+
+

ललितपुरमा ‘हिल द अर्थ’ कन्सर्ट गर्दै आनी छोइङ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १ गते १३:०५

काठमाडौं । गायिका आनी छोइङ डोल्माले असार ११ गते सांगीतिक प्रस्तुति दिने भएकी छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा आनी छोइङ फाउन्डेसनले कन्सर्टबारे जानकारी दिएको हो ।

ललितपुरको जावलाखेलस्थित सेन्ट मेरिज स्कुलको प्रेक्षालयमा आनीसहितका कलाकारले प्रस्तुति दिन लागेका हुन् । कन्सर्टमा आनीले आफ्ना चर्चितसहित नयाँ गीत गाउनेछिन् ।

‘हिल द अर्थ’ नाम दिइएको उक्त कन्सर्टबाट संकलित रकम आगोले पोलेका बिरामीको उपचारमा खर्च गरिने जनाइएको छ । ‘मान्छेको दौडधुप र लापरवाहीले वातावरण मात्र होइन, सिंगो पृथ्वी नै संकटमा परेको छ,’ पत्रकार सम्मेलनमा आनीले भनिन्, ‘हामी कन्सर्टमा आउने दर्शकलाई सामाजिक दायित्वबोध गराउन चाहन्छौं ।’

गीतमार्फत सामाजिक, वातावरणीय र आध्यात्मिक जागरण जगाउन आफूले चाहेको उनले बताइन् । ‘हामी सबै महामारी, द्वन्द्व र विपत्तिको असरले प्रभावित भएका छौं,’ उनी भन्छिन्, ‘कन्सर्टमार्फत हामी आशा र धैर्यताको सन्देश दिन चाहन्छौं ।’

कन्सर्टमा ग्रामी मनोनित नेपाली संगीतकर्मी मनोजसिंह नेवा, १९७४ एडीका सञ्जयकुमार श्रेष्ठ, गोपाल रसाइली, प्रज्वल लामा र लावोनी चक्रवर्तीले पनि प्रस्तुत दिने भएका छन् । आनीका गीतसहित शास्त्रीय संगीत र मन्त्र पनि प्रस्तुत हुने भएका छन् ।

कोरोना महामारीको समयमा आफूले कम्पोज गरेका गीतलाई आनीले कन्सर्टमा गाउन लागेकी हुन् । यी गीतलाई समेटेर आनीले म्युजिक भिडियो पनि ल्याउने तयारी गरेकी छन् । इन्डोर कन्सर्टमा एक हजार जना सहभागी हुने आयोजकको अपेक्षा छ ।

यसैवर्ष आनीको भारत, सिंगापुर, स्पेन, स्वीटजरल्यान्ड लगायतका मुलुकमा कन्सर्ट गर्ने योजना छ । १९७४ एडी ब्यान्डका मनोज केसीले कन्सर्टका लागि आनीसँग सहकार्य गरेका छन् । साथै, ब्यान्ड र आनीले मिलेर ‘एउटै छ आकाश, एउटै छ धर्ती’ गीत पनि ल्याउने तयारी गरेका छन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?