+
+

पुबुदुको बिर्सनलायक दोस्रो कार्यकाल : विश्वकप न टिममा एकता

क्रिकेट टिममा देखिएको दरार मेटेर २०२२ को अन्त्यतिर अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई छनोट गराउने उनको जिम्मेवारी थियो । टी–२० विश्वकपमा नेपाललाई दोस्रो पटक छनोट गराउने उनको लक्ष्य पूरा भएन र लिग टु मा पनि नेपालको प्रदर्शन झन् कमजोर देखियो ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन ४ गते २०:०५
राजीनामाको घोषणा गर्दै पुबुदु । तस्वीर : बिकास श्रेष्ठ/अनलाइनखबर

४ साउन, काठमाडौं । दोस्रो पटक नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा पुबुदु दाशानायकेसामू दुई चुनौती थिए; राष्ट्रिय टिमलाई एकतावद्ध बनाउने र नेपाललाई टी–२० विश्वकपमा छनोट गराउने ।

२०११ देखि नेपालको प्रशिक्षक रहेका उनले सन् २०१४ मा नेपाललाई पहिलो पटक टी–२० विश्वकपमा पुर्‍याएका थिए । त्यसैले उनी फेरि प्रशिक्षक भएर फर्किँदा टी–२० विश्वकप पुग्ने अपेक्षा राख्नु अस्वभाविक थिएन ।

तर उनको नियुक्त यस्तो बेलामा भएको थियो, जतिबेला नेपाली टोलीमा दुई धार देखिएको थियो । नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित चार खेलाडीलाई अनुशासनको कारबाही गरेको थियो ।

क्यानको कारबाहीप्रति असन्तुष्ट केही खेलाडीले बन्द प्रशिक्षणमा सहभागी हुन इन्कार गरे ।केही खेलाडी भने कप्तान सन्दीप लामिछानेको नेतृत्वमा प्रशिक्षणमा गएका थिए । टिममा देखिएको यो दरार मेटेर २०२२ को अन्त्यतिर अष्ट्रेलियामा हुने टी–२० विश्वकपमा नेपाललाई छनोट गराउने उनको जिम्मेवारी थियो ।

ग्लोबल क्वालिफायरमा युएईसँग सेमिफाइनलमा पराजित भएपछि नेपाल टी–२० विश्वकपमा छनोट हुन सकेन । टिममा देखिएको मतभेद पनि पूर्ण रुपमा हल हुन सकेन ।

एकदिवशीय विश्वकपको रोडम्यापको रुपमा रहेको क्रिकेट विश्वकप लिग टु मा पनि नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन । स्कटल्याण्डमा भएको नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित श्रृंखला सकेर नेपाल फर्के लगत्तै पुबुदुले राजीनामा घोषणा गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले घर परिवारलाई समय दिन नसकेकाले जिम्मेवारी छाड्न लागेको बताए । ‘यो मेरो प्रशिक्षण करियरकै सबैभन्दा कठिन रह्यो,’ भावुक देखिएका पुबुदुले भने, ‘मेरो व्यक्तिगत कारणले राजीनामा दिएको हो । मैले अहिले निर्णय गरिनँ भने पछि पछुताउनुपर्ने हुन्छ ।’

तर यसको केहीबेरमै क्रिकेट क्यानडाले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको सार्वजनिक गर्‍यो ।

पुबुदुको कार्यकालमा नेपालको प्रदर्शन

मैदान गरेको प्रदर्शनका आधारमा भन्ने हो भने पुवुदुको दोस्रो कार्यकालमा नेपालले एउटा त्रिकोणात्मक टी–२० शृंखला र जिम्बावे ए टोली विरुद्धको अनअफिसियल टी–२० शृंखला जित्यो । टी–२० विश्वकपमा नेपाललाई दोस्रो पटक छनोट गराउने उनको लक्ष्य पूरा भएन र लिग टु मा पनि नेपालको प्रदर्शन झन् कमजोर देखियो ।

पुबुदुको कार्यकालमा लिग २ का तीन शृखंला खेल्यो नेपालले । कूल १२ खेल खेल्दा ४ खेल मात्र जितेको नेपालले ७ खेलमा हार बेहोर्‍यो । एक खेल बराबरी भएको थियो ।

नेपालले जित्न सक्ने अवस्थामा हुँदाहुँदै केही खेल हारेको थियो । विशेष गरी युएईमा भएको लिग टु मा युएई विरुद्ध दुई खेल, अमेरिकामा भएको लिग टु को पनि दुई खेल (अमेरिका र ओमानविरुद्ध) र स्कटल्याण्डमा भएको लिग टु मा नामिबियाविरुद्ध दुई खेल जित्ने सम्भावना भए पनि कमजोर ब्याटिङका कारण गुमाउन पुग्यो ।

आक्रमक जस्तो देखिएको नेपाली ब्याटिङ पुबुदुको समयमा डिफेन्सिभ जस्तो बन्यो । जसले गर्दा टी–२० विश्वकप छनोटदेखि लिग टुसम्म नेपाल निर्णायक क्षणमा चुक्न पुग्यो ।

गत फेब्रुअरीमा ओमानमा भएको टी–२० विश्वकप छनोटमा नेपालले कूल पाँच खेल खेल्दा चार खेल जित्यो । तर युएई विरुद्ध जित्नैपर्ने सेमिफाइनल खेल हार्दा विश्वकपमा छनोट हुन सकेन । नेपालले समूह चरणमा ओमान, क्यानडा र फिलिपिन्सलाई हराएको थियो । तेस्रो स्थानको लागि भएको खेलमा पनि ओमानलाई हरायो ।

युएईमा भएको लिग टु मा पपुवा न्युगिनी (पीएनजी) लाई दुबै खेलमा हराएको नेपाल घरेलु मैदानमा भने पीएनजी विरुद्धको एकदिवशीय शृंखलाका दुवै खेलमा पराजित भयो । त्यसपछि पीएनजी र मलेसिया सम्मिलित टी–२० शृंखलाको उपाधि जित्यो । त्यसपछि नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बावेको ए टोलीसँग घरेलु मैदानमा खेल्दा तीन खेलको टी–२० शृंखला १–१ को बराबरीमा सकिएको थियो भने एकदिवशीय शृंखला २–१ ले जितेको थियो ।

अनुभवको कमी, तर भविश्य राम्रो

पुबुदुको प्रशिक्षणमा रहेको टिममा अधिकांश युवा खेलाडीहरु थिए । कप्तान सन्दीप भर्खर २१ वर्षका भए । नेपाली टिमले अहिले अनुभव कमी हुँदा नतिजा निकाल्न नसकेको पुबुदु बताउँछन् ।

तर नेपाली टोलीको भविश्य भने राम्रो भएको उनले बताए । ‘अमेरिका टुरमा राम्रो खेल्यौं, तर अनुभव नहुँदा दुई खेल गुमायौँ । स्कटल्याण्डमा खेल्दा कन्डिसन फरक थियो’, पुबुदुले भने, ‘अबको ८ देखि १२ महिनामा नेपाल एसोसिएट राष्ट्रको उत्कृष्ट टिम बन्नसक्छ ।’

अघि भने, ‘दुर्भाग्यवश म टिमसँग हुन सकिनँ । निरन्तरता दिन नसकेकोमा दुःखी छु । खुशी पनि छु किनकी नेपाली क्रिकेट सही ट्रयाकमा छ र केही वर्षमा राम्रो हुनेछ ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?