+
+

भ्रष्टाचार मुद्दामा निलम्बित वडाध्यक्ष उपाध्याय गाउँपालिका अध्यक्षमा निर्वाचित

जनक विष्ट जनक विष्ट
२०७९ जेठ ५ गते १८:३०

५ जेठ, धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका माओवादी केन्द्रका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउने कि नगराउने भन्ने अन्योल भएको छ ।

विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुुद्दा विचाराधीन रहेका बेला गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उपाध्यायलाई सपथ ग्रहण गराउने वा नगराउने भन्ने विषयमा निर्वाचन कार्यालयका अधिकारी अन्योलमा परेका हुन् ।

कैलालीका मुुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उपाध्यायको सपथबारे अन्यौल भएको बताए ।

‘निर्वाचन प्रक्रियामा सहभागी भएर उहाँहरु विजयी भइसकेपछि भ्रष्टाचार सम्बन्धी अदालतमा मुद्दा विचाराधीन रहेको कुरा जानकारीमा आएको छ,’ पनेरुले अनलाइनखबरसँग भने, ‘निर्वाचित भएर आइसकेपछि अब कसरी के गर्न सकिने भन्ने विषयमा हामी कानूनी अध्ययनमा छौँ ।’

पनेरुले अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा उनीहरुको सपथ ग्रहण गर्ने वा नगर्ने भन्ने कानूनी व्यवस्थाबारे अध्ययन गरिरहेकाले चाडै निकास दिइने जनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका प्रमुख रामबहादुर कुरुम्बाङले मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका उपाध्यायलाई तत्कालीन वडा नम्बर २ को अध्यक्ष भएका बेला भ्रष्टाचार मुुद्दा लागेको र अहिले विशेष अदालतमा विचाराधीन रहेको पुष्टि गरे ।

उनले नेपाली कांग्रेसबाट वडा नम्बर ३ को वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा पनि अदालतमा विचाराधीन रहेको बताए । भ्रष्टाचार सम्बन्धी कसुरमा मुुछिएका व्यक्तिले जनप्रतिनिधिका रुपमा सपथ ग्रहण गर्न नपाउने कुरुम्बाङले अनलाइनखबरलाई बताए । ‘भ्रष्टाचार मुुद्दा लागेपछि कुुनै पनि राष्ट्र कर्मचारीले सरकारी कामकाज गर्न पाउदैनन् । जननिर्वाचित व्यक्ति पनि राष्ट्र सेवक भएका कारण उहाँहरुले मुद्दाको अन्तिम फैसला नभएसम्म जनप्रतिनिधिको रुपमा काम गर्न पाउनुुहुुन्न,’ कुरुम्बाङले अनलाइनखबरसँग भने ।

उनले भ्रष्टाचार मुद्दामा अभियोग लागिसकेपछि जनप्रतिनिधिका रुपमा सपथ ग्रहण गर्न समेत नपाउने बताउँदै तत्कालीन अवस्थामा निलम्बन गरिएका व्यक्तिले पुनः सोही भूमिकामा काम गरेको अवस्थामा नियन्त्रणमा लिइने समेत जानकारी दिए ।

उपाध्याय र गिरीको भ्रष्टाचार सम्बन्धी मुद्दा के हो ?

अवैध रुपमा नदीजन्य वस्तु ढुङ्गा, वालुवा उत्खनन गरेर सरकारी राजश्व हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहन्याल गाउँपालिकाका तत्कालीन अध्यक्ष दिंवगत नवलसिंह रावलसहितका १४ जनप्रतिनिधिविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

जसमा तत्कालिन वडाध्यक्ष तथा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार बनेर मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्याय र वडाध्यक्ष नन्दराम गिरी पनि आरोपित थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २ गते उक्त मुुद्दाको अनुसन्धान सकेर विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो । ५६ लाख रुपैयाँ बिगो माग दाबीसहित अदालतमा आरोप पत्रमा दायर गर्ने बेला उपाध्याय वडा नम्बर २ को वडाध्यक्ष र गिरी वडा नम्बर ३ को वडाध्यक्षका रुपमा कार्यरत थिए ।

अख्तियारले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि कानूनः निलम्बनमा परेको भन्दै पत्र पठाएपनि उनीहरु काम गरिरहे भने ३० वैशाखमा पुनः उम्मेदवारी दिए । तर उनीहरुका विरुद्ध कसैले पनि उजुरी नदिएपछि दुवै जना पुनः जनप्रतिनिधिका रुपमा निर्वाचित भएका हुन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?