+
+

रंगेलीको गरिब बस्तीमा आगलागी, २० घर जल्दा २३ परिवारको बिचल्ली

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते ८:१६

४ चैत, विराटनगर । मोरङको रंगेली नगरपालिका ३ मा आगलागी हुँदा २३ परिवारको बिचल्ली भएको छ । आगलागीबाट सन्थाल, सतार र मुसहर समुदायका २० घर जल्दा २३ परिवार प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवम् डिएसपी रञ्जन दाहालले जानकारी दिए ।

डिएसपी दाहालका अनुसार शनिबार दिउँसो करिब २ बजेतिर सुरु भएको आगो आइतबार बिहान ४ बजेमात्र पूर्णरुपमा निभाइएको छ । शनिबार पाँच बजेतिर आगोलाई नियन्त्रणमा लिइए पनि सानातिना आगो र धुवाँ आउने क्रम आइतबार बिहानसम्मै जारी थियो । आइतबार बिहान चार बजेमात्र आगो पूरै निभाइएको डिएसपी दाहालले भने । आगो निभाउन ७ वटा दमकल प्रयोग गरिएको थियो ।

पश्चिमबाट चलेको हावाका कारण आगो निभाउन कठिन भएको र टोलमा रहेका सबै घर जलेको प्रहरीले बताएको छ ।

आगलागीमा परेको घरबाट परिवारका सदस्यले सामान निकाल्न  पाएनन् । अधिकांश पीडितले शरीरमा लगाएका कपडा बाहेक अन्य सामान जोगाउन नसकेको वडा अध्यक्ष भरत प्रसाईंले जानकारी दिए । घरबाट मालसामान निकाल्न खोज्दा २९ वर्षीया तलाबेटी मुर्मू जलेर सामान्य घाइते भएका छन् ।

आगोले जंगली मुर्मुसहित तल्लु, भना, धारो, जुगल, मंगल, साइला, सञ्चराम, गम्बु, सुकदेव, राम मुर्मू तथा चन्द्र, सुकल, बासुदेव, चट्टा, किस्कु एवं मनोज, बुद्धराय, मराहाङ, हेमराम र सुमन सतार, सुकल हस्दा, लुकु टुडु तथा बाबुलाल बेश्राको घर जलेको हो ।

बस्तीमा प्राय एउटै प्रकृतिका र बाक्ला घर थिए । केही घरहरु इँटाको सामान्य गाह्रो लगाएर बनाइएका थिए । बाँस, सन्ठी र पराल मिलाएर बनाइएका घरमा आगो छिटो फैलिएको र हावाहुरी चलेकाले नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ ।

पीडित परिवारहरु घर जलेकै स्थान नजिक त्रिपाल टाँगेर बसिरहेका छन् । वडा अध्यक्ष प्रसाईंका अनुसार आगलागी पीडितहरुलाई पालिकाले घर बनाउनका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

आगलागीपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राई, मन्त्रालयका सचिवसहित मोरङका सुरक्षा अधिकारीले स्थलगत निरीक्षण गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?