+
+

वन्यजन्तुको व्यवसायीकरण : सफल होला त सरकार ?

व्यावसायिक रूपमा गरिने वन्यजन्तु पालनका धेरै जोखिम र थोरै फाइदा छन् । तसर्थ यसरी वन्यजन्तु पालन गर्दा सीमित उद्देश्यका लागि र गम्भीर ध्यान दिएर मात्रै गर्नुपर्ने देखिन्छ ।

दुर्गा कँडेल दुर्गा कँडेल
२०७९ असार २७ गते १२:४६

व्यावसायिक रूपमा वन्यजन्तु पालन गर्न पाइने नियम कानुन सरकारले पारित गरेपछि यसमा इच्छा देखाउने व्यक्तिहरू दिनानुदिन बढेका छन् । वन्यजन्तु पालन आजको बहसको विषय बनेको छ । नेपाल सरकारले हालै व्यावसायिक रूपमा वन्यजन्तु पालनलाई वैधानिकता दिएपछि यस विषयमा जनताको चासो बढ्नु स्वाभाविक पनि हो । भोलिको दिनमा यसको नतिजा राम्रो आउला या नआउला आफ्नै ठाउँमा छ, तर आज यस विषयलाई लिएर टीकाटिप्पणी गर्नेहरूले बजार तताएको देखिन्छ । हालै नेपाल सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन र नियमावलीलाई वैधानिकता दिन पाँचौं संशोधन पारित गरेको छ ।

नयाँ कानुनी प्रावधान

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, १९७३ को दफा १५ ले वन्यजन्तुको अनुसन्धान, प्रजनन र पालनपोषणको व्यवस्था गरेको छ । वन्यजन्तुको व्यावसायिक रूपमा पालन तथा प्रजनन गर्न चाहने व्यक्ति वा संस्थाले पूर्व अनुमति लिनुपर्नेछ । यस्तो कार्यले वन्यजन्तुको संरक्षण, प्रवर्द्धन र दिगो प्रयोगमा जोड दिन्छ भने मात्र अनुमति दिइनेछ । त्यस्ता उद्देश्यका लागि आवश्यक पर्ने बीउ जनावरहरू केही मूल्य तोकी नेपाल सरकारले दिने व्यवस्था गरिएको छ । व्यावसायिक रूपमा उत्पादन भएका वन्यजन्तु, तिनका ट्रफी र ट्रफीबाट उत्पादित वस्तुलाई विदेशी राष्ट्रमा प्रयोग, बिक्री र निर्यात गर्न पाइने नियम रहेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, १९७४ को अनुसूची १६ मा उल्लेखित वन्यजन्तुको व्यावसायिक रूपमा पालन तथा प्रजनन गर्न चाहने व्यक्ति वा संस्थाले व्यावसायिक योजना तथा अनुसूची १७ बमोजिमको विस्तृत कार्ययोजना तयार गरी विभागसमक्ष निवेदन दिनुपर्नेछ । प्राविधिक समितिले त्यस्ता योजनाहरूको जाँचबुझ तथा मूल्यांकन गर्दछ र मन्त्रालयले स्वीकृत गरेको मापदण्ड बमोजिम भएको देखिएमा मात्र विभागले त्यसका लागि इजाजतपत्र जारी गर्ने वा नगर्ने भन्ने अन्तिम निर्णय गर्दछ ।

विभागले विदेशी राष्ट्रबाट लोपोन्मुख बाहेक अन्य वन्यजन्तु आयात गर्न पनि अनुमति दिनेछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली (पाँचौं संशोधन) १९७४ को अनुसूची १६ मा उल्लेख गरिएको व्यावसायिक रूपमा पालन गर्न सकिने वन्यजन्तु स्तनधारीतर्फ कस्तूरी, मृग (संरक्षित), जरायो, चित्तल, लगुना, रतुवा, नीलगाई, खरायो, दुम्सी, बँदेल रहेका छन् । त्यस्तै सरीसृपका अजिङ्गर बाहेक सबै प्रजाति, उभयचरतर्फ भ्यागुता र कछुवा पालन गर्न पाइने व्यवस्था रहेको छ । त्यसैगरी पक्षीतर्फ मयूर, कालिज, लुइँचे, वनकुखुरा, बट्टाई, च्याखुरा, तित्रा, पिउरा, ढुकुर, मैना, सुगा, लखान आदि रहेको छ । सोही अनुसूचीमा वन्यजन्तु पालन तथा प्रजनन गर्दा लाग्ने अनुमति दस्तुर र बीउ बापतको दस्तुर पनि उल्लेख गरिएको छ । जसमा कस्तूरी मृगको अनुमति दस्तुर रु.१ लाख र बीउ बापतको दस्तुर रुपैयाँ ७५ हजार रहेको छ । त्यसैगरी पक्षीको दस्तुर रुपैयाँ २५ हजारदेखि १ लाखसम्म तोकिएको छ ।

अनुमतिपत्र प्राप्त गरी व्यावसायिक रूपमा वन्यजन्तुको पालन तथा प्रजनन गरेपछि तिनको उपयोग, बिक्री-वितरण वा निकासी गरिएको विवरण मासिक रूपमा विभागसमक्ष पेश गर्नुपर्नेछ ।

फाइदा

  • सरकारी अधिकारीहरूका अनुसार व्यावसायिक रूपमा गरिने वन्यजन्तु पालनले लोेपोन्मुख प्रजातिहरूलाई शिकारीबाट बचाउन सक्ने र तिनको संख्यामा सकारात्मक वृद्धि गर्न सकिन्छ । वन्यजन्तु पाल्न दिइँदा व्यापारीहरूले कानुनी माध्यमबाट वन्यजन्तुको ट्रफी किन्ने र शिकारीबाट पशुजन्य वस्तु खरिद गर्न छोड्ने विश्वास गरिएको छ ।
  • नेपालमा शिकारीहरूले प्रायः वयस्क भाले कस्तूरीलाई मार्छन् । कस्तूरीको नाभिबाट उच्च गुणस्तरको अत्तर तयार गरिने भएकोले यसको संसारभरि नै उच्च माग छ । तसर्थ हिमालयन कस्तूरीको वैधानिक खेतीले यसको शिकार कम गर्छ र प्राकृतिक वासस्थानमा संख्या बढाउन मद्दत पुग्छ । (सरकारले हिमालयन कस्तूरीको व्यावसायिक खेतीलाई अनुमति दिने योजना गरिरहेको छ ।)
  • धविश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार नेपालमा बर्सेनि २० हजार मानिसलाई सर्पले टोक्छ र १ हजार जनाको मृत्यु हुने गरेको पाइएको छ । एन्टिभेनमका लागि नेपाल भारतमा निर्भर छ । त्यसैले सर्पको व्यावसायिक पालनले एन्टिभेनमका लागि भारतमाथिको नेपालको निर्भरता कम गर्नेछ ।
  • वन्यजन्तुको व्यावसायिक पालनले आम्दानीका स्रोतहरू बढ्नेछन् र धेरै मात्रामा रोजगारको अवसर सिर्जना हुने देखिन्छ ।

नकारात्मक नतिजा

  • धेरै इकोलोजिस्टहरूका अनुसार जंगली जनावरलाई व्यावसायिक रूपमा पालन गर्दा उनीहरूको पारिस्थितिक मूल्यमा ह्रास आउँछ । हुन पनि हो, सिनो खाने गिद्ध, पाउरोटी र अन्नबाली खाने हरिणले पारिस्थितिकीय प्रणालीमा कुनै फाइदा गर्दैनन् ।
  • वन्यजन्तु पालनलाई व्यवसायीकरण गर्नुपर्छ भन्ने समर्थकहरूले यसबाट शिकारी र अवैध व्यापार नियन्त्रण हुन्छ भनी दाबी गरे पनि वन्यजन्तु पालनलाई कानुनी मान्यता दिएका मुलुकमा अझै पनि वन्यजन्तुको अवैध शिकारमा कमी आएको देखिएको छैन ।
  • नियामक बलियो नभएको र जिम्मेवार निकायहरूको समयमै ध्यानाकर्षण हुन नसकेको खण्डमा वन्यजन्तु व्यापारीले भ्रम सिर्जना गरी अवैध रूपमा प्राप्त वन्यजन्तु ट्रफी तथा ओखेटोपहार उनीहरूकै उत्पादनका रूपमा दाबी गर्न सक्ने सम्भावना प्रबल देखिन्छन् ।
  • मासुजस्ता पशुजन्य उत्पादन लिनको लागि गरिने वन्यजन्तु खेती दिगो हुँदैन । हामीसँग वन्यजन्तुको मासुको लागि अझै पनि आधुनिक बधशाला छैन । हाम्रो देशमा महँगो मासु उत्पादनको लागि बजार पाउन एकदमै कठिन छ ।
  • यदि व्यावसायिक रूपमा पालन गरिएका वन्यजन्तुद्वारा कसैको सम्पत्ति नष्ट गर्‍यो वा तेस्रो व्यक्तिलाई हानि पुर्‍यायो भने हामीसँग त्यो क्षतिको लागि मालिकलाई जिम्मेवार बनाउने स्पष्ट कानुन छैन ।
  • सरकारले वन्यजन्तु पालन नीति खुला गरिदिए पनि वन्यजन्तुको हितको ग्यारेन्टी गर्ने कानुनी आदेश जारी गरेको छैन । व्यावसायिक रूपमा वन्यजन्तु पालन गर्दा तिनीहरूको स्याहारसुसार, खानपान र हृयान्डल कसरी गर्ने भन्ने जानकारी कसैलाई पनि छैन र सम्बन्धित व्यवसायको लागि चाहिने प्रशिक्षणको व्यवस्था नगरिएको हुँदा जनावरहरू विरुद्ध दुव्र्यवहार र क्रूरता हुनसक्ने सम्भावना देखिन्छ ।
  • भर्खर मात्र हामी कोरोनाको महामारीबाट बाहिर निस्किएका छौं । जुन भाइरस चमेरोबाट सरेको भन्ने भनाइहरू सुन्नमा पनि आए । त्यसैले वन्यजन्तुको व्यावसायिक रूपमा पालन गर्दा सरुवा रोगको उच्च सम्भावना देखिन्छ । रोग र उपचार विधि पहिचान गर्न गाह्रो भएकाले यो समस्या एउटा ठूलै चुनौतीको रूपमा रहेको छ ।
  • अनुमतिपत्र पाइसकेपछि यदि मालिकले त्यो अनुमतिपत्र खारेज गर्न चाहेमा वा बीचमा गएर व्यवसाय छोडेमा ती वन्यजन्तुको जिम्मा कसले लिने ? हेरचाह कसले गर्ने ? तिनको व्यवस्थापनको मोडालिटी के हुने ? कतिपय यस्ता प्रश्नहरूको जवाफ नै छैन । धेरैजसो अवस्थामा पशुपालन गर्न सजिलो हुन्छ तर एकपटक घरपालुवा गरेपछि ती वन्यजन्तुलाई जङ्गलमा फर्काउन निकै गाह्रो हुन्छ ।

उदाहरणका लागि, २००३ मा नेपाल नेचुरल हिस्ट्री सोसाइटीले बाँदरहरूलाई अमेरिकास्थित राष्ट्रिय प्राइमेट सेन्टरमा परिक्षणका लागि निर्यात गर्ने उद्देश्यले बन्दी बनाएको या भनौं व्यावसायिक रूपमा पालन गरेको थियो । पछि सरकारले प्रतिबन्ध लगाएपछि शिवपुरी र गोदावरी जङ्गलमा बाँदर छोडियो तर केही साता र महिनामै जङ्गलमा खाना खोज्न नसक्दा धेरैको मृत्यु भयो ।

समग्रमा व्यावसायिक रूपमा गरिने वन्यजन्तु पालनका धेरै जोखिम र थोरै फाइदा छन् । तसर्थ यसरी वन्यजन्तु पालन गर्दा सीमित उद्देश्यका लागि र गम्भीर ध्यान दिएर मात्रै गर्नुपर्ने देखिन्छ । जहाँ चिकित्सा आवश्यकता जस्तै एन्टिभेनम र अन्य आवश्यक औषधि उत्पादन गर्नको लागि वन्यजन्तु पालन एउटा राम्रो अवसर र आम्दानीको स्रोत बन्न सक्छ ।

तर वन्यजन्तु पालनलाई नयाँ किसिमको मासु उत्पादन गर्ने, विलासिताका सुविधा उत्पादन गर्ने र वन्यजन्तुको ट्रफी प्राप्त गर्ने जस्ता उद्देश्यका लागि वन्यजन्तुको व्यवसायीकरण गर्ने कुरालाई अझै पनि राम्ररी समीक्षा गर्नुपर्ने देखिन्छ ।

प्रकृति र वन्यजन्तुहरूसँग व्यवहार गर्दा, हामीले वातावरणीय दिगोपन र मानव आर्थिक र अन्य आवश्यकताहरूलाई सन्तुलनमा राख्न सक्षम हुनैपर्छ ।

(कँडेल वनविज्ञान क्याम्पस पोखराबाट स्नातकोत्तर गरिरहेकी छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?