+
+
Shares
फर्केर हेर्दा :

चुनाव २०६४ : माओवादीको विजय लहर, सत्ताको खेलले संविधानसभा नै असफल

संविधानसभा सदस्य निर्वाचन २०६५ मा सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्रमध्ये १२० स्थानमा विजयको झन्डा फहराएको थियो । कांग्रेस ३७ र एमाले ३३ सिटमा खुम्चिएको थियो ।

केशव सावद केशव सावद
२०८२ माघ २० गते १५:२९

२० माघ, काठमाडौं । तत्कालीन राज्य व्यवस्था फेर्दै गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गते सशस्त्र संघर्ष सुरु भयो ।

प्रचण्ड नेतृत्वको माओवादीले रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी ‘जनयुद्ध’ घोषणा गर्‍यो ।

माओवादीका तत्कालीन महामन्त्री प्रचण्डले प्रेस वक्तव्यमार्फत् जनयुद्ध सुरु भएको घोषणासहित रोल्पा, रूकुम, सिन्धुली र गोरखामा गरिएको फौजी कारबाहीहरूको जिम्मेवारी लिए ।

झण्डै चार वर्षदेखि सशस्त्र द्वन्द्व चलाइरहेको माओवादीको सक्रिय बहिष्कारका बीच तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५६ वैशाख २० गते र जेठ ३ गते गरी दुई चरणमा आमनिर्वाचन सम्पन्न गर्नुपर्‍यो ।

उक्त निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाबाट गठन भएका तत्कालीन सरकारहरू र विद्रोही माओवादीबीच बदला र प्रतिशोधका कारण हत्याका श्रृङ्खला चले ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले मुलुकमा सात वर्षदेखि चलिरहेको सशस्त्र द्वन्द्वलाई देखाएर सत्ता हातमा लिए । राजा ज्ञानेन्द्र दलहरू माथि प्रतिबन्ध लगाएर सक्रिय शासन चलाइरहेका बेला २०६२ मंसिर ७ मा विद्रोही माओवादी र प्रमुख सात राजनीतिक दलहरूबीच १२ बुँदे सहमति भयो ।

१० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वका क्रममा सरकार र विद्रोही माओवादी दुवैतर्फबाट करिब १७ हजार जनाको मृत्यु भयो । कयौं नागरिक बेपत्ता र अंगभंग भए । भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सहमतिपछि २०६२ चैत २४ गतेदेखि २०६३ वैशाख ११ सम्म १९ दिन जनआन्दोलन चल्यो ।

तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते राति पुनर्स्थापना गरे । पुनर्स्थापित संसद्ले २०६३ जेठ ४ गते राजदरबारका अधिकारहरू कटौती गर्‍यो ।

राजदरबारका अधिकार कटौतीका लागि बसेको संसद् बैठकले विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्‍यो ।

त्यसैको जगमा २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो । नेपालको इतिहासमा पहिलोपटक सम्पन्न संविधानसभा निर्वाचनमा मिश्रित निर्वाचन प्रणाली अपनाइएकोे थियो ।

२०६३ माघ १ गते जारी नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६३ को उपधारा (३) मा ४२५ सदस्यीय सविधानसभाको गठन हुने र तीमध्ये २०५ जना पहिलो हुने निर्वाचित हुने निर्वाचनबाट र २०४ जना सदस्य समानुपातिक निर्वाचनबाट निर्वाचित हुने प्रावधान थियो ।

प्रत्यक्ष निर्वाचनतर्फको प्रतिनिधित्व वढाउने उद्देश्यले तत्काल कायम रहेका २०५ निर्वाचन क्षेत्रको पुनरावलोकनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरिएको थियो ।

आयोगले पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत देशलाई २४० निर्वाचन क्षेत्रमा विभाजित गरेकोले समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि २०४ बाट बढाएर २४० पुर्‍याइयो ।

यस्तै मनोनित हुने सदस्य संख्या १७ पुर्‍याएर ४९७ सदस्यीय संविधानसभा गठन गर्ने व्यवस्था भयो । २०६४ साल जेठ महिनामा हुने भनिएको निर्वाचन २०६४ मंसिर ६ गते गर्ने मिति तोकियो ।

तर, उक्त मितिमा निर्वाचन हुन नसकेपछि फेरि राजनीतिक सहमति जुटाएर व्यवस्थापिका संसद्बाट अन्तरिम संविधान संशोधन गरेर प्रत्यक्षतर्फ २४० र समानुपातिकतर्फ ३३५ गरी ५७५ र मनोनीत २६ गरी ६०१ सदस्य रहेको संविधानसभा गठन गर्ने व्यवस्था गरियो ।

संविधानसभा निर्वाचन प्रयोजनका लागि ७४ राजनीतिक दलहरू निर्वाचन आयोगमा दर्ता भएका थिए । जसमध्ये ५४ दलले मात्रै संविधानसभा निर्वाचनमा भाग लिएका थिए ।

निर्वाचन आयोगका अनुसार संविधानसभा निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या एक करोड ७६ लाख ११ हजार ८३२ पुगेको थियो ।

निर्वाचन आयोगले प्रकाशन गरेको ‘संविधानसभा सदस्य निर्वाचन, २०६४ निर्वाचन परिणाम पुस्तिका’ का अनुसार तत्कालीन समयमा एक निर्वाचन क्षेत्र भएका १४ जिल्ला थिए ।

यस्तै दुई निर्वाचन क्षेत्र भएका २३, तीन क्षेत्र भएका १४, चार क्षेत्र भएका छ, पाँच क्षेत्र भएका चार र छवटा निर्वाचन क्षेत्र भएका नौ जिल्लाहरू थिए । त्यसै गरी सातवटा क्षेत्र भएका तीन, नौ क्षेत्र भएको एक (मोरङ) र १० क्षेत्र भएको एक जिल्ला (काठमाडौं) थिए ।

साढे ५ लाख बढी मत बदर

संविधानसभा सदस्य निर्वाचन २०६५ मा कुल मतदाता (एक करोड ६७ लाख ११ हजार ८३२) मध्ये एक करोड ८६ लाख छ हजार १३१ मत खसेको थियो । जुन ६१.७० प्रतिशत मत हो ।

जसमध्ये सदर मत एक करोड ३० लाख छ हजार १२० रहेको आयोगको निर्वाचन परिणाम पुस्तिकामा उल्लेख छ । कुल खसेको मत मध्ये ५.१५ प्रतिशत अर्थात पाँच लाख ६० हजार ११ मत बदर भएको थियो ।

निर्वाचनमा प्रत्यक्षतर्फ ३१ लाख ४५ हजार ५१९ मतका साथ माओवादी पहिलो दल बनेको थियो । दोस्रो भएको कांग्रेसको पक्षमा २३ लाख ४८ हजार ८९० मत खसेको थियो ।

एमाले २२ लाख २९ हजार ०६४ मतसहित प्रत्यक्षतर्फ तेस्रो हुँदा चौथो भएको मधेशी जनअधिकार फोरम, नेपालले छ लाख ३४ हजार १५४ र पाँचौं भएको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) लाई तीन लाख ४५ हजार ५८७ आएको थियो ।

निर्वाचन आयोगकाअनुसार प्रत्यक्षतर्फ मतदाताको आधारमा सबैभन्दा बढी ७९.८९ प्रतिशत मत डोल्पामा खसेको थियो । यहाँ २१ हजार ९३२ कुल मतदातामध्ये १७ हजार ५२२ मत खसेको निर्वाचन परिणाम पुस्तिकमा उल्लेख छ ।

सबैभन्दा कम मत ४०.११ प्रतिशत मनाङमा खसेको थियो । यहाँ सात हजार चार सय सात मतमध्ये दुई हजार नौ सय ७१ मत खसेको थियो ।

माओवादीलाई प्रत्यक्षमा १२० सिट

संविधानसभा सदस्य निर्वाचन २०६५ मा सशस्त्र द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको नेकपा (माओवादी केन्द्रले प्रत्यक्षतर्फ २४० निर्वाचन क्षेत्रमध्ये १२० स्थानमा विजयको झण्डा फहराएको थियो । निर्वाचनबाट जित निकालेर माओवादीका तर्फबाट ९७ जना पुरूष र २३ जना महिलालाई उम्मेदवारहरूले संसदीय यात्रा तय गरेका थिए ।

अघिल्लो निर्वाचन (२०५६) मा सुविधाजनक बहुमत (२०५ मा १११ सिट) ल्याएको नेपाली कांग्रेस संविधानसभा सदस्य निर्वाचनमा ३७ सिटमा खुम्चिनु परेको थियो । कांग्रेसका तर्फबाट २४० निर्वाचन क्षेत्रमध्येबाट ३५ पुरूष र दुई महिला उम्मेदवारमात्रै निर्वाचति भएका थिए ।

तेस्रो भएको नेकपा एमालेले ३३ सिट ल्याएको थियो । एमालेका ३२ पुरूष र एक महिला उम्मेदवार विजयी भएका थिए । आमनिर्वाचन २०५६ मा एमालेले २०५ मध्ये ७१ सिट जितेको थियो ।

मधेशी जनअधिकार फोरम, नेपालका २८ पुरूष र दुई महिला गरी ३० तथा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का आठ पुरूष र एक महिला गरी नौ उम्मेदवार निर्वाचित भएका थिए ।

यस्तै सद्भावना पार्टीबाट चार (पुरूष), जनमोर्चा नेपालका दुई (पुरूष), नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का दुई (पुरूष), राष्ट्रिय जनमोर्चाका एक (पुरूष) र स्वतन्त्रतर्फ दुई जना पुरूष उम्मेदवार निर्वाचित भएका थिए ।

निर्वाचनमा पराजित चर्चित नेताहरू

संविधानसभा सदस्य निर्वाचन २०६५ मा नेपाली राजनीतिका केही चर्चित नेताहरूले पराजय भोग्नु परेको थियो । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौला झापा–३ मा माओवादीका पूर्णप्रसाद राजवंशीसँग पराजित भएका थिए ।

नेकपा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल काठमाडौं–२ मा माओवादीका झक्कुप्रसाद सुवेदीसँग हारेका थिए । एमाले नेता केपी शर्मा ओलीलाई झापा–७ मा माओवादीकै विश्वदीप लिङ्देन लिम्बूले पराजित गरेका थिए ।

कांग्रेस नेता खुमबहादुर खड्का दाङ–१ बाट माओवादीका इन्द्रजीत थारूसँग पराजित हुँदा बर्दिया–१ मा माओवादीकै सरला रेग्मीले तत्कालीन एमाले नेता वामदेव गौतमलाई पराजित गरेकी थिइन् ।

तामलोपाका महन्थ ठाकुर सर्लाही ६ मा जनअधिकार फोरमका शिवपुजन राय यादवसँग पराजित हुनुपरेको थियो । यस्तै झापा–४ मा माओवादी उम्मेदवार धर्मशीला चापागाईंले कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई हराएकी थिइन् ।

कांग्रेसका अर्का नेता महेश आचार्य मोरङ– ६ मा जनअधिकार फोरमका भीमराज चौधरी राजवंशीसँग र मोरङ ७ मा शेखर कोइराला जनअधिकार फोरमकै विजयकुमार गच्छदारसँग पराजित हुनुपरेको थियो ।

सुदूरपश्चिममा कांग्रेस नेता विनयध्वज चन्द बैतडी–२ बाट माओवादीकी रेणु चन्दसँग र एनपी साउद कञ्चनपुर–२ बाट माओवादीका देवीलाल चौधरीसँग पराजित भएका थिए ।

महिला उम्मेदवार

संविधानसभा सदस्य निर्वाचन २०६५ मा माओवादीले ४२, कांग्रेसले २६, एमालले २७, फोरम नेपालले तीन, तमलोपाले चार, सद्भावनाले चार, जनमोर्चा नेपालले २८, नेमकिपाले २७ र राष्ट्रिय जनमोर्चाले १५ जना महिला उम्मेदवारहरू चुनावी प्रतिष्पर्धामा उतारेका थिए ।

यस्तै प्रत्यक्षतर्फ कुनै पनि सिट नजितेका राप्रपाले २२, नेकपा मालेले ११, राष्ट्रिय जनशक्ति पार्टीले १४, राप्रपा नेपालले आठ उम्मेदवारहरू उठाएको थियो । स्वतन्त्रतर्फ ८१६ जना उम्मेदवारहरू थिए ।

जसमध्ये ७७४ पुरूष र ४२ जना महिला थिए । स्वतन्त्रतर्फ उम्मेदवारी दिएका दुई जना पुरूष उम्मेदवार विजयी भएका थिए ।

समानुपातिक निर्वाचन प्रणालीतर्फपनि माओवादी पहिलो

संविधानसभा सदस्य निर्वाचन २०६५ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि माओवादी पहिलो दल बनेको थियो । माओवादीले ३१ लाख ४४ हजार २०४ मत पाएको थियो । कांग्रेसले २२ लाख ६९ हजार ८८३ ल्याउँदा एमालेले २१ लाख ८३ हजार ३७० प्राप्त गरेको थियो ।

चोथो भएको जनअधिकार फोरमले छ लाख ७८ हजार ३२७, चौथो भएको तमलोपाले तीन लाख ३८ हजार ९३० र पाँचौं भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई लाख ६३ हजार ४३१ मत ल्याएको थियो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको समयमा प्रचण्डलाई राष्ट्रपतिको उम्मेदवारको रूपमा गरिएको प्रचार ।

निर्वाचनमा सहभागी भएकामध्ये २५ दलहरू समानुपातिकतर्फ सिट ल्याउन सफल भए भने २९ दलहरू समानुपातिकबाट संविधानसभामा प्रतिनिधित्व गर्न असफल देखिए ।

उक्त निर्वाचनमा माओवादीले समानुपातिकतर्फ एक सय, कांग्रेसले ७३, एमालेले ७०, जनअधिकार फोरमले २२, तमलोपाले ११, राप्रपा र मालेले समान आठ–आठ सभासद पाएका थिए ।

राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र सद्भावना पार्टीले समान ५–५, राप्रपा नेपालले चार, राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले तीन–तीन, नेमकिपा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा एकीकृत, नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) नेपाली जनता दल र संघीय लोकतानित्रक राष्ट्रिय मञ्चले समान दुई–दुई सभासद संविधानसभामा पठाएका थिए ।

यस्तै समाजवादी जनता पार्टी, नेपाल, दलित जनजाति पार्टी, नेपाल परिवार दल, नेपा: राष्ट्रिय पार्टी नेपाल लोकतान्त्रिक समाजवादी दल र चुरेभावर राष्ट्रिय एकता पार्टी, नेपालले समान एक–एक सभासद संविधानसभामा पठाउने अवसर पाएका थिए ।

निर्वाचनमा समानुपातिकतर्फ कुल मतदाताको संख्या एक करोड ७६ लाख १८ हजार ८३२ थियो । जसमध्ये ६३.२९ प्रतिशत अर्थात एक करोड ११ लाख ४६ हजार ५४० मत खसेको आयोगको निर्वाचन परिणाम पुस्तिकमा उल्लेख छ ।

पुस्तिका अनुसार एक करोड ७३ लाख नौ हजार ७८ सदर भएको थियो । जसमध्ये ३.६६ प्रतिशत अर्थात चार लाख ७४ हजार ६२ मत बदर भएको थियो ।

राजसंस्थाको विधिवत् अन्त्य

निर्वाचन परिणाम आइसकेपछि संविधानसभा गठन भयो । २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो इतिहास बोकेको राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि विभिन्न महत्त्वपूर्ण कामहरू भने गरेको थियो ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?