+

लन्डनमा एरिकाको अठोट- नम्बर वान वरियतामा पुग्ने लक्ष्य छ

२०८२ माघ  २० गते १५:०८ २०८२ माघ २० गते १५:०८

उमेर भर्खर २१ वर्ष भएकी एरिकाले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत नियमित खेल्दै पदकहरु जितिरहेकी छन् ।

लन्डनमा एरिकाको अठोट- नम्बर वान वरियतामा पुग्ने लक्ष्य छ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एरिका गुरुङले टर्कीको इस्तानबुलमा सम्पन्न डब्लुकेएफ कराते वान प्रिमियर लिग ६८ केजी तौल समूहमा रजत पदक जितिन्।
  • उनले डब्लुकेएफ वरियतामा महिला ६८ केजीमाथि तौल समूहमा १३औं स्थान हासिल गरिन् जुन नेपाली करातेमा ऐतिहासिक उपलब्धि हो।
  • एरिका १९औं एसियन गेम्समा रजत पदक जितेपछि विश्वमञ्चमा देशको नाम र प्रतिष्ठा उचो राखेकी छन्।

लन्डन । अघिल्लो साता करातेकी स्टार खेलाडी एरिका गुरुङलाई दुई फरक उपलब्धि मिल्यो ।

पहिलो, उनले टर्कीएको इस्तानबुलमा सम्पन्न वर्ल्ड कराते फेडेरेसन (डब्लुकेएफ) कराते वान प्रिमियर लिग (६८ केजी तौल समूह) मा आफ्नो परफर्मेन्स सुधार गर्दै रजत पदक जितिन् ।

दोस्रो थियो, डब्लुकेएफ वरियताको महिला ६८ केजीमाथि तौल समूहमा १३औं स्थानमा पुग्न सफल भइन् एरिका ।

नेपाली करातेमा यो ऐतिहासिक उपलब्धी हो । गत वर्ष मोरक्कोमा भएको प्रिमियर लिगमा कांस्य जितेकी उनले यस वर्ष इस्तानबुलमा भएको प्रिमियर लिगमा रजत जितेकी हुन् ।

‘प्रिमियर लिग पनि हाम्रा लागि वर्ल्ड च्याम्पियनसीप सरह नै हो । लिगमा ३२ जनामात्र भाग लिन पाउँछन् । त्यहां पुग्न विभिन्न सिरिज खेलेर र्‍यांक बढाउनु पर्छ’, लन्डनमा एक प्रशिक्षण चलिरहँदा समय मिलाएकी उनले अनलाइनखबरसँग भनिन्, ‘टर्कीको प्रतियोगिताबाट शीर्ष १३ वरियतामा आउन सफल भएँ । निकै खुशी छु । सपना र मेहनतको फल पाएंँ।’

अब उनको लक्ष्य छ विश्व वरियतामा नम्बर वान पुग्ने । ‘धेरै चरणपछि १३औं वरियतामा आएको छु । अब निरन्तर सहभागिता जनाइराख्नुपर्‍यो । आफ्नो गल्ती कमजोरी सुधार गर्दै गएर परफर्मेन्स राम्रो गर्नु पर्छ एकदिन नम्बर वानमा पुग्न सक्छु भन्ने आत्मविश्वास छ’ उनले सुनाइन् ।

उनलाई एकपछि अर्को सफलता कसरी मिलिरहेको छ ? उनले भनिन्, ‘आजमात्र मैले एउटा कोट्स पढेकी थिएँ- योर ड्रिम्स आर नट रयान्डम । अर्थात तिम्रो सपना भगवानले यत्तिकै बनाइदिनु हुन्न । भगवानले केही अचिभ गर्ने क्षमता दिनु भएको हुन्छ । सपना देख्नु परयो । गर्ने साहस बोक्नु पर्‍यो असफलता भन्ने हुंँदैन ।’

आफ्नो खेल यात्रामा धेरै जनाको सहयोग र साथ रहेकोले उनले सबैलाई सम्झिइन् । ‘भविष्यमा मैले अझ धेरै गर्नु छ । अहिले जस्तै साथ सहयोग सबैबाट पाइराखुँ’ उनले भनिन् ।

पछिल्लो पटक धेरै नेपाली खेलाडी विदेश पलायन भइरहेको अवस्था छ । एरिकाले यसबारे केही सोचेकी छन् ? भन्ने प्रश्नमा उनको प्रष्टिकरण छ, ‘सायद अरु खेलाडीको बाध्यता होला, त्यसलाई गल्ती भन्न पनि भएन । तर, मेरो बाहिर जाने सोचाइ छैन । मैले जति अचिभ गरेको छु, त्यो भन्दा बढी गर्ने सपना छ ।’

आफूले उपलब्धि हासिल गरेपछि राज्यले पनि हेर्ने गरेको अनुभव उनीसँग छ । राष्ट्रिय खेलकुद परिषदले आफूलाई धेरै सहयोग गरेको उनले बताइन् ।

अन्तर्राष्ट्रिय पदक जित्दा क्रिकेट खेलाडीलाई जति चर्चा वा प्रशंसा गरिन्छ, त्यति कराते खेलाडीलाई नभएको महसुस गरेपनि उनलाई चित्त चाहिँ दुःखेको छैन । ‘गेम हुँदा आफूलाई माया गर्ने थोरै जनाको सपोर्ट वा आर्शीवाद पाउँदा पनि धेरै खुसी लाग्छ’ उनी भन्छिन् ।

कलिलै उमेरमा करातेमा असाधारण सफलता हासिल गरेकी एरिकालाई अहिलेसम्मको यात्रा तय गर्न सहज भने पक्कै भएन । ‘सुरुका दिन त स्वभाविक रुपमा केही अप्ठेरो थियो । तर, मिहिनेत र सपना पुरा गर्ने हिम्मत भए जे पनि सकिँदो रहेछ’ एरिकाले भनिन् ।

एरिका ३० जनवरीदेखि फेब्रुअरी १ तारिखसम्म इष्ट लन्डनमा सञ्चालन भएको एक अन्तर्राष्ट्रिय एलिट ट्रेनिङ क्याम्पमा सहभागी भइन् । उनको साथमा प्रशिक्षक कुशल श्रेष्ठ र अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङ पनि छन् ।

गत आइतबार मात्रै विश्व कराते महासंघको आयोजनामा टर्कीएको इस्तानबुलमा सम्पन्न कराते वान प्रिमियर लिग (६८ केजी तौल समूह) मा रजत पदक जितेर इतिहास रचेकी एरिका सोमबार टर्कीबाट सिधै लन्डन आएकी थिइन् । उनी आज मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

१९औं एसियन गेम्समा रजत पदक जितेपछि एरिका ‘लाइमलाइट’ मा आइन् । उनले अहिले विश्वमञ्चमा देशकै नाम र प्रतिष्ठा उचो राखेकी छन् ।

एरिकाले पछिल्लो दुई वर्ष नियमित रुपमा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएकी छिन् । सन् २०२५ मा मोरक्कोको राबतमा पहिलोपटक कराते वान प्रिमियर लिग खेल्दा कास्य पदक जितेकी एरिकाले यस पटक टर्कीको इस्तानबुलमा भएको कराते वान प्रिमियर लिगमा आफ्नो प्रदर्शनमा सुधार गर्दै रजत पदक जितिन् ।

एरिकाले मलेसियामा भएको कराते वान सिरिज ए मा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । उनले अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुमा विश्वकै शीर्ष वरियताका खेलाडीहरुलाई समेत पराजित गरिसकेकी छिन् ।

एरिकाले १०औं विश्व सितोरियो कराते च्याम्पियनसीपमा स्वर्ण, १९औं एसियन गेम्स् र २०औं एसियन सिनियर कराते च्याम्पियनसीपमा रजत पदक, १६औं एसिया–प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् ।

यसका साथै उनले दक्षिण एसियाली कराते च्याम्पियनसीपमा चारवटा स्वर्ण पदक, थाइल्यान्ड ओपन कराते च्याम्पियनसीपमा दुई स्वर्ण, यूएसए ओपन च्याम्पियनसीपमा स्वर्ण, अस्ट्रेलियन ओपन कराते च्याम्पियनसीपमा स्वर्ण पदक जितिसकेकी छन् ।

उनी वर्ल्ड च्याम्पियनसीपका लागिसमेत छनोट भइसकेकी छन् । यस्तै एरिकाले नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा २०८० र २०८१ सालमा महिलातर्फ ‘प्लेयर अफ द इयर’ को अवार्ड समेत प्राप्त गरिसकेकी छन् । यस्तै अन्य विभिन्न अवार्ड र सम्मानहरु पनि जितेकी छन् ।

उमेर भर्खर २१ वर्ष भएकी एरिकाले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत नियमित खेल्दै पदकहरु जितिरहेकी छन् । धादिङकी एरिकाले मनमैजुस्थित शुभकामना बोर्डिङ स्कुलमा पढ्दा देखि नै कराते खेल्न थालेकी हुन् ।

त्यसपछि मनमैजु डोजो, नेपाल पुलिस क्लब हुँदै उनको यात्रा नेपालको राष्ट्रिय कराते टिमसम्म पुग्यो । एरिकाले राष्ट्रिय टिममा इन्ट्री मार्दै विश्व शितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण र १९औं एसियन गेम्स हान्झाउमा रजत जितेपछि पछाडी फर्केर हेर्नुपरेको छैन ।

एरिका गुरुङ
लेखक
नवीन पोखरेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय