७ मत पाए ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समेत समर्थन पाएकी कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत पाएकी छन् ।

वडा नं १ मा कांग्रेसका वडाध्यक्षको उम्मेदवार किरण श्रेष्ठले ५९८, नेकपा माओवादी केन्द्रका अर्जुन महर्जनले ३८, एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले ३६ मत पाएका छन् । उनीहरु सबैले पाएको मत जोड्दा ६७२ पुग्छ, जुन मेयरका उम्मेदवार सिंहले पाएको भन्दा २२१ ले बढी हो ।

फेल खाँदै पूर्वअनुमान

सोमबार मतगणना भइरहेको वडा नं ३, ४, ५, ६, ३१ र ३२ मा नेकपा एमालेले राम्रो मत आउने अनुमान गरेको थियो । एमालेको अनुमान अनुसार वडाध्यक्षका उम्मेदवारले अग्रता लिइरहेका छन्, तर मेयरका उम्मेदवार स्थापितले त्यस अनुसार मत पाउन सकेका छैनन् ।

वडा नम्बर ५, ६ र ३१ को मतगणना सुरु हुनु भन्दा अगाडि एमालेका नेताहरुले यी तीनवटै वडाको मत गन्न थालेपछि बालेन पछाडि पर्ने तर्क गरेका थिए । तर, मतगणनाको नतिजा आउँदा एमालेको अनुमानले फेल खाएको छ ।

सोमबार साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार मतगणना भइरहेको ६ वटै वडामा बालेनले अग्रता लिइरहेका छन् । वडा नं ३ मा सोमबार साँझसम्म बालेनले १२७६, स्थापितले ६७८ र सिंहले ६३० मत पाएकी छन् ।

वडा नं ४ मा बालेनले १५३९ मत ल्याएका छन् । जहाँ स्थापितको मत ७४५ र र सिंहको मत ३६३ मत छ । वडा नं ५ मा बालेनले ५९७ मत ल्याउँदा स्थापितले ३८६ र सिंहले २७१ मत प्राप्त गरेका छन् ।

वडा नं ६ को मतगणनामा पनि सुरुवातमै बालेनले अग्रता लिएका छन् । यो वडाबाट बालेनले १२४ मत ल्याउँदा स्थापितले १०० र सिंहले १०७ मत पाएका छन् ।

वडा नं ३१ मा बालेनले ७५८, स्थापितले ४५८ र सिंहले ४३१ मत पाएका छन् । वडा नं ३२ मा सुरुवात देखि नै अग्रता लिएका बालेनले एक हजार ७४० मत ल्याउँदा स्थापितले ७९९ र सिंहले ६८० मत पाएकी छन् ।

मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिहरुका अनुसार धेरै मतदाताले एक भोट वालेनलाई र बाँकी पार्टीका उम्मेदवारलाई दिने गरेको पाइएको छ । कतिपयले मेयरमा पार्टीका उम्मेदवार र वालेन दुवैलाई मत दिँदा बदर मतको संख्या पनि धेरै छ ।

राष्ट्रिय सभागृहस्थित मतगणनास्थलमा भेटिएका एमालेका एक प्रतिनिधि भन्छन्, ‘मेयरको अधिकांश बदर मत पार्टीलाई र लौरो दुबैमा छाप लगाएको वाला छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?