+
+

मतपत्र बढी भेटिएपछि रंगेलीमा तनाव, तीन राउन्ड अश्रु ग्याँस प्रहार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १८:१८

६ जेठ, विराटनगर । मुचुल्का गरिएको भन्दा बढी मतपत्र भेटिएपछि मोरङको रंगेली नगरपालिकामा तनाव भएको छ । मतगणनका क्रममा मुचुल्का गरिएको भन्दा ९९ वटा बढी मतपत्र भेटिएपछि नेपाली कांग्रेस कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा तीन प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका छन् ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड अश्रु ग्याँस प्रहार गरेको मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । घाइतेको अवस्था सामान्य रहेको उनले बताए । केहीबेर तनावग्रस्त भएको रंगलीको मतगणना क्षेत्र अहिले सामान्य रहेको उनको भनाइ छ ।

मतगणनाका क्रममा वडा नम्बर ७ मा ९९ वटा बढी मतपत्र भेटिएपछि कांग्रेसले मतगणना रोकेर प्रदर्शन गरेको थियो । कांग्रेसका उम्मेदवार मोदराज घिमिरेका अनुसार वडा नम्बर ७ मा ३ हजार ४४२ मत खसेको थियो, गणनाका क्रममा ९९ वटा मतपत्र बढी भेटिएपछि मतगणना रोकिएको छ ।

विवादका कारण रोकिएको मतगणना पुनः सुरु हुन नसकेको रंगेली नगरपालिकाका निर्वाचन अधिकृत रामहरि शर्माले बताए । कांग्रेसले पुनः निर्वाचन माग गरेको पत्र पेस गरेपछि निर्वाचन आयोगमा पठाइदिएको उनले बताए ।

रंगेलीमा यसअघि पनि विवाद भएको थियो । शनिबार राति ८ बजे शिल नगरेको मतपेटिका भेटिएपछि कांग्रेस प्रतिनिधिले मतगणना रोकेका थिए ।

रोकिएको मतगणना निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको उपस्थीतिमा भएको छलफल पछि सोमबारबाट सुरु भएको थियो ।

रंगेलीमा पछिल्लो मतपरिणाम अनुसार एमाले उम्मेदवार दिलीपकुमार अग्रवाल ७ हजार ३८५ मतसहित अग्रस्थानमा छन् । कांग्रेस उम्मेदवार घिमीरेले ५ हजार ७८ मत पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?