+
+

बढ्न सकेन बीमा व्यवसाय, मोटर र सम्पत्ति बीमाकै भर

चालु आव तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीले ३० अर्ब १५ करोड ३० लाख रुपैयाँबराबर बीमा शुल्क आर्जन गरेका छन् । यो २२ लाख ६२ हजार ३ सय २६ बीमालेखबाट संकलन भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते २०:१६

१३ वैशाख, काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव बीमा व्यवसायमा देखिएको छ ।

चालु आर्थिक वर्ष (आव) २०८०/८१ तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीले ३० अर्ब १५ करोड ३० लाख रुपैयाँबराबर बीमा शुल्क आर्जन गरेका छन् । यो २२ लाख ६२ हजार ३ सय २६ बीमालेखबाट संकलन भएको हो ।

गत आव सोही अवधिमा निर्जीवन बिमा कम्पनीले २१ लाख ६६ हजार २ सय २८ बीमालेख जारी गरी ३० अर्ब १ करोड ४८ लाख आर्जन गरेका थिए ।

चालु आव चार नयाँ लघु निर्जीवन बीमा कम्पनी पनि सञ्चालनमा आएकाले लघु बीमाले ६८ हजार ७७ बीमालेख जारी गरेर १५ करोड ५३ लाख संकलन गरेका छन् ।

लघु बीमाबाहेक पुराना निर्जीवन बीमा कम्पनीले आर्जन गरेको शुल्क गत वर्षको तुलनामा घटेको हो । चालु आव तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीले भने २९ अर्ब ९९ करोड ७७ लाख आर्जन गरेका छन् । जुन गत आव सोही अवधिको तुलनामा कम हो ।

चैतसम्म लघु बीमालेख ८५ हजार ८ सय १० वटा जारी हुँदा १७ करोड २ लाख प्रिमियम संकलन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।

चैत २०८० मा मात्रै निर्जीवन बीमा कम्पनीले २ लाख ७६ हजार ८ सय ८१ बीमालेख जारी गर्दा ३ अर्ब ८३ करोड २६ लाख रुपैयाँ संकलन भएको हो । जसमध्ये २६ हजार ९ सय १२ लघु बीमालेख जारी हुँदा ५ करोड २६ लाख संकलन भएको छ ।

बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्सको अग्रता

मर्जर भएको कम्पनीलाई पछाडि छाड्दै शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले तेस्रो त्रैमाससम्म २ लाख ४२ हजार बीमालेख जारी गरी ४ अर्ब २३ करोड आर्जन गरेको छ ।

यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख २४ हजार बीमालेख जारी गरी ३ अर्ब ५३ करोड आर्जन गरेको प्राधिकरणले जनाएको छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ३३ हजार बीमालेख जारी गरी २ अर्ब ८९ करोड संकलन गरेको छ । चैतसम्म सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा नेसनल इन्स्योरेन्स छ ।

यसले २६ हजार बीमालेख जारी गरेर ८७ करोड संकलन गरेको छ । यस्तै नेपाल इन्स्योरेन्सले १ लाख ५६ हजार बीमालेख जारी गरी १ अर्ब १५ करोड र राष्ट्रिय बीमा कम्पनीले १ लाख ५७ हजार बीमालेख जारी गरी १ अर्ब ३१ करोड आर्जन गरेको छन् ।

नेसनलपछि कम बीमा शुल्क जारी गर्नेमा दि ओरिएन्टल इन्स्योरेन्स छ । जसले ३२ हजार बीमालेख जारी गरेर १ अर्ब ५२ करोड आर्जन गरेको छ ।

नयाँ सञ्चालनमा आएको लघुबीमा कम्पनीमा नेपाल माइक्रो इन्स्योरेन्सले ३३ हजार ७ सय ४ बीमालेख जारी गरेर ६ करोड ६३ लाख प्रिमियम संकलन गरेको छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १५ हजार ६ सय २३ बीमालेख जारी गरेर ४ करोड ९८ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १६ हजार ६ सय ६८ बीमालेखबाट ३ करोड २९ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७ सय ६६ बीमालेख जारी गरी ६४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

दुई तिहाइ व्यवसाय बागमतीमा

निर्जीवन बीमा कम्पनीले आर्जन गर्ने बीमा शुल्कमध्ये दुई तिहाइ हिस्सा बागमती प्रदेशको रहेको बीमा प्राधिकरण तथ्यांकले देखाउँछ ।

चैत मसान्तसम्म आर्जन गरेको कुल बीमा शुल्कमा ६५.४४ प्रतिशत हिस्सा बागमती प्रदेशको छ । सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीले बागमती प्रदेशमा ९ लाख ७३ हजार १ सय ७३ बीमालेखबाट १९ अर्ब ७३ करोड ३१ लाख संकलन भएको छ । बागमती प्रदेशमा जारी भएको बीमालेख चैतसम्म जारी भएको कुल बीमालेखको ४३.०२ प्रतिशत हो ।

यस्तै सबैभन्दा सानो हिस्सा रहेको कर्णाली प्रदेशमा १.९५ प्रतिशत मात्रै बीमाशुल्क संकलन भएको छ । कर्णालीमा ४६ हजार ८ सय २ बीमालेखबाट ५८ करोड ६९ लाख संकलन भएको छ ।

त्यस्तै कोसी प्रदेशमा २ लाख ८६ हजार २ सय ६९ बीमालेख जारी हुँदा २ अर्ब ६५ करोड ३८ लाख संकलन भएको छ । यो कुल बीमा शुल्कको ८.८० प्रतिशत हो ।

मधेश प्रदेशमा २ लाख ३८ हजार ३ सय ४१ बीमालेखबाट १ अर्ब ९९ करोड २९ लाख संकलन भएको छ । जुन कुल बीमा शुल्कको ६.६१ प्रतिशत हो ।

यसैगरी गण्डकी प्रदेशमा २ लाख ३५ हजार ९ सय ७१ बीमालेख जारी हुँदा १ अर्ब ६७ करोड ६ लाख संकलन भएको छ । जुन कुल बीमा शुल्कको ५.५४ प्रतिशत हो । लुम्बिनी प्रदेशमा बागमतीपछिकै धेरै ३ लाख ६५ हजार ७ सय ७ बीमालेख जारी भई २ अर्ब ७२ करोड ८६ लाख संकलन भएको छ । जुन कुल बीमा शुल्कको ९.०५ प्रतिशत हो ।

सुदुरपश्चिम प्रदेशमा १ लाख १६ हजार ६३ बीमालेख जारी भई ७८ करोड ७५ लाख संकलन भएको छ । जुन कुल बीमाशुल्कको २.६१ प्रतिशत हो ।

सम्पत्ति र मोटर बीमाले धानेको निर्जीवन बीमा व्यवसाय

निर्जीवन बीमा व्यवसाय सम्पत्ति र मोटर बीमामा निर्भर देखिएको छ । मोटर बीमामा तेस्रो पक्ष बीमा अनिवार्य छ भने ऋणमा निकालेको गाडीको पनि बीमा अनिवार्य भएकाले मोटर बीमा व्यवसाय उच्च देखिन्छ ।

चालु आव चैतसमम बीमा कम्पनीले मोटर बीमालेख जारी गरेर ९ अर्ब २८ करोड ९२ लाख संकलन गरेका छन् । जुन कुल बीमा शुल्कको ३०.८१ प्रतिशत हो ।

यस्तै सम्पत्ति बीमालेखबाट ७ अर्ब ४२ करोड ७१ लाख संकलन भएको छ । जुन कुल बीमाशुल्कको २४.६३ प्रतिशत हो । निर्जीवन बीमा कम्पनीको व्यवसायमा मोटर र सम्पत्ति बीमाको हिस्सा मात्रै ५५ प्रतिशतभन्दा माथि देखिन्छ ।

यस्तै सामुद्रिक बीमालेखबाट १ अर्ब ४७ करोड ४१ लाख अर्थात् ४.८९ प्रतिशत बीमाशुल्क संकलन हुँदा हवाई बीमालेखबाट १ अर्ब ९७ करोड ८३ लाख अर्थात् ६.५६ प्रतिशत बीमालेख संकलन भएको छ ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाबाट ४ अर्ब ७५ करोड ११ लाख आर्जन भएको छ । जुन कुल बीमाशुल्कको १५.७६ प्रतिशत हो ।

त्यस्तै विविध बीमालेखबाट ११.२३ प्रतिशतले हुने ३ अर्ब ३८ करोड ६६ लाख र कृषि तथा बाली बीमालेख मार्फत ५.५६ प्रतिशतले हुने १ अर्ब ६७ करोड ६२ लाख संकलन भएको छ । लघु बीमालेख जारी गरेर १७ करोड २ लाख बीमाशुल्क संकलन भएको छ । जुन कुल बीमाशुल्कको ०.५६ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?