+
+

‘असन्तुष्ट समूह’को नेतृत्व गर्दै एन्फा अध्यक्षमा पंकजको मनोनयन, संस्थापनबाट कर्माले सोमबार दर्ता गर्ने

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ ६ गते १८:२९

६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले एक महिनापछि हुने कार्यसमिति चुनावमा अध्यक्ष पदका लागि शुक्रबार मनोनयन दर्ता गराएका छन् ।

सातदोवाटोस्थित एन्फा मुख्यालयमा पुगेर मनोनयन दर्ता गराएका उनले झापा जिल्ला फुटबल संघको प्रतिनिधित्व गर्नेछन् । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगीरथ आले र ए डिभिजन क्लब जावलाखेल युथका अध्यक्ष महेन्द्र क्षेत्रीले पिंकजलाई प्रस्ताव र समर्थन गरेका छन् ।

एन्फाको २१औं चुनावी साधारणसभा असार ६ गते राजधानीमा हुँदैछ । जसमा २१ जनाको कार्यसमितिका लागि निर्वाचन हुँदैछ । यसअघि १७ जनाको कार्यसमिति रहने गरेको थियो । तर १९औं साधारण सभाले निर्वाचित कार्यसमिति २१ जना पुर्‍याउने निर्णय गरेको थियो । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र १५ जना सदस्य रहनेछन् । सदस्यमा दुई महिला अनिवार्य गरिएको छ ।

यसअघि चार जना उपाध्यक्षबाट वरिष्ठ छानिने प्रावधान रहेपनि अब भने वरिष्ठ उपाध्यक्षको लागि पनि निर्वाचन हुनेछ । महासचिव र कोषाध्यक्ष भने पछि मनोनित गरिनेछ ।

शुक्रबारै नेम्वाङले पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थिए । उनको टिमबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष वीरबहादुर खड्काले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । तर, उनले मनोनयन भने दर्ता गराएका छैनन् ।

अहिले अध्यक्षको मनोनयन मात्र दर्ता गरेको र वरिष्ठ उपाध्यक्षसहित बाँकी पदका लागि पछि मनोनयन दर्ता गर्ने नेम्वाङले बताए । नेम्वाङले मुख्य दुई पदबाहेक अन्य पदका लागि उम्मेदवारको बारेमा छलफल भइरहेको र छिट्टै टुङ्गो लाग्नेसमेत जानकारी दिए ।

एन्फाको चुनावी साधारसणसभाका लागि जेठ ६ देखि १२ गतेसम्मको समय तोकिएको छ । संस्थापनका तर्फबाट वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दोहोरिने निर्णय गरेका छन् । सोमबार मनोनयन दर्ता गर्ने उनको भनाई छ । अध्यक्षसँगै अन्य पदमा उम्मेदवार निर्धारण गरी प्यानलसहित मनोनयन दर्ता गर्ने गृहकार्यमा शेर्पा लागेका छन् ।

‘हामीले जुन विश्वास गरेर कर्माजीलाई नेतृत्वमा पुर्‍याएका थियौँ त्यो भएन । आर्थिक अनियमितता देखि आर्थिक नाकावन्दीसम्म भयो । फिफाले मान्छे नै पठाएर अडिट गर्नुपरेको छ । नितिगत भ्रषटाचारदेखि आर्थिक र प्रशासनिक भ्रष्टाचार भइरहेको छ,’ एन्फाको असन्तुष्ट समूहका नेतासमेत रहेका नेम्वाङले उम्मेदवारी घोषणा कार्यक्रममा भने, ‘नेपाली फुटबललाई राम्रोसँग अगाडि बढाउने हो भने हामीले उम्मेदवारी दिनैपर्छ भनेर जिल्लादेखि क्लबका साथीहरुको आग्रहअनुसार अघि बढेका हौं ।’

उनले ठूलो योजना बनाउने भन्दा पनि चार वर्षे कार्यकालमा बनाउन सकिने योजनालाई अघि बढाउने बताएका छन् । राष्ट्रिय लिग सन्चालन गर्नेदेखि एन्फा सचिवालय चुस्त बनाउने अनी विज्ञहरुको रायसमेत लिएर अघि बढ्ने नेम्वाङ समूहको योजना छ।

शुक्रबार उम्मेदवारी घोषणा कार्यक्रममा वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्ण थापा, केन्द्रीय सदस्य किरण राई, दावा लामा, विजय घलेलगायत उपस्थित थिए ।

चार वर्षअघि ‘चेन्ज एन्फा’ को चुनावी नारासहित एक प्यानल बनाएर अघि बढेका कर्मा र पंकज एक कार्यकालपछि नै दुई धारमा विभाजित भएका हुन् । चेन्ज एन्फाको नारामा लामो समयदेखि सहकार्य गरेका उनीहरुकै प्रयासमा एन्फाबाट गणेश थापाको २२ वर्षे कार्यकाल अन्त्य भएको थियो । चार वर्षअघि कर्मा अध्यक्षमा निर्वाचित भएलगत्तै पद विभाजन र पारदर्शीताका विषयमा मतभेद सुरु भएको हो । चार वर्षअघि आफूलाई अध्यक्षमा निर्वाचित गराउन सक्रिय भूमिका खेल्ने ठूलो समूह असन्तुष्ट बनेको देखिन्छ ।

यस पटक दुवै पक्ष प्यानलसहित मनोनयन दर्ता गर्ने तयारीमा छन् । अध्यक्ष कर्मा छिरिङको पक्षमा वर्तमान उपाध्यक्ष उपेन्द्रमान सिंह र मानार्थ उपाध्यक्ष शिक्षित पराजुली छन् । यस्तै महासचिव इन्द्रमान तुलाधर पनि शेर्पाकै पक्षमा छन् ।

पंकजको पक्षमा वर्तमान उपाध्यक्षद्वय वीरबहादुर खड्का र कृष्ण थापा छन् । यस्तै बाँकी सदस्यहरु भने दुवै पक्षमा बाँडिएका छन् ।

एन्फा निर्वाचनमा कूल ८७ मतदाता रहनेछन् । जसमा ४५ जिल्ला, ए डिभिजनका १४ क्लब, बी डिभिजनका ११ क्लब, सी डिभिजनका ९ क्लब, एन्फा प्रेसिडेन्ट कपको शीर्ष चारमा हरँदै राष्ट्रिय लिगमा छनोट भएका चार क्लब र एन्फा अन्तर्गत रहेका खेलाडी संघ, प्रशिक्षक संघ, महिला संघ र रेफ्री संघ छन् ।

४५ जिल्लामध्ये प्रदेश १ बाट १० जिल्ला, मधेश प्रदेशबाट ८, बागमती प्रदेशबाट ११, गण्डकी र लुम्बिनी प्रदेशबाट ६–६ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २–२ जिल्लाको मताधिकार हुनेछ ।

प्रदेश १ बाट १० जिल्लाले यसअघि नै पंकज नेम्बाङलाई अध्यक्षमा समर्थन गर्ने घोषणा गरिसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?