+
+
विचार   :

विश्वसँग पदचाप मिलाउन हामी कहाँ-कहाँ चुक्यौं ?

हामी सयौं वर्ष पछि परिसकेका छौं। हामीले त्यो काम केही दशकमा गर्नुछ। घस्रिएर हैन, उफ्रिएर त्यो लक्ष्य पूरा गर्नुछ। पहिलो, दोस्रो, तेस्रो र चौथो औद्योगिक क्रान्ति एकैसाथ सम्पन्न गर्नुछ। त्यसनिम्ति हामीले टालटुले होइन, केही गम्भीर संरचनात्मक सुधार गर्नैपर्छ।

डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई
२०८० पुष १५ गते १७:४९

मेरो तत्कालीन समयचेतनाले मलाई राजनीतितर्फ नडोर्‍याएको भए सायद म पनि यहीं कतै यही हुलमा हुन्थें होला भन्ने मिठो कल्पना यो राजमार्गको पल्लो कुइनेटो काटेर विश्वविद्यालयतर्फ मोडिइरहँदासम्म मेरो मनमा आइरहेको थियो। मेरो त्यो पूरा नभएको सपनातर्फ डोर्‍याउनु हुने काठमाडौं विश्वविद्यालय परिवारलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। मेरो आशय राजनीतिमा लागेर म तपाइँहरूबाट टाढा छु वा फरक हुँ भन्ने कदापि होइन।

यहाँ म विभिन्न चरणका औद्योगिक क्रान्तिहरूका अन्तर्य र त्यो बखतको नेपाली वस्तुस्थिति, हामीले तत्काल र दीर्घकालमा सम्बोधन गर्नुपर्ने र गर्न सकिने केही अर्थ–राजनीतिक मुद्दाहरूको व्याख्या, तत्काल र दीर्घकालमा सम्बोधन गर्नुपर्ने र गर्न सकिने केही अर्थ–राजनीतिक मुद्दाहरू र नेपाली उच्चशिक्षा क्षेत्रले समुन्नत नेपाल निर्माणमा निर्वाह गर्न सक्ने भूमिका बारे चर्चा गर्नेछु।

समतामूलक विकास वा समृद्धि सरलरेखीय व्याख्या हुन सक्दैन। न त एउटा देशको अनुभव वा खाका हुबहु अर्को देशमा लागू हुन्छ। तथापि मोटामोटी विकासको मोडेल वा खाका र एक कुनाको अनुभव गोलार्धको अर्को छेउको समाजको लागि सिकाइपूर्ण हुन्छ नै। तसर्थ, विभिन्न चरणका औद्योगिक क्रान्तिका अवयव र तथ्यहरूको साँचोमा नेपाली समाजको तात्कालिक यथार्थ हेरौं।

आधुनिक मानव समाजको सचेत हस्तक्षेपका कारण आजका दिनसम्म भएका औद्योगिक छलाङहरूको चार चरण छन्। यसलाई औद्योगिक क्रान्ति पनि भनिन्छ।

०००

अब म कुरो गर्दैछु लगभग ईस्वी संवत् १७६५ देखि आजसम्मको। अर्थात् पहिलो औद्योगिक क्रान्तिको समय र आजसम्मको चार चरणको भनिएको औद्योगिक क्रान्तिहरूको। आधुनिक औद्योगिक क्रान्तिका प्राविधिक, सामाजिक, आर्थिक र सांस्कृतिक विशेषताहरू थिए।

जस्तो कि नयाँ आधारभूत सामग्रीहरूको पहिचान र प्रयोग; मुख्यतः फलाम र इस्पात व्यापक प्रयोग भएको थियो। कोइला, स्टिम इन्जिन, बिजुली, पेट्रोलियम जस्ता इन्धन लगायत नयाँ ऊर्जा स्रोतहरूको व्यापक प्रयोग भएको थियो।

नयाँ प्रकारको इन्जिन र नयाँ मेसिनहरूको आविष्कार जसले कमभन्दा कम मानवीय ऊर्जा र खर्चमा उत्पादन बढाउँथ्यो र बढायो पनि।

कारखाना भनेर चिनिने कामको नयाँ सङ्गठन प्रणाली जसले श्रमको विभाजन र विशेषज्ञताको आधारमा उत्पादकत्व बढायो। स्टिम लोकोमोटिभ, स्टिमशिप, अटोमोबाइल, हवाईजहाज, टेलिग्राफ र रेडियो सहित यातायात र सञ्चारमा महत्त्वपूर्ण विकासहरू भए।

उद्योगमा विज्ञानको बढ्दो प्रयोग र विज्ञानलाई (सामाजिक पनि) उद्योगमा कामकाजी बनाउन सहयोगी उच्चशिक्षा र त्यसप्रकारको राज्यव्यवस्थाको लगातार परिमार्जन र यस प्रकारका नाफामूलक प्राविधिक परिवर्तनहरू जसको सहायताले प्राकृतिक स्रोतहरूको अत्यधिक प्रयोगले बृहत्तर उत्पादनलाई सम्भव बनायो।

हामी यस्तो समयमा बाँचिरहेका छौं जहाँ प्राकृतिक स्रोतको अतिदोहनले खतराको घण्टी बजाइसकेको छ।। यसलाई सच्याउने प्रयास भएका छन् तर ती निकै साना–साना प्रयासहरू हुन्। तर यसै बीचमा पनि नयाँ प्रकारको औद्योगिक क्रान्तिवाला आधार तयार भएका छन् जस्तै एआई र नवीकरणीय ऊर्जामा विकास।

यस्तै विभिन्न चरणबाट गुज्रेको सन् १७६५ देखि २०२३ सम्मको समयको निर्मम व्याख्या र समग्र नेपाली समाजले किन मूलधारे विकासमा लय मिलाउन सकेन, छलफल गर्न ढिला नगरौं। विश्वविद्यालयहरू यसतर्फ अग्रसर हुनु राम्रो सङ्केत हो।

०००

के चैं हुन्छ त औद्योगिक विकास वा क्रान्तिले ? औद्योगिक क्रान्तिले उद्योग मात्र होइन गैर-औद्योगिक क्षेत्रको पनि बढोत्तरी गराउँदो रहेछ, आर्थिक इतिहास यसै भन्छ। जस्तैः जुन जुन देशमा उद्योगले फड्को मार्‍यो, ती देशमा कृषिमा पनि सुधार भयो जसले ठूलो गैर-कृषि जनसङ्ख्यालाई खाद्यान्नको व्यवस्था गर्न सम्भव बनायो।

उद्योग र कृषिको व्यापक विकासले सम्पत्तिको व्यापक पुनः वितरण भयो, भूमिको सीमितताले औद्योगिक उत्पादन बढाउन अन्तर्राष्ट्रिय व्यापारलाई नयाँ सम्पत्तिको स्रोतको रूपमा पहिचान भयो।

आर्थिक शक्तिमा परिवर्तनलाई प्रतिबिम्बित गर्ने राजनीतिक परिवर्तनहरू, साथै औद्योगिक समाजको आवश्यकता अनुरूप नयाँ राज्य र नीतिहरू बन्दै गए।

व्यापक सामाजिक परिवर्तनहरू भए। शहरहरूको वृद्धि, श्रमिक-वर्ग आन्दोलनहरूको बलमा अझ-विकास र श्रमिक अधिकारका नयाँ ढाँचाहरूको उदय। र, व्यापक सांस्कृतिक र आर्थिक रूपान्तरणहरूमा औद्योगिक क्रान्तिको भूमिका रह्यो। कामदारहरूले नयाँ र विशिष्ट सीपहरू हासिल गरे। र तिनीहरूको काम र उत्पादन सम्बन्धहरूको आम रूपमा रूपान्तरण र परिवर्तन भयो।

कारखानाको निर्मम अनुशासनले मेसिनहरूको व्यापक प्रयोग सँगै श्रमिक झन् कजियो र श्रमको उत्पादन र उत्पादकत्व दुवैमा बढोत्तरी आयो। जहाँ–जहाँ औद्योगिक क्रान्ति भयो त्यहाँ आमरूपमा एक मनोवैज्ञानिक परिवर्तन आयो र समाज नै रूपान्तरित भयो। राज्य संयन्त्रहरू पनि क्रमशः परिवर्तित भए। प्राकृतिक स्रोतहरू दोहन र गलत प्रयोगमा मान्छेको झन्–झन् आत्मविश्वास बढ्यो।

यसप्रकारको व्यापक परिवर्तनको ज्वारभाटामा हाम्रो नेपाली समाजले तैरिन पनि सिकेन, न त डुबेर विलायो, बर्बरिकले महाभारत युद्ध हेरे झैं हेरी मात्र रह्यो।

०००

प्रथम औद्योगिक क्रान्ति (सन् १७६५-१८७० सम्मको एक शताब्दी) भनेको कोइला, दोस्रो औद्योगिक क्रान्ति (सन् १८७०-१९६९ सम्मको एक शताब्दी) भनेको ग्याँस र पेट्रोलियम पदार्थ, तेस्रो औद्योगिक क्रान्ति (सन् १९६९-२००० सम्मको ३० वर्ष) भनेको इलेक्ट्रोनिक्स र आणविक ऊर्जा, र चौथो औद्योगिक क्रान्ति (२०००-आज सम्मको समय) भनेको इन्टरनेट र नवीकरणीय ऊर्जा हुन् भनिएको छ चल्तीका किताब र लेखहरूमा। यो २५० वर्षको इतिहासमा हामीले एक अद्भुत विकास देख्यौं, सुन्यौं र पढ्यौं पनि।

यी औद्योगिक विकासहरू खास–खास देश वा क्षेत्रबाट सुरु भए। पहिलो औद्योगिक क्रान्ति बेलायतबाट सुरू भयो। वास्तवमा त्यो एक यान्त्रिकीकरणको विकास थियो। वरपरका देशले पनि फाइदा लिए र आजको राम्रो भनिएको यूरोपको जग बस्यो। परम्परागत उत्पादनका साधनलाई नयाँ, सस्तो र सजिलोको लागि गरिएको व्यवस्थापन नै पहिलो औद्योगिक क्रान्ति थियो।

हामी के गर्दै थियौं त त्यो बेला ? गोरखा राज्यको काठमाडौं विजय (सन् १७६८) र कोतपर्व (सन् १८४६) वरपरको समय हामी के गर्दै थियौं त? हामीले न त उत्पादन र उत्पादकत्व बढाउन नयाँ खोज र कोइलाको प्रयोग गर्‍यौं न त बेल्जियमले झैं आर्थिक कूटनीतिको माध्यमले औद्योगिक क्रान्तिलाई आफ्नो हितमा प्रयोग गर्‍यौं। जबकि सन् १७४६ मा नै इष्ट इण्डिया कम्पनीको कलकत्ता शाखा स्थापना भइसकेको थियो। यसबाट पाठ सिक्न जरूरी छ र विश्वविद्यालयहरू यस कार्यका लागि उपयुक्त संस्था हुन्।

हामी सयौं वर्ष पछि परिसकेका छौं। हामीले त्यो काम केही दशकमा गर्नुछ। हामीले घस्रिएर हैन, उफ्रिएर त्यो लक्ष्य पूरा गर्नुछ। पहिलो, दोस्रो, तेस्रो र चौथो औद्योगिक क्रान्ति एकैसाथ सम्पन्न गर्नुछ। त्यसनिम्ति हामीले टालटुले होइन, केही गम्भीर संरचनात्मक सुधार गर्नैपर्छ।

पहिलो औद्योगिक क्रान्तिले तत्–तत् अर्थतन्त्रलाई कृषिबाट उद्योगमा परिणत गर्‍यो। प्रक्रियाहरू यान्त्रिक भए। दैनिक प्रयोगका सामानहरू उत्पादन र निर्यातका वस्तु भए।

यस अवधिमा कोइलाको खोज र यसको सामूहिक निकासी साथै स्टीम इन्जिन र धातुजन्य मेसिनहरूको विकासले सामानहरू उत्पादन र आदानप्रदान गर्ने तरिकालाई पूर्ण रूपमा परिवर्तन गर्‍यो। कपडा बनाउनका लागि स्पिनिङ मेसिन र लुम जस्ता आविष्कारहरूले आफ्नो उपस्थिति बनायो।

यी सामानहरू विदेशमा बेच्न सरकारीस्तरमा संस्थानहरू बने, घुम्न र सामान ओसार्नका लागि जलयातायातको विकास भयो र जनावरमा आधारित यातायात प्रणाली प्रतिस्थापित भयो।

हामीले के गर्दै थियौं त? राज्य विस्तारका केही प्रयास, धातुका खानी पहिचान र सानो स्तरको भए पनि प्रयोग भएको थियो। तर कोइलाको गुणात्मक प्रयोग हामीले गरेनौं, गर्न जानेनौं। तसर्थ, पहिलो औद्योगिक क्रान्तिको बाछिटा नेपालमा आयो तर हामी त्यसमा निथ्रुक्क भिजेनौं र पछि पर्‍यौं। इतिहासबाट पाठ सिकौं, अब पछि नपर्ने प्रण गरौं।

पहिलो औद्योगिक क्रान्ति कोइलाको व्यापक प्रयोगले निर्देशित हुनाले दोस्रो क्रान्ति कोइलाको भरपर्दो विकल्पमा आधारित थियो। त्यो समय भरपर्दो बिजुली, ग्याँस र तेलको वरिपरि घुमेको थियो।

वैज्ञानिक आविष्कारदेखि यी इन्धन स्रोतहरूको खोज र व्यवस्थापन नै राज्यशक्तिको स्रोत हुन गयो। विश्वविद्यालयहरू पनि यसकै वरपर घुमेका थिए। स्टिलजन्य र रासायनिक प्रक्रियामा आधारित उत्पादनहरूले बजार कब्जा गर्‍यो।

सञ्चारप्रविधिको विकासले टेलिग्राफको टेलिफोनमा स्तरोन्नति भयो। विमान र कारको आविष्कारसँगै यातायातले फड्को मार्दै गयो। मेकानिकल उत्पादन ठूलो मात्रामा बढ्यो। युद्ध, राजनीतिक परिवर्तन, नवीन खोजहरू सबै सबैको सार नै कसरी सस्तोमा मास प्रोडक्सन गर्ने र इकोनोमिक्स अफ स्केलको आधारमा बजार कब्जा गर्ने र बृहत्तर पूँजी निर्माण गर्ने भन्नेमा केन्द्रित रह्यो। यो दोस्रो औद्योगिक क्रान्तिको सालाखाला सय वर्षको समयको काम हो।

पश्चिमा देशहरूमा जब दोस्रो औद्योगिक क्रान्तिको जग बस्दैथियो, हामी चीनसँग लडाइँ (सन् १८५५-५८) गर्दै थियौं। सायद इतिहासको पुनर्व्याख्या जरूरी छ कि हामीले सिपाही विद्रोह (सन् १८५७) मा छिमेकी सत्ताको विश्वास गुमाएको धङधङीले अझैसम्म पनि हाम्रो नीति निर्माणलाई प्रभाव पार्दै पो छ कि? त्यो बेलाको नेपाली धन र बल के मास प्रोडक्सनको उछाल ल्याउन उद्यत थियो कि व्यक्तिगत सनक!

कसै कसैले त्यो घटनामा नेपालको सामेलीलाई ‘रङ साइड इन द हिस्ट्री’पनि भनेका छन्। के हामीले त्यसबखतको मास प्रोडक्सन सिस्टममा जोडिन प्रयास गर्‍यौं त? गरेनौं। उच्च शिक्षामा लगानी बारे त हामीले सोचेको नै देखिंदैन। तसर्थ उद्योगमा पछि पर्‍यौं, शिक्षामा पछि पर्‍यौं। र वैकल्पिक ऊर्जाको औद्योगिक प्रयोगमा त हामी अझै पछि छौं त्यो बेलाको के कुरा भो र?

दुई ठूला युद्धमा हाम्रो फोकटको सामेली भयो जुन हाम्रो युद्ध नै थिएन। त्यसले लाहुरे संस्कृतिलाई स्थापित गर्‍यो। सस्तो श्रमलाई अझ उत्पादक बनाउनको सट्टा आज पनि हामी श्रम नै निर्यात गरिरहेका छौं। उत्पादनको साधन बेचेर को धनी हुन्छ र ? हामी पनि भएनौं। केही राजनीतिक र रणनीतिक परिवर्तनहरू भए।

जुन समय राणाशासन फालेर जनपक्षीय व्यवस्थाको सपना बुनियो, अनि महेन्द्रको महत्वाकाङ्क्षा वरपर देश चल्यो र लगभग वीरेन्द्रले सत्ता लिने बेलासम्मको समय दोस्रो औद्योगिक क्रान्तिको रूपमा चिनिन्छ। त्यो बखत पनि नेपाल पछि पर्‍यो।

त्यो सय वर्षको समयकालपछि विश्व आणविक ऊर्जा र इलेक्ट्रोनिक्सको युगमा गयो। त्यसलाई तेस्रो औद्योगिक क्रान्ति भनियो। जसको पकड उत्पादनको साधनमा र प्रविधिमा थियो उसैको पकडमा नयाँ प्रविधि रह्यो।

विश्वविद्यालयहरूलाई एक साधनको रूपमा प्रयोग गरियो। युद्धदेखि व्यापारसम्ममा उच्चशिक्षालाई प्रयोग गरियो। आणविक शक्ति युरोपमा सुरु भयो। ग्रेट ब्रिटेन र संयुक्त राज्य अमेरिकामा झन् परिमार्जित भयो र विस्तारै एशियाका अन्य ठाउँमा पनि विस्तार भयो।

तेस्रो औद्योगिक क्रान्तिकालमा व्यापक अटोमेसनको विकास र विस्तार भयो। उत्पादन प्रक्रियामा व्यापक परिवर्तन भयो। सस्तो र कमजोर देशका साधन–स्रोतको दोहन गर्न नयाँ–नयाँ संस्थानहरू स्थापना भयो। विश्वविद्यालयहरूले त्यसमा सहयोगीको भूमिका नै खेले। संसारकै सबैभन्दा पहिला बोइलर कुखुराको अनुसन्धान नेपालको कृषि क्याम्पसमा भयो तर प्याटेन्ट कसको छ अहिले हेर्नुस् त?

सायद संसारमै पहिलो पटक सौर्य ऊर्जाले पानी तानेको दाङमा नेपाली सरकारी वैज्ञानिकहरूले हो भनेर त्यो कार्यमा प्रत्यक्ष सहभागी वैज्ञानिकबाट मैले सुनेको कुरा हो। अहिलेको अवस्था के हो? तसर्थ केही प्रयासहरू नभएका होइनन्, तर त्यसको औद्योगिक प्रयोगमा हामी चुक्यौं। यस्ता सयौं उदाहरण हुनसक्छन् हाम्रा अव्यवस्थाका। यसको मतलब हामी तेस्रो पटक पनि छलाङ मार्नबाट चुक्यौं।

नयाँ शताब्दीको सुरू सँगै चौथो औद्योगिक क्रान्तिको सुरू भएको भनेर केही लेखहरूले चित्तबुझ्दो तर्क पेश गरेका छन्। समयक्रममा उत्पादनका साधन र वितरण प्रक्रिया रोबोटीकरणको स्तरमा पुगेको छ। हाम्रा सौर्य, वायु र भू-तापीय जस्ता नवीकरणीय ऊर्जाको उत्पादन, प्रयोग र परिमार्जनमा व्यापक परिवर्तन भइरहेको छ। र औद्योगिक क्रान्तिको स्रोत ऊर्जाको कुनै प्रकार नभई डिजिटल प्रविधिको प्रयोग नै सर्वेसर्वा भएर आएको छ। झन् यो वर्ष त च्याट जीपीटी र एआईको प्रवेश हामीसम्म पनि आइपुग्यो नै।

उत्पादन लाइनको लागत घटाउने स्रोत भनेकै रोबोटिक हो भने जस्तो भइरहेको छ। यो समयको उद्योग इन्टरनेट अफ थिंग्स, क्लाउड टेक्नोलोजी र आर्टिफिसियल इन्टेलिजेन्सको विकास हुँदै भर्चुअल संसार र भौतिक संसारबीचको फरक नै नहुने अवस्था छ। डाटा नै सबथोक भन्ने भएको छ।

यो स्तरको औद्योगिकीकरण हाम्रो लागि समस्या मात्र होइन, अवसरको रूपमा पनि आएको छ। हाम्रो समसामयिक अर्थ–राजनीतिक प्रशासन र उच्च शिक्षाको क्षेत्र के गरिरहेको होला?

जसरी वातावरण विनाशको समस्या आयो। धेरै जालझेल भयो। अति बजारीकरण भयो। आम बेरोजगारीतर्फ समाज गयो, आदित्यादि। विभिन्न समाधानका उपायहरू पनि विश्वस्तरमा छलफल भए। सुधारका प्रयास पनि भए।

यो चौथो प्रकारको औद्योगिक विस्तारले पनि केही संशय पैदा गरेको छ। गिग-ईकोनोमीतिर समाज गइरहेको छ। डाटाको गलत प्रयोग हुने हो कि? एआईले विस्थापित नै गर्ने हो कि मान्छेलाई? आदित्यादि।

प्रत्येक पटक समृद्धिको आधार आर्थिक वा औद्योगिक क्रान्ति नै हो र दिगो विकासको यात्रा सधैं चुनौतीपूर्ण रह्यो। विश्वविद्यालयहरू यो चुनौतीको समाधानमा सहयोगी हुने कुरामा सायद हाम्रो विमति होला। अब कसरी वृद्धिको वाहक विश्वविद्यालयहरू हुनसक्ला, छोटकरीमा व्याख्या गरौं।

हामी सबै इन्डस्ट्री-एकेडेमिया पार्टनरसिप बारे हामी प्रष्ट हुन जरूरी छ। विश्वविद्यालयहरू आविष्कार र नवप्रवर्तन केन्द्र बनाउनुपर्नेछ।

०००

छोटकरीमा हाम्रो हालको अवस्था बारे चर्चा गरौं। वृद्धि नभई वितरणको प्रभावकारिता कम हुने नै भयो। वृद्धि कसरी गर्ने भन्नेमा अब हामीसँग सहजता र अप्ठेराहरू दुवै टड्कारो रूपमा देखिएको छ। विगत ३० वर्षमा हामीले सालाखाला ४ प्रतिशत मात्र आर्थिक वृद्धि गर्‍यौं। केही सामाजिक विकासमा बढोत्तरी भएको चैं छ।

यो सानोस्तरको वृद्धिमध्ये श्रमको कारणले लगभग २.५ प्रतिशत विन्दु र पूँजीको कारणले १.२ प्रतिशत विन्दु वृद्धि भएको कुरा मोटामोटी ग्रोथ अकाउन्टिङ निकाल्छन् अर्थशास्त्रीहरू। बचेको ०.३ प्रतिशत विन्दु मात्र हाम्रो सुशासनको लाभ वा टोटल फ्याक्टर प्रोडक्टिभिटी हो। कहिलेकाहीं त त्यो नकारात्मक पनि भइदिन्छ। सुशासनले झन् नकारात्मक वृद्धि पो गराइरहेको हुन्छ नेपालमा।

हो, सुधार्नुपर्ने यहींनेर छ। र, विश्वविद्यालयहरूले मानवशक्ति वा श्रमशक्तिलाई मानवपूँजीमा बदल्न सक्छन् जुन देश निर्माणको खम्बा हुनेछ। त्यसले श्रम र पूँजीको उत्पादकत्व पनि बढाउँदै गुणात्मक र उच्च आर्थिक वृद्धि सम्भव छ नेपालमा।

जब चीनले दोहोरो अंकको उच्चवृद्धि गरिरहेथ्यो त्यसमा श्रमको मात्र भूमिका ५ प्रतिशत विन्दुको थियो भने सुशासनको ३ प्रतिशत विन्दु, थोरै पूँजीको भाग जोड्दा नै प्रशस्त वृद्धि हासिल भयो र टिकाउ पनि भयो। त्यसै बखतको भारतको वृद्धिमा पूँजीको मात्रा सबैभन्दा ठूलो हो र सुशासनको मात्रा दोस्रो।

त्यसरी नै सिंगापुरले छलाङ मारिरहँदा सुशासनको हिस्सा सबैभन्दा ठूलो थियो र दोस्रो पूँजीको। तसर्थ जोड केमा दिने भन्ने नितान्त अर्थतन्त्रको प्रकृति विशेष कुरा हो। हामी अझै पनि खास क्षेत्र पहिचानको अलमलमा छौं।

यो चौथो प्रकारको औद्योगिक परिवेशमा नेपाल जस्तो भूपरिवेष्टित राज्य, अनि न्यून पूँजी निर्माण भएको अवस्थामा कसरी वृद्धि र समतामूलक समाज निर्माण होला त? श्रमको उत्पादकत्व बढाउन के गर्न सकिएला ? पूँजीको उत्पादकत्व के गर्‍यो भने बढ्ला ? आर्थिक वृद्धिमा श्रम र पूँजीको उत्पादकत्वसँग तालमेल मिलाउने (सिनर्जी पैदा गर्ने) खालको राज्यसंयन्त्र र त्यसले दिने सुशासनको माध्यमले हुने आर्थिक वृद्धिको लाभ (टोटल फ्याक्टर प्रोडक्टिभिटीमा वृद्धि) गर्नु जरूरी छ।

हामीले एकपटक हाम्रो संविधान पनि सम्झौं। समाजवाद उन्मुख यसको अन्तर्य हो र समावेशी संघीयता यसको मर्म हो। मलाई लाग्दैन कि संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा राम्रो व्यवस्था अरू हुन सक्छ भनेर।

नयाँ उद्यमशीलतामा लगानीको त कुरै छाडौं, प्रोजेक्ट फाइनान्सिङको सुविधा पनि छैन। यस प्रकारको बैंकिङ र राष्ट्र-बैंकिङले वृद्धि र विकासमा सहयोग पुर्‍याउँछ कि पुर्‍याउँदैन? विश्वविद्यालयले अध्ययन गरेर सत्य-तथ्य भन्दिनुस् न, ढिला भइसक्यो।

हामीले सोचेको जस्तो संघीयता के वृद्धिको संवाहक हुन सक्छ? सक्छ। के हामीले प्रदेश र स्थानीय सरकारलाई समेट्ने खालको केन्द्रीय बैंकिङ दियौं? के हाम्रा राज्य र सक्षम मध्येका स्थानीय सरकारले घाटा बजेट बनाउन सक्छन्? सक्छन् संविधानतः। तर के कार्यान्वयन गर्न सक्छन् ? सक्दैनन्।

हामी यति संकीर्ण भयौं कि हाम्रा ७६० स्थानीय सरकारहरूले विगत ७ वर्षदेखि सालिन्दा १०० कमाउने र १०० खर्च गर्ने अनुमान गरे तर नीतिगत अन्योलले मात्र ९० वा ९५ मात्र खर्च गर्न सक्ने भए। हाम्रो संघीयता लागू गर्न अपुग नीति समयमा नबन्नाले अर्थतन्त्र लो लेभल इक्विलीब्रियम ट्रयापमा फस्यो, अनि हुन्छ त वृद्धि?

हो, यहाँनेर चाहियो विश्वविद्यालयको दिमाग राष्ट्रलाई। यस प्रकारको कमजोरी जो सजिलै सुधार्न सकिन्छ, त कति छन् कति। हामीले संघीयता भित्रैबाट वृद्धि र विकासको मूल खोज्ने भन्दा अरू उपाय छ जस्तो मलाई लाग्दैन। विद्वान् साथीहरू ! घोत्लिनुस् र निचोड दिनुस् राज्यलाई।

देशमा ९ लाख २३ हजार ३५६ सालाखाला व्यापार-व्यवसाय दर्ता छन् भन्छ तथ्याङ्क। त्यसमध्ये ३ लाख २० हजार ४३६ (३५.५५ प्रतिशत) ले मात्र बैंकबाट ऋण पाउँछन्। कत्रो खाडल, हाम्रा बैंक गर्छन् चैं के? अझ भित्रै पस्ने हो भने त मात्र १ लाख १२ हजार ३१३ (१२ प्रतिशत) ले मात्र ठूला भनिएका बैंकबाट ऋण पाउँछन्। अनि २०१८ को आर्थिक गणनाका अनुसार त त्यो ठूला व्यापारीले लिने ठूलो बैंकको ऋण फेरि सबैभन्दा सस्तो हुन्छ।

फाइनान्स, लघुवित्त र सहकारीबाट बरू १७ प्रतिशतले सुविधा पाउँछन् जुन ऋण ३ देखि ५ प्रतिशतले महङ्गो हो। फेरि ती चलेका वित्त-लघुवित्त कम्पनी पनि तिनै ठूला बैंकको हुने रहेछ। यो त ऋणको व्यापार भएन र? व्यवसाय गर्ने मध्येको ७ प्रतिशतले त साथीभाइ र परिवारबाट चर्को ब्याजमा ऋण लिएर व्यापार गर्छ।

नयाँ उद्यमशीलतामा लगानीको त कुरै छाडौं, प्रोजेक्ट फाइनान्सिङको सुविधा पनि छैन। यस प्रकारको बैंकिङ र राष्ट्र-बैंकिङले वृद्धि र विकासमा सहयोग पुर्‍याउँछ कि पुर्‍याउँदैन? विश्वविद्यालयले अध्ययन गरेर सत्य-तथ्य भन्दिनुस् न, ढिला भइसक्यो।

मेरो प्रधानमन्त्रीत्वकालमा साथीहरूको सल्लाहमा यो मर्जर एण्ड एक्विजिसनमा जाने प्रक्रिया थालियो, पछि नीतिगत तोडमोड गरेर चिज अर्कै बनेछ। झन् पो जर्जर भयो त यो क्षेत्र।

यी माथिका त प्रतिनिधि उदाहरण मात्र हुन् कसरी सुधार हुनुपर्ने ठाउँ झन्–झन् बिग्रँदै गइरहेका छन् भन्ने। सयौं सुधार गरेर हजारौं सपनाहरू पूरा गर्नुपर्नेछ। यो व्यवस्था नै फेर्नुपर्ने स्तरको समस्या भने होइन। यसबारे पनि भ्रम चिर्न जरूरी छ।

आर्थिक विकासको दिगोपन राजनीतिक दिगोपन विना सम्भव छैन। छिट्टै टीआरसी पूरा गर्नुको विकल्प हामीसँग छैन, विद्वान् मित्रहरूले लेख्नुस्, पढ्नुस् र तथ्य उजागर गरिदिनुस्, मेरो अनुरोध छ। विश्वविद्यालयले गर्नुपर्ने नै त्यही हो। संघीयताको सफल कार्यान्वयनको जगमा नै वृद्धि सम्भव छ। महिलाको श्रम सहभागिता घटेर २९ प्रतिशतमा आएको छ, जबकि बढ्नुपर्ने हो। महिला लगायतपछि परेका सबै सबैलाई श्रमको मूलप्रवाहमा जोड्नुपर्नेछ।

अर्थतन्त्रमा नयाँ आशाका किरणहरू देखिंदै छन्। जलविद्युत्, पर्यटन र सिमेन्टको निर्यात सालाखाला जीडीपीको १० प्रतिशत हुन आउने देखिन्छ। यो आफैंमा राम्रो संकेत हो। यसलाई कमसेकम १० प्रतिशत भन्दा माथि अरू २० वर्ष मात्र धान्न सके पनि वृद्धिको आधार निर्माण हुन्थ्यो। नवीकरणीय ऊर्जा र आईटी बजार विस्तारका सकारात्मक समाचारहरू आइरहेका छन्। यो चौथो प्रकृतिको औद्योगिक विकासको शुभसंकेत हो।

हामी सयौं वर्ष पछि परिसकेका छौं। हामीले त्यो काम केही दशकमा गर्नुछ। हामीले घस्रिएर हैन, उफ्रिएर त्यो लक्ष्य पूरा गर्नुछ। पहिलो, दोस्रो, तेस्रो र चौथो औद्योगिक क्रान्ति एकैसाथ सम्पन्न गर्नुछ। त्यसनिम्ति हामीले टालटुले होइन, केही गम्भीर संरचनात्मक सुधार गर्नैपर्छः

क. राजनीतिक स्थिरता निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जाने। कार्यकारी राष्ट्रपतिको मातहतमा राष्ट्रिय विकास प्राधिकरण बनाएर देशको तीव्र औद्योगीकरणको कार्ययोजना कार्यान्वयन गर्ने। कानुन, प्रशासन र न्याय प्रणालीमा आमूल सुधार गर्ने।

ख‍. आगामी दशकमा विश्वको पहिलो र तेस्रो अर्थतन्त्र बन्ने चीन र भारतको मूल्य शृङ्खलासँग तालमेल मिलाएर तीव्र औद्योगीकरण गर्ने।

ग. देशको प्रमुख स्रोत जमिनको वैज्ञानिक भूमिसुधार गर्ने र औद्योगीकरणको आधार तयार गर्ने।

घ. शिक्षा प्रणालीमा आमूल सुधार गरेर उद्यमशीलता, नवप्रवर्तन, व्यावसायिक तथा प्राविधिक शिक्षामा जोड दिने।

ङ. कडाइपूर्वक वित्तीय संघीयताको कार्यान्वयन गर्ने र केन्द्रीय दिशानिर्देश अन्तर्गत प्रेदश र स्थानीय तहलाई औद्योगीकरणका मुख्य वाहक बनाउने।

च. बैंकिङ र वित्तीय क्षेत्रको आमूल सुधार गरेर उत्पादनमूलक ठूला, मध्यम र साना उद्योग, ऊर्जा, पूर्वाधारहरूमा सहज वित्तीय व्यवस्थापनको ग्यारेन्टी गर्ने।

छ‍. वैदेशिक रोजगारीमा जाने र गैरआवासीय नेपालीहरूमा, विदेशी लगानीकर्ताहरूलाई नेपालमा औद्योगिक क्षेत्रमा लगानीका निम्ति विशेष सुविधाको व्यवस्था गर्ने।

ज. समाजमा विद्यमान अन्धविश्वास, भाग्यवाद, जातपात प्रथा, लैंगिक विभेद, फजुल खर्च विरुद्ध सामाजिक-सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने।

अनि समृद्धि सम्भव छ हाम्रै पालामा। यसमा इन्डस्ट्री-एकेडेमिया पार्टनरसिपले प्रमुख भूमिका खेल्न सक्छन्। म त अग्रिम शुभकामना भन्छु साथीहरूलाई। धन्यवाद भन्ने समयसम्म पनि बाचुँला।

०००

माथि छुस्स आएको महाभारत कथामा बर्बरीक नामका एक पात्रको प्रसंग मलाई गज्जब लाग्छ। ऊ महाबली भीमको नाति तथा घटोत्कचको छोरा थियो। ऊ यति बलशाली थियो कि मात्र १ मिनेटमा महाभारत युद्ध खत्तम गर्ने सामर्थ्य राख्थ्यो। तर ऊ कसैको पनि पक्षमा थिएन, निरपेक्ष थियो।

उसको गुरु नै उसकी आमा थिइन्। महिलाहरूको ज्ञानको कदर नभएको आज मात्र होइन। नत्र १ मिनेटमा महाभारत लडाइँ सक्ने योद्धा वा चेलो कसरी उत्पादन हुन सक्थ्यो? विश्वविद्यालयहरू आमा हुन्।

समस्या के थियो भने बर्बरिकले कमजोरको पक्षमा लड्ने कसम खाएको थियो। लडाइँमा जब पाण्डवहरू कमजोर हुनेछन् बर्बरिकको साथ पाउने भयो, त्यसले त फेरि कौरव पक्ष कमजोर पर्थ्यो र फेरि बर्बरिकको साथले कौरवपक्ष बलियो भई पाण्डवपक्ष झन् कमजोर हुनेभयो। याने कि पाण्डव-कौरव सबै सकिएर बर्बरिक मात्र बच्ने भयो। र बच्ने भए कृष्ण। राज्य यहाँ कृष्ण हुन् कि?

आमालाई यो कुरोको भेउ नहुने कुरै भएन। कसैको पक्षमा नलाग्ने कसम खाएर आमालाई त मनायो तर त्यसले कृष्णको उद्देश्य पूरा हुने भएन र कृष्णजीले षड्यन्त्रपूर्वक उसको टाउको मागे। र, उसले एक वचनमा हाँसीहाँसी टाउको कृष्णजीलाई टक्र्यायो। तर एक शर्तमा।

ऊ यो पूरा युद्ध प्रत्यक्ष हेर्न चाहन्थ्यो। कृष्णले उसको शर्त माने र उसको काटिएको टाउकोलाई पहाडको टुप्पोमा १८ दिनसम्म जीवित राखे। उसले महाभारतको युद्ध मूकदर्शक बनेर हेर्‍यो। हेर्नोस् त सबैभन्दा बलशाली योद्धा जो महाभारत युद्ध मिनेटभरमा फत्ते गर्न सक्थ्यो, जड बनेर युद्ध हेरी मात्र रह्यो!

प्रसंग हो हाम्रो विद्वत् वर्गको। के राष्ट्रिय मुद्दा, खास-खास मुद्दा, सिंङ्गो राष्ट्र र पुस्ता–दर–पुस्ता प्रभाव पार्ने मुद्दामा विद्वत् वर्गले मूकदर्शक बन्न मिल्छ? चुप बस्ने परिस्थिति बनाउन हुन्छ? कदापि हुँदैन। मेरा बर्बरिक मित्रहरू जाग्नुस्, बुझ्नुस्, उठ्नुस्! तपाईंले देश बनाउने सामर्थ्य राख्नुहुन्छ।

(डा. भट्टराईले काठमाडौं विश्वविद्यालयद्वारा आयोजित ण्डस्ट्रीएकेडेमिया डायलगमा व्यक्त विचारको सम्पादित अंश)

लेखकको बारेमा
डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री समेत रहेका लेखक नेपाल समाजवादी पार्टीका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?