+
+

मौद्रिक नीतिमा निजी क्षेत्रको माग : कोरोनाकालमा दिइएका सहुलियतलाई निरन्तरता देऊ

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २६ गते १६:५३

२६ असार, काठमाडौं । निजी क्षेत्रले कोरोना भाइरस (कोभिड-१९) महामारीको समयमा दिइएको सहुलियत आगामी मौद्रिक नीतिमा पनि निरन्तरता दिन माग गरेको छ । नेपाल राष्ट्र बैैंकले समष्टिगत आर्थिक स्थायित्वका लागि कोरोना महामारीको समयमा दिइएको सहुलियत हटाउने संकेत यसअघि गरेको थियो ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्ला दिनमा अर्थतन्त्रको बाह्य क्षेत्र संकट साथै विगतमा दिइएको मौद्रिक ‘स्टिमुलस’ को नतिजाको विश्लेषण सुनाउने गरेका छन् । यसबाट गभर्नर कसिलो मौद्रिक नीतिको पक्षमा रहेको देखिन्छ ।

तर, नेपाल उद्योग वाणिज्य महासंघले आइतबार आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी अन्तरक्रियामा उद्योगी व्यवसायीले विस्तारित मौद्रिक नीतिको माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले गभर्नरलाई अगाडि राखेर उत्पादनमुलक क्षेत्रमा कर्जा केन्द्रित गर्दा राजस्व नै प्रभावित हुने चेतावनी दिए ।

‘उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक छ, तर गैरउत्पादनमुलक क्षेत्रमा लगानी बन्द गर्ने हो भने राजस्व घट्छ । यसमा ‘व्यालेन्स’ गर्नुपर्छ, यसलाई सोचर मौद्रिक नीति आउँछ भन्ने अपेक्षा छ’ उनले भने।

नेपाल उद्योग वाणिज्य महासंघले खुलेर विस्तारिक मौद्रिक नीतिको माग गरेको छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै महासंघका महानिर्देशक गोकर्ण अवस्थीले कोभिड-१९ पछिको पुनरुत्थानमा दिएको कर्जाको पुर्नसंरचना र पुनर्तालिकीकरण सुविधा निरन्तरता दिइनुपर्ने बताए । यसका साथै साना तथा मझौला उद्यम पुनरकर्जा सुविधालाई यस आवमा पनि निरन्तरता दिइनुपर्ने उनले बताए ।

निजी क्षेत्रले स्वीकृत ऋणको प्रवाह, निजी क्षेत्रको मनोवल अभिवृद्धि एवं गतिशील अर्थतन्त्रका लागि तरलता व्यवस्थापनको अल्प र दीर्घकालीन कार्यक्रम आवश्यक भएको बताए ।

अर्थतन्त्र कठिन अवस्थामा रहेको बेला निजी क्षेत्रल भने सीडी रेसियोमा परिमार्जन, स्थानीय तहमा अनुदानका रुपमा जाने रकमलाई निक्षेपका रुपमा अल्पकालका लागि शतप्रतिशत र दीर्घकालीन रुपमा ८० प्रतिशत गणना गर्ने व्यवस्थाको निरन्तरता दिने जस्ता सहज र सरल उपाए अपनाउन माग गरेको छ । अर्थतन्त्रप्रति जवाफदेही हुनेपर्ने निजी क्षेत्र पनि सहज र सरल मौद्रिक व्यपवस्थापनको लविङमा देखिएको हो ।

कर्जाको व्याजदर एकल अंकमा राखौं

नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको व्याजदर एकल अंकमा राख्न सुझाव दिएको छ । यसमा नेपाल राष्ट्र बैंकले उपलब्ध उपकरणको प्रयोग गरी कर्जाको व्याजदर एकल अंकमा राख्न प्रयत्न गर्नुपर्ने अवस्थीले उल्लेख गरे । स्वीकृत ऋणको प्रवाह, निजी क्षेत्रको मनोवल अभिवृद्धि एवं गतिशील अर्थतन्त्रका लागि तरलता व्यवस्थापनको अल्प र दीर्घकालीन कार्यक्रम आवश्यक रहेको महासंघले दिएको सुझावमा उल्लेख छ ।

स्थानीय तहमा अनुदानका रुपमा जाने रकमलाई निकायका रुपमा ८० प्रतिशतसम्म गणना गर्ने व्यवस्थाको निरन्तरताको माग समेत महासंघले उल्लेख गरेको छ ।

यस्तो छ मौद्रिक नीतिमा महासंघको माग

  • बैंकिग माध्यमबाहिरको रकम आकर्षित गर्न आकर्षक प्याकेजका लागि वित्तीय क्षेत्रलाई प्रोत्साहन र नीतिगत निर्णय
  • सरकारको पैसा निजी क्षेत्रमा प्रवाह हुने उपकरण
  • गैरआवासीय नेपाली लगायत अन्य विदेशीको निक्षेप आकर्षण गर्न थप प्रोत्साहन कार्यक्रम
  • सरकारको नीति तथा कार्यक्रममा समावेश भइसकेको कन्ट्रि रेटिङ तत्काल गरिनुपर्ने
  • निजी क्षेत्र तथा बैंकहरुले विदेशबाट ऋण लिन को लागि प्रोत्साहन गरिनुपर्ने । यसको ब्याज आधा घटाउनुपर्ने
  • वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गरिनुपर्ने ।
  • स्मार्ट रेमिट्यान्स कार्डको अवधारणा : वैदेशिक रोजगारमा रहेका व्यक्तिको आश्रित परिवारको कुनै एक जना सदस्यलाई सहुलियत कर्जा प्रदान गर्न सकिने व्यवस्था गर्ने ।
  • रेमिट्यान्स आकर्षित गर्न स्मार्ट कार्डमा अन्य सुविधा थप गर्न बैंक वित्तीय संस्थाहरुलाई प्रोत्साहन गर्ने ।
  • एक प्रतिशत थप व्याज दिने प्रोत्साहन व्यवस्थाको सदुपयोग भए नभएको अनुगमन गरिनुपर्ने ।
  • निर्यात परिमाण र मूल्य अभिवृद्धिको आधारमा निर्यात नगद प्रोत्साहनका साथै भुक्तानी प्रक्रिया सहज गरिनुर्ने ।
  • आयात प्रतिस्थापन गर्न सकिने वस्तु उत्पादन गर्ने उद्योगलाई पुनरकर्जा सुविधा दिनुपर्ने ।
  • आयात प्रतिबन्ध तथा शतप्रतिशत मार्जिन राख्नुपर्ने वस्तुहरुको सूची बढदै जाँदा यसले चोरी पैठारीलाई प्रश्रय दिइरहेको छ । यसको वैज्ञानिक तवरबाट पुनरमूल्यांकन गरिनुपर्ने । नगद भारतीय रुपैयाँको अभाव हुन सक्ने र अवैध विनिमय दर कायम हुन सक्ने ।
  • आव २०७९/८० को बजेट वक्तव्यमा उल्लेखित परियोजनाको आधारमा कर्जा उपलब्ध गराइने व्यवस्थाको यथाशिघ्र कार्यविधि बनाई कार्यान्वयन गरिनुपर्ने । परियोजना कर्जा सम्भाव्यता बारे महासंघले यसअघि नै अध्ययन प्रतिवेदन बुझाइसकेको छ ।
  • सरकारको बजेट वक्तव्यमा उल्लेख भएको उत्पादनमूलक उद्योगलाई अन्य व्यवसाय भन्दा कम व्याजदरमा कर्जा प्रवाह गरिने व्यवस्थालाई कार्यविधि बनाइ तत्काल लागू गरिनुपर्ने । कम्तिमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने ।

निजी क्षेत्र प्रवर्द्धन

  • व्यवसाय ठप्प भएको कारण ऋणात्मक भएको वासलात मान्य हुने सुविधा । यसमा वित्तीय संस्थाको व्याज प्रिमियममा रहने गुनासो आइरहेको हुँदा व्यवस्थापन गर्नुपर्ने
  • आधार दर र प्रिमियम दुवै बढ्दा साना मझौला व्यवसायी प्रभावित
  • प्रस्तावित वासलात र धितोको आधारमा ऋण प्रवाहका साथै आवश्यकता अनुसार चालु पूँजीको लागि पनि ऋण प्रवाह गरिनुपर्ने
  • पर्यटनसँग सम्बन्धित उद्योग तथा व्यवसायको सहजता एवं प्रवर्द्धनका लागि अनलाइन गेट वे पेमेन्ट तत्काल लागू गराउनु पर्ने
  • सेयर धितो कर्जामा गत वर्षदेखि लगाइएको सीमा हटाउनुपर्ने
  • बैंकिङ प्रणालीका प्रक्रिया सरल बनाई कागजातमा एकरुपता ल्याउनु पर्ने । ‘प्रमोजरी नोट’ भइसके पछि तमसुकको आवश्यता पर्न नहुने
  • विदेशी मुद्रामा कारोबार गर्ने पर्यटन व्यवसायमा पनि नगद प्रोत्साहन सुविधा दिइनु पर्ने
  • सुनचाँदी व्यवसायीहरुले एउटै बैंकको खाताबाट भुक्तानी गरी सबै बैंकमा सुन खरिद गर्न सकिने व्यवस्था गरिनुपर्ने ।
  • उद्योगले तेस्रो मुलुकबाट लिएको सेवाको भुक्तानीको लागि कुनै छुट्टै व्यवस्था नभएको । (विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली मात्र छ)
  • क्रेडिट रेटिङ्गको हालको सिमा रु. ५० करोडबाट वृद्धि गरी रु. १ अर्ब ५० करोड पुर्‍याइनुपर्ने । प्राप्त रेटिङको आधारमा व्याजदर लगायतमा सहुलियतको प्रत्याभूति हुनुपर्ने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?