+
+
अन्तर्वार्ता :

‘मधेशमा हारको मुख्य जिम्मेवारी प्रचण्डले लिनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते २१:०६

३१ जेठ, काठमाडौं । मधेश प्रदेशलाई नेकपा माओवादी केन्द्रले आफ्नो पकड क्षेत्रमध्येको एक मान्थ्यो । २०७४ सालको स्थानीय तह निर्वाचनमा एक्लै २१ पालिका प्रमुख जितेको माओवादीले संघीय चुनावमा पनि एमालेभन्दा बढी क्षेत्र जितेको थियो । दोस्रो स्थानीय चुनावमा भने मधेशमा माओवादी खस्किएको छ ।

यसपटक भएको लज्जास्पद हारको पछाडि पार्टीको आन्तरिक समस्या र अन्तर्घात प्रमुख कारक रहेको मधेश प्रदेशका माओवादी नेताहरू बताउँछन् । नेता मातृकाप्रसाद यादव अन्तर्घातबारे छानबिन र कारबाही हुनुपर्ने ठान्छन् । नेतृत्वले छुट दिंदा यसपटक अन्तर्घात मौलाएको उनको भनाइ छ ।

प्रस्तुत छ, माओवादी केन्द्रका यादवसँग अनलाइनखबरकर्मी रामकुमार डिसी ले गरेको कुराकानी :

यो स्थानीय चुनावमा मधेशमा माओवादी केन्द्रले पाएको नतिजालाई कसरी हेर्नुभएको छ ?

पार्टीले र मैले पनि अपेक्षा गरेअनुसार परिणाम आएन । त्यसको मूल कारण भनेको मधेशमा पार्टी नहुनु हो । पार्टीको नेतृत्व पनि थिएन । अध्यक्ष कमरेडले कोसिस गर्नुभयो, तर परिणाम आएन ।

पार्टी थिएन भन्नुको मतलब ?

पार्टीको प्रदेश समिति नै थिएन । प्रदेश पदाधिकारी थिएनन् । धेरै ठाउँमा अझै पनि स्थानीय समिति छैन । मेरै गाउँमा समानान्तर समिति बनेको थियो । महाधिवेशनअघि समानान्तर समिति बनेकोमा अहिलेसम्म समस्या हल भएको छैन ।

कसले बनायो समानान्तर समिति ?

पार्टीकै नेताहरूले । नेतृत्वले हल नगर्नुको अर्थ छुट दिनु हो । मौन स्वीकृति देखियो ।

संस्थागत रूपमा चल्नुपर्ने पार्टीका लागि अहिलेसम्म प्रदेश पदाधिकारी, स्थानीय समितिहरू नबन्नु गम्भीर कुरा होइन ? यसमा तपाईंको पनि दोष होला नि !

आ–आफ्नो स्तर अनुसारको दोष त सबैले लिनुपर्छ । मुख्यरूपमा अध्यक्ष कमरेडले लिनुपर्छ । अरूले समस्या हल गर्न नसके उहाँले गर्नुपर्थ्यो । परिणाम निकाल्न उहाँ आफैं खट्नुभयो, थुप्रै आमसभामा जानुभयो, तर परिणाम आएन ।

उहाँ विचारमा, राजनीतिक लाइनमा स्पष्ट हुनुहुन्छ, तर संगठनको मामिलामा, खासगरी मधेश मामिलामा अकर्मण्यता छ । सांगठनिक विषयमा निर्णय गर्न उहाँलाई गाह्रो भइरहेको छ ।

यो अवस्था आउनुमा तपाईंहरू कति भागीदार ?

म कति भागीदार, अरू कति भागीदार निर्णय हुनुपर्‍यो । विगतको चुनावमा पार्टीभित्र अन्तर्घात गर्नेहरूमाथि कारबाही भएन, बरु ‘प्रमोशन’ भयो । उनीहरूले जे गर्दा पनि हुने रहेछ भन्ने बुझे । जिम्मेवारी लिएकाहरू नै व्यापक रूपमा अन्तर्घातमा सामेल भए । त्यसैले यो मामिलामा छानबिन होस् ।

पार्टी पद्धति, अनुशासन नमान्नेलाई अध्यक्ष कमरेडले काँधमा बोके पनि म बोक्दिनँ । अध्यक्षलाई त त्यस्ताहरूलाई बोक्ने बानी परिसकेको छ । मेरो त काँध दुख्छ । यसलाई तपाईंहरू असहिष्णु भन्नुहुन्छ भने म सहिष्णु बन्न सक्दिनँ ।

२०७४ मा २१ पालिका प्रमुख जित्नुभएकोमा यसपटक ९ वटामा सीमित हुनुभयो । यसरी आफैंलाई सिध्याउन पार्टीका नेताहरू किन अन्तर्घातमा लागेका हुन् त ?

माओवादीको आन्दोलनमा नभएका, पछि आएका व्यक्तिहरू पहिले माओवादीको विरोधी थिए । उनीहरू माओवादीको तागतमा सुख–सुविधा उपभोग गर्ने र पार्टीको आन्दोलन सिध्याउने भनेर आएको जस्तो लाग्छ । मेरो व्यक्तिगत अनुभूति यस्तै छ ।

गुट चलाउने, अर्को गुटप्रति असहिष्णु हुने, अरूको त अस्तित्व नै स्वीकार नगर्ने आरोप तपाईंमाथि छ नि !

सही कुरा उठाउनु भनेको गुट चलाउनु होइन । मेरो गुट छैन । मेरा कुरालाई समर्थन गर्ने साथी छन् । र, मैले भनेको छु– मेरा साथीहरूले कहीं अन्तर्घात गरेको छ भने प्रमाणित गरिदिनुपर्यो । पार्टीले हारेको ठाउँमा मैले हराइदिएको देखाउनुपर्यो ।

मैले चुनावअघि नै गएर अध्यक्षलाई भनेको हो– उसलाई टिकट दिनुस्, जसले सबैको सहयोग पाओस् । त्यो गरेको भए राम्रो परिणाम आउँथ्यो । तर मैले अघि पनि भनें, अध्यक्षले दबावमा निर्णय लिनुहुन्छ । मैले गएर भन्दा ठिक हो भन्नुहुन्छ । तपाईं गएर भन्दा पनि ठिक हो भन्नुहुन्छ । तर, कुरा त कि मेरो ठिक हुन्छ कि तपाईंको ठिक हुन्छ नि !

भनेको अध्यक्ष सबैलाई खुसी पार्नेतिर लाग्नुहुन्छ ?

सबैलाई खुसी पार्नतिर लाग्दा कसैलाई पनि खुसी पार्न सकिंदैन । कुनै बेला म खुसी हुन्छु । खुसी नभएको बेला गाली गर्छु । अर्कोले त्यसै गर्छ ।

पार्टीका नेताहरू उपस्थित कार्यक्रम नै छाडेर हिंड्नुहुन्छ, किन ?

१२ बुँदासहित एमसीसी पास भयो । पार्टी एकताको शर्त के हो भने बहुमतको निर्णय अल्पमतले मान्नुपर्छ । पार्टी निर्णयविरुद्ध जानुहुँदैन । अध्यक्ष राष्ट्रघाती, नारायणकाजी श्रेष्ठ चाहिं खाँटी देशभक्त भन्ने कुरा म मान्न सक्दिनँ । उहाँले वरिष्ठ नेता भएर भाषण गर्ने मञ्चमा हामी राष्ट्रघाती गएर कसरी बस्ने ? उहाँको प्रशिक्षण कसरी सुन्ने ? यो विषयमा छलफल हुनुपर्‍यो । उहाँले आत्मालोचना नगरेसम्म उहाँ बस्ने सार्वजनिक मञ्चमा म जान्नँ ।

आफ्ना वरिष्ठ नेताप्रति यस्तो व्यवहार किन ?

पार्टी पद्धति, अनुशासन नमान्नेलाई अध्यक्ष कमरेडले काँधमा बोके पनि म बोक्दिनँ । अध्यक्षलाई त त्यस्ताहरूलाई बोक्ने बानी परिसकेको छ । मेरो त काँध दुख्छ । यसलाई तपाईंहरू असहिष्णु भन्नुहुन्छ भने म सहिष्णु बन्न सक्दिनँ ।

पार्टीभित्र फरक मत राख्न पाइन्छ, तर पार्टीले निर्णय गरेपछि मान्नुपर्छ । फरक मत राखेको छ, गुट बनाएको छ, पत्रकार सम्मेलन गरेको छ । त्यस्तो पार्टीले कसरी चुनाव जित्छ ? २०६४ मा पार्टी कहाँ थियो, अहिल कहाँ छ ? यसमा छलफल, मूल्यांकन हुनुपर्‍यो नि !

यस्तो छलफल होला त ?

हुनुपर्‍यो । महाधिवेशनमा हुनुपर्‍यो । सम्मेलन बोलाएर गर्नुपर्‍यो । केन्द्रीय कमिटीमा हुनुपर्‍यो ।

यसबारे तपाईंले अध्यक्षलाई भन्नुभएको छ ?

अस्ति केन्द्रीय कमिटीमा अध्यक्षले एजेन्डा के–के राख्ने भनेर सोध्नुभएको थियो । मैले समीक्षा गरेर लागु गर्न सक्नुहुन्छ त भनेर सोधें । सक्ने हो भने मात्रै समीक्षा गरौं । दुई–चार जनाले घुर्की देखाइहाल्छन् उहाँलाई । उहाँ चुप लागिहाल्नुहुन्छ ।

भनेपछि, अहिलेकै अवस्थामा चल्ने हो मधेश प्रदेश ?

पार्टीमा अनुशासन भएन भने परिणाम यस्तै आउँछ भन्ने मेरो भनाइ छ । जे मन लाग्छ, त्यो गर्न पाइँदैन पार्टीमा । अध्यक्षलगायत सबैमा मेरो अपील छ– कडाइपूर्वक समीक्षा होस् । मातृका दोषी छ भने कारबाही होस्, पार्टी छोडेर कहीं जान्न । जति दिनसम्म कारबाही हुन्छ, पार्टीमै बस्छु । मैले कसैलाई पार्टीबाट भगाइयोस् भनेको पनि होइन । मेरो गल्ती छ भने मलाई हटाउँदा पनि हुन्छ, तर अरूले पनि माफी त माग्नु पर्‍यो नि ! म जनमोर्चा भन्दिनँ । त्यहाँबाट आएका धेरै मान्छे राम्रा छन् । माओवादीभित्रै पनि खराब मान्छे छन् ।

अरू क्षेत्रमा यस्तो छैन, मधेशमै किन यस्तो ? तपाईं र गिरिराजमणि पोखरेलहरूको के नमिलेको हो ?

सबै कार्यकर्ताको सही मूल्यांकन हुनुपर्‍यो, एकपक्षीय हुनुभएन भन्ने मेरो भनाइ हो । एक पक्षले सबै चिज पाउँदै जाने, अर्को पक्ष माइनस हुँदै जाने हुनुभएन । माओवादी आन्दोलनभित्रका र अरूबाट आएकाको पनि राम्रा कार्यकर्ताको पक्षपोषण हुनुपर्‍यो भन्ने पक्षमा हो म । बर्दिबासमा कसले हरायो ? गोलबजारमा कसले हराइदियो ? माओवादीले हराएको रहेछ भने उसलाई पनि कारबाही गर्नुपर्‍यो भन्ने पक्षमा छु ।

यो स्थानीय चुनावबाट मधेशमा पनि माओवादी सिद्धिने चरण सुरु भएको हो ?

यो चुनावबाट त माओवादी झन् माथि उक्लेको छ ।

मधेशमा त्यस्तो भएन नि त ?

अब पनि मधेशमा माओवादी सबभन्दा राम्रो पार्टी बन्छ ।

कसरी ?

त्यसका लागि पार्टीमा छलफल, बहस हुनुपर्‍यो । मधेश सबै हिसाबले उपेक्षित हो । मधेश बलिदान भए पनि पहाड बनोस् भन्ने चाहना हुनुभएन । हेपेर मधेशिया भन्दा गर्व हुने अवस्था रहनुभएन । पार्टीभित्र त्यो पनि छ ।

मधेशमा त तपाईंहरू आफैं जुझ्नुभयो नि ?

जुधाउने पनि त माथिकै मान्छे छन् । जति नेता, त्यति गुट छ । प्रचण्डको मात्रै, मातृकाको मात्र गुट भइदिए हुन्थ्यो नि त ! नारायणकाजीको मात्रै गुट भइदिए हुन्थ्यो नि त !

सबै गुटले आ–आफ्ना मान्छे च्याप्दा कमिटीहरू नै बनेनन्, चुनावमा पनि हार भयो, होइन ?

वागमतीमा चुनाव भयो । प्रदेश–१ र अरू ठाउँमा पनि चुनाव भयो, नेतृत्व बन्यो । मधेशमा बनाउनलाई कसले रोक्यो ?

तपाईंहरूले रोकेको होला नि ?

मैले केको रोक्नु । मलाई त अध्यक्षले महाधिवेशनअघि नै तपाईं चुप लाग्नुहोस् भन्नुभयो । त्यसपछि आफ्नो क्षेत्रमा, पालिकाहरूमा भएका सभा–सम्मेलनमा अतिथिका रूपमा भाषण गरेको बाहेक म कहीं गएको, बोलेको छैन ।

विवाद भएको ठाउँमा विधिबाट गयो भने समाधान निस्केला कि ?

अरू विकल्प छैन । पार्टी निर्माणको एउटा शर्त के हो भने बहुमतका अगाडि अल्पमत झुक्नुपर्छ । अल्पमतको विचारलाई कदर गर्ने, त्यसमा छलफल गर्ने कुरा छँदैछ । यो बाहेक अर्को उपाय छैन । कांग्रेसमा चुनाव भएन ? तलदेखि माथिसम्म भयो नि ! हाम्रोमा पनि चुनावबाट राम्रै परिणाम निकालेको हो नि !

केन्द्रीय कमिटीमा मधेशका धेरै नै हुनुहुन्छ । तैपनि निर्णय नहुने भनेको त अनौठो भएन ?

केन्द्रीय सदस्य पनि त कस्ता, कस्तालाई बनाएको भनेर अध्यक्षलाई सोध्नुहोस् न ! एउटा वडामा प्रभाव नभएको, ५०० मत पनि नभएकाहरू केन्द्रीय सदस्य हुन्छ ?

त्यस्ता व्यक्तिलाई केन्द्रीय सदस्यमा कसले सिफारिस गर्छ ? अध्यक्षले टिपेका हुन् कि ?

केन्द्रीय सदस्य बनाउँदा मेरो पनि सल्लाह लिनुहोला भन्दा अध्यक्ष कमरेडले हुन्छ भन्नुभएको थियो, तर लिनुभएन ।

कसको सुझाव लिनुहुन्छ त ?

नारायणकाजीको सल्लाह नलिइकन उता पार्टी चल्दैन । अरूको सल्लाह नलिए फरक पर्दैन, तर उहाँको नलिइकन केही यता–उता हुनेवाला छैन ।

तपाईंहरू एकआपसमा झगडा गरेर बस्दा एमालेले मधेशमा आफ्नो शक्ति बढाएको छ । यसले स्थानीय चुनावझैं संघ र प्रदेशकै चुनावमा प्रभाव पर्ला नि ?

एमाले नेताहरू एकताबद्ध भएर पूरै शक्ति लगाए । त्यसअनुसार परिणाम पनि आयो । माओवादीलाई एजेन्डा सशक्त बनाएर प्रस्तुत हुने अवसर छ, तर अध्यक्ष मात्र दौडिएर त हुँदैन ।

भनेको, संस्थागत रूपमा लाग्दा मधेशमा माओवादीको अवस्था सुध्रिन्छ ?

मेरो अनुकूल भएन भने संस्थागत हुन दिन्न भन्ने प्रवृत्ति पनि छ । गएर अध्यक्ष कमरेडलाई चुनौती दिइहाल्ने प्रवृत्ति छ । आफ्नो अनुकूल भए संस्थागत हुने, प्रतिकूल भए संस्थागत भएन भन्ने । अनि त अध्यक्षलाई गाह्रो भइहाल्दोरहेछ ।

फोटो/भिडियो : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?