
२६ असार, काठमाडौं । श्रीलंकाली क्रिकेट टिमका पूर्व कप्तान सनथ जयसूर्याले देशको उद्देश्य असक्षम नेतालाई हटाउने रहेको बताएका छन् ।
देश आर्थिक संकटमा फसेपछि प्रदर्शनमा उत्रिएका नागरिकलाई साथ दिँदै सडकमा निस्किएका जयसूर्याले सामूहिक तस्वीर ट्वीट गर्दै लेखेका छन्, ‘म सधैं श्रीलंकाली नागरिकको पक्षमा छु, हामीले छिट्टै जीतको उत्सव मनाउने छौं । यसका लागि हिंसालाई टाढा राख्नु पर्छ ।’
उनले आफूले जिन्दगीमा पहिलो पल्ट देशका नागरिक एकजुट भएको देखेको भन्दै उनले अर्को ट्वीट गरेका छन्, ‘मैले पूरा जिन्दगीमा देशको यसरी एकजुट भएको देखेको थिइनँ, जसको एउटा उद्देश्य छ, असक्षम नेतालाई हटाउनु, तपाईँहरुको निवासमा लेखिएको छ कृपया शान्तिसँग जानुहोस् ।’
प्रदर्शनकारीलाई साथ दिने र राष्ट्रपति गोटाबाया राजपाक्षेको विरोधमा बोल्ने उनी एक्लो पूर्व क्रिकेटर होइनन् । पूर्व कप्तान कुमारा सांगाकारा, महेला जयवर्द्धनलेलगायतका क्रिकेटरले पनि प्रदर्शनको पक्षमा बोलेका छन् ।
देश आर्थिक संटकमा परेपछि श्रीलंकमा प्रदर्शन चर्किएको छ । नागरिकले शनिबार राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको निवासमा कब्जा जमाएका थिए ।
प्रतिक्रिया 4