+
+

एमए अर्थशास्त्रको प्रश्नपत्र दोहोरिएपछि त्रिविले भन्यो– गल्ती भयो, छानबिन गर्छौं

विद्यार्थीले मागे विभागीय प्रमुखको राजीनामा, डिनको कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २० गते ७:५५

२० जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको एमए तेस्रो सेमेष्टरमा अर्थशास्त्र विषयको परीक्षाको प्रश्नपत्र गत वर्षको परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको छ ।

प्रश्नपत्र दोहोरिएको पत्ता लागेपछि विद्यार्थीहरुले सामाजिक सन्जालमा त्रिविको आलोचना गरेका छन् । यसको विरोधमा अखिल क्रान्तिकारी त्रिवि जिल्ला समितिले डिनको कार्यालयमा तालाबन्दी गरेको छ ।

अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले त्रिविले लापरवाही गरेको भनेर आलोचना गरेका छन् । ‘पछिल्लो समय स्नातकोत्तर तह अर्थशास्त्रको प्रश्नपत्र हुबहु अघिल्लो वर्षसँग मिल्नु भनेको लापरवाहीको पनि पराकाष्ठा हो,’ रेग्मीले सामाजिक सन्जालमा लेखेका छन्, ‘यहाँबाट प्राप्त हुने प्रमाणपत्रहरुको राष्ट्रिय/अन्तर्रास्ट्रिय गरिमा गिरेको गिर्यै छ । त्रिभुवन विश्वविद्यालयका समस्याहरु समाधान गर्न निर्मम भएर लाग्नुको विकल्प छैन ।’

यस वर्ष र अघिल्लो वर्षको परीक्षाका प्रश्नपत्र

अखिल क्रान्तिकारी त्रिवि जिल्ला समिति उपाध्यक्ष विपिन विकले विज्ञप्ति जारी गरी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै आलोचना गरेका छन् । उनले डिन, सहायक, डिन, प्रशासनका कर्मचारीहरुको राजीनामा माग्दै डिनको कार्यालयमा अनिश्चितकालसम्मका लागि तालाबन्दी गरेको जनाएका छन् ।

यसैगरी अर्का एक जना विद्यार्थी प्रदीप राज भट्टले विभागीय प्रमुख डा. शिवराज अधिकारीमाथि छानविन गर्नुपर्ने र उनले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

हुबहु प्रश्नका सम्बन्धमा त्रिविले छानविन गर्ने

गत बुधबार लिइएको पब्लिक इकोनोमिक्स (कोड नं. ५६०)को प्रश्नपत्र अघिल्लो वर्षको परीक्षामा सोधिएको प्रश्नपत्रसँग हुबहु मिलेको छ । ६० पूर्णाङ्कको परीक्षामा १३ वटा प्रश्न सबै गत वर्षमा नै सोधिएका प्रश्नपत्रसँग हुबहु मिलेका हुन् ।

यसैबीच त्रिभुवन विश्वविद्यालयले अर्थशास्त्र विषयको परीक्षाको प्रश्नपत्र दोहोरिएको सम्बन्धमा गल्ती स्वीकार गर्दै छानविन गर्ने जनाएको छ । त्रिवि मानविकी तथा समाजशास्त्र संकायका डीन प्रा. डा. कुसुम शाक्यले गत वर्षकै प्रश्नपत्र पनि यसपटक परीक्षामा हुबहु समावेश गर्नु गल्ती भएको भन्दै त्यसबारे छानबिन गर्ने बताएकी हुन् ।

‘के कारणले गत वर्षको प्रश्नपत्र दोहोरियो भन्नेमा हामी छानविन गर्दछौं, भविष्यमा यस्ता गल्ती नदोहोरिने गरी हामी अगाडि बढ्छौं,’ शाक्यले रासससँगको कुराकानीमा भनेकी छन् ।

शाक्यका अनुसार प्रश्नपत्र बनाउने जिम्मा विज्ञ समूहलाई दिइन्छ । विज्ञ समूहले जहिले पनि दुई सेट प्रश्नपत्र बनाएर दिन्छन् । त्यहीमध्ये एउटा सेट प्रश्नपत्र परीक्षाका लागि समावेश गर्दा गत वर्षकै दोहोरिएको शाक्यले बताएकी छन् ।

त्रिविको केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख शिव अधिकारीले भने प्रश्नपत्र बैंकबाट छनौट गर्दा पुरानो प्रश्नपत्र परेको बताए । विद्यार्थीले परीक्षा दिइसकेपछि मात्रै हुबहु दोहोरिएको भन्ने थाहा भएकाले परीक्षा स्थगित नहुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?