+
+
Shares

ओपनएआईकी पूर्व बोर्ड सदस्यको खुलासा : ‘इलन मस्कले शुक्रकीट दानको प्रस्ताव गरेका थिए’

क्यालिफोर्नियाको ओकल्याण्डस्थित संघीय अदालतमा बुधबार दिएको बयानमा उनले मस्कसँगको व्यक्तिगत सम्बन्ध र त्यसबाट जन्मिएका चार सन्तानबारे खुलस्त रूपमा बोलेकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते ५:४२
Photo Credit : SAUL LOEB / AFP via Getty Images
शिवोन जिलिस र इलन मस्क

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ओपनएआईकी पूर्व बोर्ड सदस्य शिवोन जिलिसले इलन मस्कले आफूलाई सन् २०२० मा शुक्रकीट दानको प्रस्ताव गरेको खुलासा गरिन्।
  • जिलिसले मस्कसँग एकपटकको प्रेम सम्बन्ध स्वीकार्दै सन् २०२१ मा जन्मिएका जुम्ल्याहा सन्तानका पिता मस्क भएको बताइन्।
  • अदालतमा पेश कागजातले देखाए कि मस्कले ओपनएआईलाई नाफामुखी कम्पनीमा रूपान्तरण गर्ने निर्णय उल्ट्याउन र थप नियन्त्रण चाहेका थिए।

२४ वैशाख, काठमाडौं । ओपनएआईकी पूर्व बोर्ड सदस्य शिवोन जिलिसले अमेरिकी अर्बपति इलन मस्कले आफूलाई शुक्रकीट दानको प्रस्ताव गरेको खुलासा गरेकी छन् ।

क्यालिफोर्नियाको ओकल्याण्डस्थित संघीय अदालतमा बुधबार दिएको बयानमा उनले मस्कसँगको व्यक्तिगत सम्बन्ध र त्यसबाट जन्मिएका चार सन्तानबारे खुलस्त रूपमा बोलेकी हुन् ।

जिलिसले दिएको बयान मस्कले ओपनएआईलाई नाफामुखी कम्पनीमा रूपान्तरण गर्ने निर्णय उल्ट्याउन दायर गरेको मुद्दासँग सम्बन्धित छ ।

अदालतमा उनले सन् २०२० मा आफू आमा बन्न चाहिरहेको बेला मस्कले शुक्रकीट दान गर्ने प्रस्ताव गरेको बताइन् । ‘म साँच्चै आमा बन्न चाहन्थें । त्यही समयमा इलनले प्रस्ताव गरे र मैले स्वीकार गरेँ,’ उनले भनिन् ।

उनका अनुसार मस्कले त्यतिबेला आफ्नो वरिपरिका मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गरिरहेका थिए । ‘उनले मैले बच्चा नजन्माएको देखे र दान गर्ने प्रस्ताव गरे,’ जिलिसले भनिन् ।

सिलिकन भ्यालीमा १५ वर्षभन्दा बढी समय भेन्चर क्यापिटलिस्टका रूपमा काम गरेकी जिलिस टेस्ला र न्युरालिङ्कजस्ता मस्कका कम्पनीमा कार्यकारी भूमिकामा रहेकी थिइन् । उनी सन् २०१६ मा ओपनएआई स्थापना भएको केही समयपछि सल्लाहकारका रूपमा आबद्ध भएकी थिइन् ।

मस्कका कम्पनी र ओपनएआई दुवैतर्फको भूमिकाका कारण उनी अहिले चलिरहेको मुद्दामा महत्वपूर्ण साक्षीका रूपमा हेरिएकी छन् ।

ओपनएआईका वकिलहरूले मस्कले २०१८ मा कम्पनी छोडेपछि पनि जिलिसमार्फत कम्पनीभित्रको जानकारी मस्कसम्म पुगेको आशंका व्यक्त गरेका छन् ।

शिवोन जिलिस

जिलिसले करिब एक दशकअघि मस्कसँग ‘एकपटकको’ प्रेम सम्बन्ध भएको स्वीकार गरिन् । तर २०२० मा मस्कले आफ्ना सन्तानका पिता बन्न प्रस्ताव गर्दा आफूहरू प्रेम सम्बन्धमा नरहेको उनको भनाइ छ ।

उनले केही स्वास्थ्य समस्याका कारण विवाह गरेर सन्तान जन्माउने आफ्नो परम्परागत योजना परिवर्तन गर्नुपरेको बताइन् ।

जिलिसका अनुसार सुरुमा उनी र मस्कले उनका पितृत्वबारे ‘पूर्ण गोप्य’ राख्ने सहमति गरेका थिए । त्यसैले उनले सन् २०२१ मा जन्मिएका जुम्ल्याहा सन्तानका पिता मस्क भएको कुरा ओपनएआई प्रमुख स्याम अल्टम्यानलाई पनि नबताएको बताइन् ।

पछि बिजनेस इन्साइडरले समाचार सार्वजनिक गर्न लागेपछि भने उनले अल्टम्यानलाई जानकारी गराएकी थिइन् ।

यद्यपि त्यसपछि पनि अल्टम्यान र ओपनएआई अध्यक्ष ग्रेग ब्रोकम्यानले उनलाई बोर्डमा निरन्तरता दिन चाहेका थिए । जिलिसका अनुसार उनीहरूबीच कम्तीमा २०२३ सम्म मित्रवत सम्बन्ध कायम थियो ।

यसबीच, अदालतमा प्रस्तुत इमेल र सन्देशहरूले ओपनएआईलाई गैरनाफामुखी संस्थाबाट नाफामुखी मोडलतर्फ लैजाने विषयमा मस्क र कम्पनी नेतृत्वबीच लामो समयदेखि मतभेद रहेको देखाएका छन् ।

अदालतमा पेश गरिएका कागजातअनुसार मस्कले ओपनएआईमाथि थप नियन्त्रण चाहेका थिए । उनले कम्पनीलाई टेस्लाअन्तर्गत ल्याउने प्रस्तावसमेत गरेका थिए ।

तर ओपनएआई नेतृत्व मस्कलाई कम्पनीको काममा नियन्त्रण दिन तयार नभएको उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?