
२० जेठ, काठमाडौं । नागरिकताका विषयका नीति निर्माणकर्ताको सोच साँघुरो रहेको सरोकारवालाले बताएका छन् । शुक्रबार महिला कानून तथा विकास मञ्चले आयोजना गरेको नागरिकता ऐन संशोधन विधेयकमाथिको छलफल कार्यक्रममा विभिन्न सांसद र सरोकारवालाले नागरिकतालाई राष्ट्रियतासँग नजोडी व्यक्तिको अधिकारसँग जोड्नुपर्ने धारणा राखे ।
नेपाली कांग्रेसका नेता तथा सांसद मीन विश्वकर्माले नागरिकताको विषयमा संविधान खुकलो, ऐन साँघुरो बनाउन खोजिएकाले लाखौं नागरिक नागरिकताबाट बञ्चित हुनुपरेको बताए । दलहरुका शीर्ष नेता सहमत भएर संविधान बमोजिम आएको विधेयकलाई पास गर्ने गरी तयारी भइरहेको बताउँदै नेता विश्वकर्माले अहिलेकै सरकारले विधेयक पारित गर्ने दबी गरे ।
सांसद विमला विश्वकर्माले संविधानको भावना बुझन नसक्दा नागरिकता विधेयक लामो समयसम्म पनि नागरिकता सम्बन्धी विधेयक पारित हुन नसकेको बताइन् । नागरिकता विषयलाई धेरै नगिजोल्न र राष्ट्रियासँग मात्र जोड्न उनले आग्रह गरिन् ।
सांसद समीना हुसेनले युवालाई नागरिकताबाट बञ्चित गराउँदा देशलाई ठूलो नोक्सानी भएको बताइन् । संविधानको व्यवस्था नागरिकले नागरिकता पाउनुपर्ने व्यवस्था गरी अन्यायमा परेका नागरिकलाई न्याय दिलाउनुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले पारित गरी प्रतिनिधिसभामा पेश गरेको नागरिकता विधेयक अझै पारित हुन सकेको छैन ।
प्रतिक्रिया 4