+
+

बाढीले एउटा पुल बगायो, एउटामा क्षति

अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ ।

रासस रासस
२०७९ असार १५ गते २१:०१

१५ असार, झापा । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका–१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी–चैतुपारी जोड्ने करिब १२ मिटरको सेती पक्की पुल बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै अविरल वर्षाका कारण गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित हुलाकी राजमार्गअन्तर्गत बनियानी खोलामा रहेको पक्की पुलको पश्चिमतर्फको मुखको एकातिर कालोपत्रभन्दा भित्रको आधा भाग खाल्डो परेको छ । पुलमा थप क्षति हुन नदिन ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।

यता जिल्लाका विभिन्न स्थानमा वर्षाका कारण विस्थापित भएका घर फर्किन थालेका छन् । गाउँबस्तीमा बाढी पसेर र पानीको सतह बढ्दै गएपछि विस्थापित भएका २८९ परिवारमध्ये १६४ परिवार घर फर्किएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।

पानीको सतह घटेपछि गौरीगञ्ज–१ दास चौरीका १२ परिवार, भद्रपुर–८ सुकुम्बासी बस्तीका २६ परिवार, गौरादह–६ लेलियाका १२५ परिवार, बाह्रदशी–२ सुकुम्बासी टोलका १३ परिवार घर फर्किएका हुन् ।

त्यस्तै अदुवा खोलाको बाढीका कारण विस्थापित बाह्रदशी–२ का ६० परिवारमध्ये ४७ परिवार दक्षिणेश्वर मन्दिर र गौरीगञ्ज–१ टुनुबस्तीका १२ परिवार स्थानीय रामजानकी प्राविमा र शिवसताक्षी–४ सुकुम्बासी बस्तीका ३३ परिवार त्रिभुवन माविमा आश्रित छन् भने छिमेकीकामा शरण रहेका गौरीगञ्ज–१ भन्सार टोल अधिकारी बस्तीका १५ परिवार घर फर्कन नसकेको रेडक्रस झापाले जनाएको छ ।

यता रेडक्रस झापाले गौरीगञ्ज–१ का विस्थापत परिवारका लागि ६० थान त्रिपाल र ६० थान हाइजिन किट वितरण गरेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?