+
+

लिग टु क्रिकेट : नेपालको ब्याटिङ चलेन, नामिबियासँग ४० रनले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २८ गते ६:३०

२८ असार, काठमाडौं । ब्याटिङमा फेरि कमजोर प्रदर्शन हुँदा आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा भइरहेको शृंखलामा नेपाल सोमबार नामिबियासँग ४० रनले पराजित भएको छ ।

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो ।

यस जितपछि नामिबयाले अंकतालिकामा नेपाललाई पछि पारेको छ । नामिबिया १६ खेलबाट १६ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ । १७ खेलबाट १५ अंक रहेको नेपाल छैटौं स्थानमा झरेको छ । नेपालले बुधबार घरेलु टोली स्कटल्याण्डसँग खेल्नेछ ।

आरिफ शेखले संयमित भएर खेल्दै अविजित ५० रन बनाए पनि गतिलो साथ नपाउँदा र साझेदारी नबन्दा नेपाल लक्ष्यसम्म पुग्न सकेन । छैटौं नम्बरमा ब्याटिङ गरेका आरिफले ८४ बल खेल्दै २ चौका प्रहार गरे । देव खनालले ३४ र कुशल भुर्तेलले २७ रन जोडे । मिडलर अर्डर र लोअर अर्डरमा आरिफ बाहेक कसैले पनि व्यक्तिगत २० रन बनाउन सकेनन् । करण केसीले ११ बलमा १९ रन जोडेका थिए ।

नामिबियाका लागि डेभिड विजा, बर्नार्ड स्कोल्ट्स र जान फ्रांकलिनले २-२ विकेट लिए ।

त्यसअघि कम्बुसडुन न्यु ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबयाले ४७.३ ओभरमा सबै विकेट गुमाएर २२० रनमा अलआउट भएको थियो । उसका लागि जान निकोल लाफ्टी एटनले सर्वाधिक ६० रन बनाए । डिभान ला कुकुले ४१ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ५४ रन खर्चिए । यस्तै सोमपाल कामीले २ तथा करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यसै खेलबाट एक दिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका वसिर अहमदले किफायती बलिङ गर्दै ७.३ ओभरमा १८ रन मात्र खर्चिएर १ विकेट लिए । आरिफ शेखले क्रेग विलियम्सलाई डाइरेक्ट हिटमार्फत रनआउट गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?