+
+

एमाले बैठकको एजेण्डामै परेन घनश्याम भूसाललाई कारबाहीको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते २१:३९

२९ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकका लागि केन्द्रीय कार्यालय समितिले  प्रस्ताव तयार पारेको छ । च्यासलस्थित एमाले मुख्यालय आइतबार बसेको केन्द्रीय कार्यालय समितिको बैठकले स्थानीय चुनावको समीक्षालाई छलफलको मुख्य एजेण्डा बनाएको छ ।

सचिव गोकर्ण विष्टका अनुसार स्थानीय चुनावको समीक्षा, जनप्रतिनिधिलाई प्रशिक्षण, पार्टीका विभिन्न विभागलाई पूर्णता दिने र राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकामाथि सचिवालय बैठकमा छलफल हुनेछ । सोमबार दिउँसो १ बजे बस्ने सचिवालय बैठकको एजेण्डा महासचिव शंकर पोखरेल नेतृत्वको केन्द्रीय कार्यालय समितिले तय गरेको हो ।

३० वैशाखमा स्थानीय तहको चुनाव सकिएपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो । यो बैठकमा चुनावको नतिजाबारे समीक्षात्मक छलफल हुने सचिव विष्टले बताए ।

एमालेको निर्वाचन विभाग प्रमुख उपमहासचिव विष्णु रिमाल नेतृत्वको टोलीले चुनावी नतिजा समेटेर कार्यपत्र तयार पारेको छ । उक्त प्रतिवेदनमाथि आधारित भएर सचिवालय बैठकमा छलफल गर्ने एमालेको तयारी छ ।

चुनावको समीक्षासँगै एमाले सचिवालय बैठकमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनेबारे पनि छलफल हुनेछ । २ र ३ असारमा जनप्रतिनिधिहरुलाई निर्देशनात्मक प्रशिक्षण दिने तयारी एमालेले गरेको छ । तर निर्णय भने सचिवालय बैठकले गर्नेछ ।

बैठकको अर्को एजेण्डा पार्टीका विभागलाई पूर्णता दिने विषय पनि छ । गएको मंसिरमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट एमालेको नयाँ नेतृत्व आएपछि विभाग प्रमुख र उपप्रमुख तोकिएपनि अधिकांश विभागले पूर्णता पाउन सकेको छैन ।

सचिवालय बैठकको अन्त्यमा राष्ट्रिय राजनीतिमा पार्टीको भूमिकाबारे छलफल हुनेछ । पार्टीको भावी राजनीतिक कार्यक्रम पनि यही बुँदामा समेटिने नेताहरुले बताएका छन् ।

तर स्थानीय चुनावलगत्तै एमाले वृत्तमा छलफलको विषय बनेको स्थायी कमिटी सदस्य घनश्याम भूसाललाई कारवाहीबारे भने केन्द्रीय कार्यालयले छलफलको एजेण्डा बनाएन ।

‘त्यसबारे कुरै भएन । कसैले प्रस्ताव पनि ल्याएन, एजेण्डा पनि बनेन’ एक सहभागीले भने, ‘भोलि एजेण्डा बन्न पनि सक्छ । कसैले उठाए भने त छलफलको एजेण्डा हुने नै भयो नि ।’

अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले अनुशासन आयोगले भूसाललाई कारवाहीको सिफारिस गरेको छ । आयोगका अध्यक्ष केशव बडालले सचिवालयको बैठक राखेर भूसाललाई कारवाही गर्न सिफारिस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?