+
+

समाजवादीमा किन हुँदैछ मन्त्री फेरबदल ?

बालेन, हर्क साम्पाङ र गोपी हमाल जस्ता स्वतन्त्र व्यक्तिहरूलाई शासकीय पदमा पठाएर जनताले स्पष्ट संकेत दिंदादिंदै पनि पुनः त्यस्तै गल्ती दोहोर्‍याउँछन् भने पार्टीहरूको हविगत भीरबाट लड्ने गोरुको जस्तो नहोला भन्न सकिंदैन ।

हीरा विश्वकर्मा हीरा विश्वकर्मा
२०७९ जेठ २९ गते ११:१२

म समेत आवद्ध भएको दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको एउटा विशेष कार्यक्रम थियो, जसका प्रमुख अतिथि थिए दबंग मन्त्रीको उपमा पाएका पर्यटन तथा संस्कृति मन्त्री प्रेम आले । कार्यक्रम सुरु हुने भनिएको ११ बजे थियो, अरू बेलामा दलितहरूले आयोजना गरेका यस्ता कार्यक्रमहरूमा मिडिया त्यसमा पनि टेलिभिजन च्यानलहरूको उपस्थिति भनेको अपवाद मात्रै हुन्थ्यो । तर, त्यो दिन २०/२५ वटा क्यामरासहित टेलिभिजन पत्रकार तथा युट्युबरहरूको उपस्थिति थियो ।

मन्त्रीको व्यस्तता हुने नै भयो, त्यसकारण मन्त्री आले निर्धारित समयभन्दा दुई घण्टा ढिलो अर्थात् एक बजेतिर कार्यक्रम स्थलमा आए । आयोजकहरूले उनलाई फूलमालासहित स्वागत गर्नु त सामान्य भयो, तर दुई घण्टादेखि कुरेर बसेका पत्रकारहरूले पनि उनको निकै राम्रो स्वागत गरे । धेरै कुर्नु परेकोमा पनि खासै केही गुनासो गरेनन् ।

जब मन्त्रीले कार्यक्रमलाई सम्बोधन गरे, त्यतिबेला मन्त्रीको अनुहारै नदेखिने गरी क्यामराहरूले लछप्पै छोपे । मन्त्री आलेको पत्रकारहरू माझ यस्तो छवि यत्तिकै भएको भने होइन । यसमा उनले जनताको पक्षमा केही राम्रा कामहरू गरेका हुनाले मिडियाले उनलाई त्यसरी पछ्याएको हो । अहिलेसम्म पनि उनी मिडियामा छाइरहने मन्त्रीहरूमध्ये अग्रपंक्तिमा पर्दछन् । उनले त्यस्तो के गरे र मिडियाका उनी पि्रय हुन पुगे । यो जो कोहीका लागि पनि कौतूहलको विषय हुन सक्छ ।

मन्त्री आले पदमा रहेको ६ महिना मात्र नाघेको छ । यो अवधिमा उनले त्यस्तो चामत्कारिक काम केही गरेका छैनन् । तर नेपाली जनताका लागि कुनै मन्त्री वा नेताले ठूला काम होइन कि उनीहरूको दैनिक सरोकारका विषयमा सामान्य सुधारको काम गर्‍यो भने पनि त्यसले वाह्वाही पाउँछ ।

पहिलो काम मन्त्री आलेले त्रिभुवन विमानस्थलको गेटबाट आन्तरिक टर्मिनलसम्म जाने माइक्रोबसमा निःशुल्क यात्राको व्यवस्था गरिदिए । हवाई यात्रा गर्ने सबै जनाले ट्याक्सी चढ्छन् भन्ने केही छैन । जो बस चढेर एयरपोर्ट गेटसम्म पुग्छ उसलाई त्यहाँबाट न ट्याक्सीमा जानु न हिंड्नु जस्तो हुन्थ्यो । यस्तोमा शटल बस सर्भिस त्यो पनि निःशुल्क हुँदा त्यसले सुरुमै उनको वाह्वाही गरायो ।

नारायणहिटी दरबार संग्रहालय तथा पशुपति धर्मशालामा सेटिङमार्फत बतास समूहले गरेको कब्जाको विरुद्ध आलेले जेहाद नै छेडे र सरकारी सम्पत्तिको दुरुपयोग मात्रै नभई दोहन गर्नबाट रोके । ढिलोचाँडो भैरहवा विमानस्थल सञ्चालनमा आउँथ्यो नै तर त्यसलाई सकेसम्म छिटो सञ्चालन गर्नको लागि मन्त्रीले यति तदारुकता देखाए कि अहिले त्यहाँ जजिरा एयरलाइन्सको अन्तर्राष्ट्रिय उडान सुरु भइसक्यो । उनी पदमा रहे भने पोखरा एयरपोर्ट पनि चाँडै नै सञ्चालनमा आउँछ भन्ने आधार धेरै छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडा हाम्रो पालाका विद्यार्थी नेताबाट उदाएका राजनीतिज्ञ हुन् । हामीहरू उनको प्रखर पंचायत विरोधी भाषण सुन्न विभिन्न सभाहरूमा पुग्थ्यौं । एमालेका सशक्त खम्बाहरूमध्ये उनी पनि एक हुन् तर ओलीको पालासम्म आउँदा उनले कुनै राजनैतिक भाग पाएनन् ।

अतः उनी माधव नेपालको साथ लागेकाले स्वास्थ्य मन्त्री भएका छन् । उनले पद सम्हाल्दा समेत हामी सबै कोरोनाले आक्रान्त थियौं । जनतालाई जति सक्यो चाँडो र धेरैलाई खोप दिनु उनको पहिलो प्राथमिकता हुन्थ्यो । त्यसमा उनले सरदर भन्दा राम्रो गरेको जगजाहेर छ । मिडियाका समाचारहरू हेर्दा पनि उनी खोपमा सफल र स्वास्थ्यको सुधारमा असफल भन्ने देखिएको छ । अहिले कोरोना लगभग शान्त भएको स्थिति छ र आशा गरौं- स्वास्थ्य क्षेत्रका अनगिन्ती समस्यामा पनि उनले सफलता पाऊन् ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको कुरा गर्दा उनी एउटी सशक्त विद्यार्थी नेताको रूपमा उदाएकी महिला नेतृ हुन् । उनको राजनैतिक आकांक्षाहरू के थिए र छन् त्यो त्यति सार्वजनिक भएको छैन, तर माधव नेपाललाई नयाँ पार्टी खोल्न उनले खेलेको भूमिका र निर्वाचन आयोगमा नेपालको हात समातेर डोर्‍याएको दृश्य सामाजिक संजालमा निकै भाइरल भएको थियो । अहिले काठमाडौं उपत्यका फोहोरको समस्याले आक्रान्त छ र यो फोहोरको समस्या सहरी विकास मन्त्रालयसँग प्रत्यक्ष जोडिएको विषय हो । यो आलेख तयार पार्दासम्म उनको भूमिका प्रशंसा लायक छ । किनभने बञ्चरे डाँडामा काठमाडौंको फोहोर फाल्न नदिने अडान मात्रै नभई ढुङ्गामुढामा समेत उत्रेका स्थानीयलाई सम्झाएर फोहोरको समस्या तत्कालिक रूपमा भए पनि समाधान भएको छ । उनको मन्त्रालयका अन्य कामहरू पनि अगाडि बढिरहेको कुरा बाहिर आएको छ ।

श्रम, यातायात तथा रोजगार मन्त्री किसान श्रेष्ठ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर राष्ट्रिय चर्चामा आएका नेता हुन् । उनी ओली क्याबिनेटमा मन्त्री मात्रै थिएनन्, त्यसभन्दा अघि सांसद अपहरण काण्डमा समेत उनको नाम आएको थियो ।

कोभिडका कारणले वैदेशिक रोजगारीमा निकै ठूलो संकुचनको समस्या आएको थियो र यसमा अनेक खालका समस्या रहेको कुरा जगजाहेर छ । मन्त्री श्रेष्ठले विगत ६ महिनाको अवधिमा नयाँ श्रम गन्तव्य खोज्नुका साथै वैदेशिक रोजगारीमा रहेका विविध समस्या समाधान गर्न पहल गरिरहेको कुरा मिडियामा आइरहेकै हुन्छ । उनी स्वयं वैदेशिक रोजगार व्यवसायी पनि भएकाले यसका विविध समस्याबारे उनी जानकार छन् । अतः समाधानमा पनि उनको अनुभव काम लाग्ने देखिन्छ । भलै स्वार्थ बाझिने विषयको बारेमा छुट्टै चर्चा गर्न सकिन्छ ।

यहाँ उल्लेख गरिएका एकीकृत समाजवादी कम्युनिस्ट पार्टीका तर्फबाट मन्त्री बनाइएकाहरूले जनताको अपेक्षा अनुरूप काम गरिरहेकोमा शंका छैन । तर यसरी राम्रो काम गरिरहेका मन्त्रीहरूलाई हटाएर पार्टीमा भागबन्डा मिलाउनकै लागि किन नयाँ मन्त्रीहरू पठाउनु पर्‍यो ? हुनत सिके लाल सरकार चलाउने विषय अहिले कुनै कलकारखानामा मजदुरहरूले विभिन्न सिफ्टमा काम गर्ने जस्तो भएकोले त्यहाँ जो गए पनि फरक नपर्ने बताउँछन् ।

विगतदेखि अहिलेसम्म पनि भएको त्यही नै हो । त्यसैले पनि प्रायः सबैजसो मन्त्रीहरूबाट जनचाहना अनुरूप काम नभएको पनि यथार्थ हो । अहिले समाजवादीबाट प्रस्तावित मन्त्रीहरूको बारेमा चर्चा गर्नु पर्दा पर्यटन मन्त्रीको रूपमा प्रस्ताव गरिएका जीवनराम श्रेष्ठ खेलकुद क्षेत्रको शासकीय पद जस्तै खेलकुद परिषदको सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीको अध्यक्ष भएका व्यक्ति हुन् । अतः उनलाई पार्टीले रिझाउनुपर्ने त्यस्तो के छ ? प्रेम आलेको ठाउँमा उनले केही नयाँ त परको कुरा कामबारे बुझ्दा बुझ्दै उनको कार्यकाल सकिने पक्का छ । मेटमणि चौधरी ओली विरुद्धको मोर्चा उत्कर्षमा पुगेको बेलामा ओलीको बारेमा मिडियामा प्रशस्तै बोलेका नेता हुन् । सायद त्यसकै गुन नेपालले तिर्नुपर्ने भएकोले होला, तर उनले रामकुमारी झाँक्रीको बदलामा केही रचनात्मक काम गर्न सक्छन् भन्ने आशा जनतालाई छैन ।

अहिलेका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई स्वास्थ्य मन्त्रीमा बढोत्तरी नै गर्नुपर्ने कारण पनि बाहिर आएको छैन । श्रम मन्त्रीको रूपमा प्रस्तावित शेरबहादुर कुँवर सांसद पनि नभएकाले उनी त्यसै पनि ६ महिने मन्त्री हुने हो । देशले उनको विज्ञताबाट के पाउन सक्छ भन्ने कुरा कहींकतै चर्चामा आएको छैन । अर्कोतिर उनी पहिले भीम रावलका स्वकीय सचिव भएको र उनले भीम रावल एमालेमै रहँदा क्याम्प छोडेर माधव नेपाललाई साथ दिएकाले उनलाई पुरस्कृत गर्न खोजिएको देखिन्छ ।

अहिले दलहरूले जुन तरिकाले देश चलाइरहेका छन् त्यसमा जनताले भोगेका समस्या समाधान उनीहरूको प्राथमिकतामा नभएको कुरा जगजाहेर छ । अहिले शैक्षिक योग्यतासहित छनोट गरिने शासकीय पदहरूमा बाहेक जति पनि चुनावबाट निर्मित शासकीय ठाउँहरू छन्, त्यसमा जम्मै दलका कार्यकर्ता र आसेपासेहरूले भरिएकै छन् । त्यसमध्येबाट केही राम्रो गर्ने शासकहरूलाई झिकेर फेरि नयाँ अनुहारहरू पठाउनु उनीहरूको जनताप्रतिको न्यूनतम जिम्मेवारीबाट समेत टाढा भएको देखिन्छ । बालेन, हर्क साम्पाङ र गोपी हमाल जस्ता स्वतन्त्र व्यक्तिहरूलाई शासकीय पदमा पठाएर जनताले स्ष्ट संकेत दिंदादिंदै पनि पुनः त्यस्तै गल्ती दोहोर्‍याउँछन् भने पार्टीहरूको हविगत भीरबाट लड्ने गोरुको जस्तो नहोला भन्न सकिंदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?