+
+

करिअर काउन्सिलिङ जरुरी छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २४ गते ८:१६

२४ असार, काठमाडौं । एसईईको नतिजा आउन लाग्यो । तर, नयाँ बानेश्वरकी सन्जिला थापालाई ११ कक्षामा कुन विषय पढ्ने भन्ने अझै अन्योल छ । भन्छिन् ‘परीक्षा ठिकै भएको छ, अकाउन्ट पढ्छु होला ।’

सामुदायिक विद्यालयबाट एसईई दिएकी सन्जिला उनकै भनाइमा पढाइमा मध्यम छिन् । तीन जना मिल्ने साथीहरुबीच सकेसम्म एउटै विषय पढ्ने कि भन्ने पनि सल्लाह गरिरहेका छन् । तर, तीनमध्ये अर्की कल्पना घिमिरेलाई भने पढाइ राम्रो भएकाले अभिभावकले मुख्य विषयको रुपमा साइन्स (विज्ञान) विषय पढ्न भनिरहेकाले सल्लाह मिलिसकेको छैन । सन्जिला सुनाउँछिन्, ‘कल्पनाको पढाइ हाम्रो भन्दा राम्रो छ । साइन्स पढ भनिरहनुभएको छ घरबाट । मेरो र सुविज्ञाको पढाइ ठिकै भएकाले अकाउन्ट लिएर पढ्छौं होला ।’

एसईई दिएर बसेकी महिमा शाक्य पनि ११ मा पढ्ने विषयबारे निर्णय गर्न नसकेको सुनाउँछिन् । पढ्न रुचि भएका विषयहरु लिएर पढ्न नमिल्ने भएपछि नतिजा आएपछि त्यहि अनुसार पढ्ने सोच बनाइरहेको बताउँछिन् । भन्छिन्, ‘मलाई त मुख्य विषय ल पढ्न मन लागेको छ तर मुख्य विषय ल (कानुन) रोज्यो भने फेरि इकोनोमिक्स र म्याथ पढ्न पाइँदैन । त्यसैले कुन विषय पढ्छु थाहा छैन । रिजल्ट आएपछि त्यहि अनुसार पढ्छु ।’

सन्जिला, कविता, महिमा जस्तै अहिले एसईई र १२ कक्षाको परीक्षा दिएर बसिरहेका अधिकांश विद्यार्थीहरु त्यसपछि कुन विषय पढ्ने अन्यौलमा छन् । उनीहरुलाई आवश्यक परामर्श (करिअर काउन्सिलिङ) नहुँदा साथीको लहलहैमा, परीक्षाको नतिजाको आधारमा, अभिभावकको जोडबल अथवा सुझाव अनुसार पढ्ने गरेको अनुभव सुनाउँछन् ।

उनीहरुलाई करिअर काउन्सिलिङ हुने हो भने भविष्यमा गरी खान सक्ने हुने शिक्षक स्वयं स्वीकार गर्छन् । काठमाडौंको एक निजी विद्यालयमा पढाइरहेका राजेश पौडेल विद्यार्थीलाई काउन्सिलिङ दिनुपर्छ भन्ने कुरा विद्यालयलाई नै महसुस नभएको हुनसक्ने अनुमान गर्छन् । उनी भन्छन्, ‘मलाई लाग्छ अधिकांश विद्यालयलाई करिअर काउन्सिलिङबारे आइडिया नै छैन । थौरै निजीले गरेका होलान् । मैले पढाउने विद्यालयमा पनि यो प्राक्टिस छैन ।’

विद्यार्थीको आनीबानी, रुचि र क्षमता शिक्षकलाई बढी थाहा हुने भएकाले सानै कक्षादेखि त्यहि अनुसारको गाइडेन्स हुन जरुरी रहेको उनी बताउँछन् ।

सुरक्षा चौलागाईले एसईईपछि मुख्य विषय साइन्स लिएर कक्षा ११ पढिन् । अहिले कक्षा ११ को वार्षिक परीक्षा दिएर कक्षा १२ मा जाने तयारी गरिरहेकी उनले आफ्नो रुचि र अभिभावकले पनि साइन्स पढ्न सुझाव दिएकाले पढ्न थालेकी हुन् । तर, शिक्षकबाट आफ्नो रुचि र क्षमता अनुसार सुझाव नपाएको बताउँछिन् । भन्छिन्, ‘अहिले म आफ्नो रुचि पनि रहेको र अभिभावकको पनि चाहाना अनुसार पढें । तर, शिक्षकको सुझाव अत्यन्तै आवश्यक छ । शिक्षकको सुझावले धेरै सजिलो बनाउँछ ।’

शिक्षकले विद्यार्थीलाई नजिकबाट चिन्ने भएकाले क्षमताको आधारमा करिअर काउन्सिलिङ गर्दा प्रभावकारी हुने उनी बताउँछिन् । भन्छिन्, ‘शिक्षकलाई हाम्रो क्षमता कत्ति छ भन्ने थाहा हुन्छ । कुन विषय पढ्दा भविष्य सुरक्षित हुन्छ भन्ने कुरा पनि थाहा हुने भएकाले त्यही अनुसार सुझाव दिँदा राम्रो हुन्छ ।’

अर्का विद्यार्थी सुमन मगर अहिले कक्षा १२ पढ्ने तयारीमा छन् । ललितपुरको एक सामुदायीक विद्यालयमा अध्ययरत उनी मुख्य विषय लेखा र अर्थशास्त्र लिएर पढिरहेका छन् । तर, अहिले उनलाई ऐच्छिक मध्ये एक साइकोलोजी (मनोविज्ञान) पढेको भए हुने रहेछ भन्ने लाग्न थालेको बताउँछन् । भन्छन्, ‘साथीहरु सबैले त्यही पढ्ने भने, मैले पनि त्यही पढें तर साइकोलोजी पढ्नुपर्ने रहेछ भन्ने फिल भइरहेको छ ।’ विद्यालयमा शिक्षकहरुले कुन विषयको महत्व कुन हो भनेर करिअर काउन्सिलिङ गरेको भए यस्तो अवस्था नहुने उनी बताउँछन् । भन्छन्, ‘घरमा पनि यो विषय पढ्दा यस्तो हुन्छ भन्ने सुझाव दिने मान्छे भएन । स्कुलमा साइन्स, म्याथ, इकोनोमिकको सामान्य भन्नु भएको थियो । अहिले बुझ्दा साइकोलोजी इन्ट्रेस्टिङ रहेछ । मेरो अनुभवले पनि यस्तो खालको काउन्सिलिङ जरुरी हो ।’

विद्यालयले दिन्छन् करिअर काउन्सिलिङ ?

अहिले अधिकांश विद्यार्थीहरु नतिजाको आधारमा विषय रोज्ने गरेको शिक्षकहरु बताउँछन् । राम्रो अंक ल्याउनेले मुख्य विषय साइन्स अथवा म्यानेजमेन्ट सम्बन्धित विषयहरु पढ्नुपर्छ भन्ने बुझाइ विद्यार्थी अथवा अभिभावकहरुको रहेको विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल बताउँछन् । त्यसैले पनि करिअर काउन्सिलिङ गर्नुपर्ने उनको भनाइ छ । तर, विश्व निकेतनले पनि अहिलेसम्म दिनुपर्छ भनेर थालेको भने छैन ।

विषयगत महत्वबारे अथवा विद्यार्थी, अभिभावकलाई जानकारी दिने गरेको प्रधानाध्यापक कँडेलले बताए । उनले भने, ‘हामीले त्यसरी काउन्सिलिङ नै त होइन तर कोही–कोही अभिभावक र बच्चाहरुको रुचि नमिल्दा विद्यालय, शिक्षकसम्म आउने कुरालाई भने हामी सहजीकरण गरिरहेका छौं ।’

विशेषगरी एसईई दिएका अधिकांश विद्यार्थी के पढ्ने अथवा मैले के पढ्दा भविष्यमा गरेर खान्छु भन्ने ठम्याउन नसक्ने भएकाले अहिले एसईई दिएर बसेका विद्यार्थीहरु कुन विषय पढ्ने अन्यौल अथवा निर्णय गर्न नसकी दुविधामा पर्ने गरेको निल बाराही माविकी प्रधानाध्यापक डा.जानुका पौडेल बताउँछिन् । उनी भन्छिन् ‘हो, विद्यार्थीहरुलाई जरुरी छ भनेर नै हामीले विषयगत महत्वबारे जानकारी दिने गरेका छौं । कुन विषय पढ्दा के सिक्न सकिन्छ भनेर विद्यार्थीलाई एसईई दिएपछि र नतिजा आएपछि दिने गरेका छौं ।’

तर, त्यसरी राखिएको जानकारीमुलक कक्षामा भने कम विद्यार्थी मात्रै सहभागी हुने गरेको उनले बताइन् । विद्यार्थीको क्षमताको आधारमा प्रतिविद्यार्थी सुझाव दिने भने नगरिएको बताइन् ।

विद्यार्थी अथवा शिक्षकहरुको अनुभव अनुसार अधिकांश विद्यालयहरुमा करिअर काउन्सिलिङ दिइँदैन । शिक्षक राजेश पौडेल विद्यार्थीलाई भविष्यमा गरीखाने बनाउनको लागि करिअर काउन्सिलिङ दिन जरुरी रहेको बताउँछन् । भन्छन्, ‘विद्यार्थीलाई भविष्यमा रोजगार बनाउनको लागि समयमा काउन्सिलिङ दिने हो भने पढाइ बीचमा पुगेपछि अर्को विषय पढ्नुपर्ने रहेछ भनेर निराश हुन दिँदैन र गरिखाने हुन्छन् भन्ने लाग्छ ।’

हरिसिद्धी माविले कक्षा ८ देखि नै दिन्छ करिअर काउन्सिलिङ

ललितपुरको हरिसिद्धी माविले भने धेरै वर्षदेखि करिअर काउन्सिलिङ गरिरहेको छ । प्रधानाध्यापक आशादेवी महर्जन धेरै वर्ष अघिदेखि करिअर काउन्सिलिङ दिने मात्रै नभएर छात्रवृत्तिबारे जानकारी दिने र छात्रवृत्ति भर्नको लागि सहजीकरण पनि गरिरहेको बताउँछिन् । विद्यालयमा अधिकांश न्यून आयस्रोत भएका अभिभावकका बालबालिकाहरु पढ्ने, उनीहरुको अभिभावक पनि तिमीले कुन विषय लिएर पढ्दा भविष्य राम्रो हुन्छ भन्न नसक्ने अवस्था भएकाले विद्यालयले नै विद्यार्थी र अभिभावकलाई सँगै राखेर काउन्सिलिङ गर्ने तथा सहजीकरण गर्ने गरेको बताइन् । भन्छिन्, ‘हामीले त एसईई र १२ कक्षाका विद्यार्थीलाई मात्रै नभएर प्राविधिक विषयहरु कक्षा ८ देखि नै रोज्नुपर्ने भएकाले उनीहरुलाई पनि काउन्सिलिङ गर्छौं ।’

विद्यालयले पाउने विभिन्न विषय अध्ययनका लागि छात्रवृत्तिबारे जानकारी दिने र आवेदनको लागि सहजीकरण गरेर विभिन्न विषयमा विद्यार्थीहरु छात्रवृत्तिमा पढिरहेको समेत दाबी गर्छिन् उनी । विद्यालयमा पढाउनेसँगै विद्यार्थीको भविष्य सुनिश्चित गर्न सहजीकरण गर्ने जिम्मेवारी पनि शिक्षककै भएकाले त्यो जिम्मेवारी सबै शिक्षकले पुरा गर्नुपर्ने उनको भनाइ छ । भन्छिन्, ‘शिक्षकको काम विद्यार्थी पढाउने मात्रै होइन । उनीहरुको भविष्य उज्ज्वल बनाउनको लागि महत्वपूर्ण भूमिका निभाउनुपर्छ । त्यो जिम्मेवारी हो । त्यो हरेक शिक्षकले निभाउनुपर्छ ।’ विद्यार्थीको क्षमता, रुचि, पारिवारिक पृष्ठभूमिबारे शिक्षक जानकार हुने भएकाले शिक्षकले जस्तो करिअर काउन्सिलिङ अरुले दिन नसक्ने उनको भनाइ छ ।

कक्षा १२ सम्म पुग्दा विद्यार्थी धेरै बुझ्ने भइसक्ने भएकाले ८ र १० कक्षाका विद्यार्थीलाई करिअर काउन्सिलिङको बढी आवश्यकता हुने उनको बुझाइ छ । समयमा सही सुझाव पाउँदा विद्यार्थीले बाटो बिराउने सम्भावना कम हुने गरेको उनको अनुभव छ । उनको अनुभव अनुसार ७० प्रतिशत बढी बालबालिकाले शिक्षकको सुझाव अनुसरण गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?