+
+

अखिल क्रान्तिकारीको बैठक सुरु, बाहिर असन्तुष्ट पक्षको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते २०:४६

५ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक आइतबार साँझ सुरु भएको छ ।

आइतबार बिहान ११ बजेदखि बैठक बस्ने भनिए पनि अबेर मात्रै तीनकुनेस्थित रोयल व्यांक्वेटमा बैठक सुरु भएको हो ।

बैठकअघि नै विवाद भएपछि बैठक स्थलमा विद्यार्थीहरुबीच कुटाकुट समेत भएको थियो । तनावपूर्ण अवस्थाका कारण केही ढिला गरी बैठक सुरु भएको हो ।

यद्यपि असन्तुष्ट पक्षले भने बैठक कक्ष भन्दा बाहिर नाराबाजी र कोणसभा नै गरेको छ । असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका उपाध्यक्ष पवन कार्कीले प्रहरी लगाएर आफूलाई भित्र पस्न नै नदिई एकलौटीरुपमा बैठक बसिरहेको बताए ।

‘हामी करिब ७० केन्द्रीय सदस्यलाई बाहिर राखिएर एकलौटीरुपमा भित्र बैठक बसिरहेको छ,’ कार्कीले अनलाइनखबरसँग भने, ‘हामी यसको विरोधमा छौं । हामीले यसको विरोधमा बाहिर कोणसभा समेत गरेका छौं ।’

कार्की लगायतका केही विद्यार्थी नेताहरु केन्द्रीय समिति निर्माण र पदाधिकारी घोषणामा समेत असन्तुष्ट थिए ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । यद्यपि विवादपछि प्रचण्ड बैठकमा आएनन् ।

केन्द्रीय समिति निर्माणदेखि पदाधिकारी चयन उचित तरिकाले नभएको भन्दै अखिल क्रान्तिकारीभित्र उपाध्यक्ष कार्कीले समानान्तर गतिविधि अगाडि बढाइरहेका थिए ।

अनुशासनहीन काम गरेको भन्दै अखिल क्रान्तिकारीले कार्कीलाई संगठनबाट निलम्बन गरेको थियो ।

बढ्दो विवादबीच माउ पार्टी माओवादी केन्द्रका नेताहरुले हस्तक्षेप गरेर मिलाउने कोसिस गरेका थिए । माओवादी केन्द्रको पूर्व स्थायी समिति बैठकले विवाद मिलाउन निर्देशन दिएपछि पदाधिकारी बैठक बसेर विवाद समानको कोशिस गरिएको थियो ।

दुई दिनको पदाधिकारी बैठकपछि विवाद मिलेको भन्दै अखिल क्रान्तिकारीले कार्कीमाथिको कारवाही फिर्ता लिएको थियो भने कार्कीले समानान्तर गतिविधि नगर्ने प्रतिवद्धता जनाएका थिए ।

पदाधिकारी बैठकमा बैठकले २९ जेठमा केन्द्रीय समिति बैठक आयोजना गर्ने निर्णय गरेको थियो । तर, अचानक उक्त बैठक असार ५ गतेका लागि सारिएको थियो ।

वरिष्ठताका आधारमा पदाधिकारी बनाउने, केन्द्रीय समितिमा पनि छुटेकाहरुलाई समावेश गर्ने र चाँडै राष्ट्रिय सम्मेनलमा जाने सहमति पदाधिकारी बैठकमा भए पनि त्यो लागू गर्न खोज्दा विवाद भएको कार्कीको दाबी छ ।

अब आफूहरुको माग पदाधिकारी र केन्द्रीय समिति विघटन गरेर राष्ट्रिय सम्मेलनमा गई चुनावमार्फत नेतृत्व चयन गर्नुपर्ने रहेको र यही कुरा पार्टीमा पनि जानकारी गराएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?