+
+

निर्मला पन्त प्रकरण : न्यायको पर्खाइमै बित्यो चार वर्ष

दुर्गादेवी भन्छिन् - न्याय पाउने आशा मरिसक्यो

जनक विष्ट जनक विष्ट
२०७९ साउन ११ गते २०:१८
निर्मला पन्तको फोटो बोकेकी उनकी आमा । फाइल तस्वीर

११ साउन, धनगढी ।  केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अपराधीलाई संरक्षण गरेको आरोप लागेपछि कञ्चपुरकी निर्मला पन्तकी आमा दुर्गादेवीलाई हो कि जस्तै लागेको थियो ।

नेपाली कांग्रेसका सभापति समेत रहेका शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दुर्गादेवीले भनेकी थिइन्, ‘उहाँ (देउवा)ले मलाई भेटेरै निर्मलालाई जसरी पनि न्याय दिलाएर छाड्छौं भन्नुभएको थियो । अब त उहाँ नै सरकारमा हुनुहुन्छ, निर्मलालाई न्याय दिन्छ कि भन्ने आशा पलाएको छ ।’

एक वर्षअघि निर्मलाले न्याय पाउलिन् कि भन्ने आशा जागे पनि दुर्गादेवीलाई अब भने नयाँ सरकारबाट पनि छोरीले न्याय पाउने आशा छैन । भन्छिन्, ‘आफ्नै ठाउँका मान्छे प्रधानमन्त्री भएपछि उहाँमा झिनो आशा थियो तर तर पदमा पुगेको एक वर्ष बितिसक्दा पनि छोरीले न्याय पाउने कुनै छाँटकाँट छैन । अब त आशा मरिसक्यो ।’

चार वर्षदेखि न्याय पाउने आशामा बसेको निर्मलाको परिवारले प्रहरीका हाकिम मात्र नभएर देशकै प्रधानमन्त्री फेरिएको वर्ष दिन नाघ्दा समेत कुनै प्रगति नभएपछि न्यायको आशा मारिसकेको छ । अधिकारकर्मी मीना भण्डारी पनि तत्कालीन समयमा प्रतिपक्षमा रहेका शेरबहादुर देउवा स्वयंम प्रधानमन्त्री भइसकेपछि निर्मला प्रकरणका दोषी पत्ता लगाउन नसक्नु दुःखद भएको बताउँछिन् ।

‘हिजो उहाँ (देउवा) ले प्रतिपक्षमा हुँदा तत्कालीन सरकारले न्याय नै दिन नचाहेको भन्ने कुरा गर्नुभएको थियो, तर आज उहाँ स्वयंम देशको कार्यकारी हुनुहुन्छ । निर्मलालाई न्याय दिन उहाँले किन सक्नुभएको छैन,’ भण्डारीले अनलाइनखबरसँग भनिन्, ‘अझै केही बिग्रिएको छैन । बलात्कारपछि निर्मलाको हत्या गर्ने अपराधीलाई कानूनको कठघरामा उभ्याउन सरकारले अठोट गर्नुपर्छ ।’

२०७५ सालको फागुनतिर प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा हुँदा उनलाई भेट्दै देउवाले भनेका थिए, ‘निर्मलाको न्यायका लागि हामी सरकारलाई दबाब दिन्छौं । यस्तो जघन्य अपराध गर्ने व्यक्तिलाई कुनै पनि हालतमा छाड्नु हुँदैन् । हामी हत्यारा पत्ता लाग्नुपर्छ भन्ने पक्षमा उभिएका छौं ।’ तर घटना भएको तीन वर्षपछि दबाब दिने ठाउँबाट न्याय दिने ठाउँमा पुगेका देउवाले प्रधानमन्त्री भएपछि भने यो प्रकरणबारे मुख समेत खोलेका छैनन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीय निर्मला पन्त ११ साउन २०७५ मा उखुबारीमा मृत भेटिएकी थिइन् । अघिल्लो दिन १० साउनमा गृहकार्य गर्न भन्दै साथीको घर गएका बेला निर्मला हराएकी थिइन् ।

निर्मलाको परिवार र अधिकारकर्मीले न्याय माग्दै हिँडेको पनि ठीक चार वर्ष पुग्यो । तर अहिलेसम्म दोषीको पहिचान भएको छैन । ‘अपराधी पत्ता लगाइदिनुस् भन्दै राज्यसँग हारगुहार गर्दागर्दै आज चार वर्ष भइसक्यो । तर खै कहिले पत्ता लाग्ने हो । अब त आशा नै मरिसक्यो,’ आमा दुर्गादेवीले अनलाइनखबरसँग भनिन् ।

चार वर्षदेखि सीआईबीको टोली कञ्चनपुरमै, तर प्रगति शून्य

अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको निर्मला हत्या प्रकरण नेपाल प्रहरीको इतिहासमै सबैभन्दा धेरै प्राथमिकतामा परेको पहिलो घटना भएको अधिकारीहरु बताउँछन् । तर पनि तीन वर्षसम्म घटनाको वास्तविकता बाहिर ल्याउन प्रहरी सफल हुन सकेको छैन ।

घटनाको अनुसन्धानका लागि चार वर्षदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोली खटाइएको छ । प्रहरी नायब उपरीक्षक(डीएसपी) को नेतृत्वमा खटिएको टोली विगत चार वर्षदेखि कञ्चनपुरमै छ, तर अनुसन्धान प्रगति भने शून्यमै छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाह घटनालाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान भइरहेको बताउँछन् ।

उनकाअनुसार अहिले पनि शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम चलिरहेको छ तर संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । शंकास्पद १०४ जनाको डीएनए परीक्षण गरेको प्रहरीले पछिल्लो ६ महिनामा मात्र थप तीन जनाको डीएनए परीक्षणका लागि पठाएको छ, तर हालसम्म रिर्पोट प्राप्त हुन नसकेको शाहले बताए ।

धेरै व्यक्तिलाई त बोलाएका बेला हाजिर हुने शर्तमा कागज गरेर छाडिएको छ । ‘अपराधको अनुसन्धान दौड जस्तै ठीक यति नै किलोमिटर पार गर्नुपर्ने छ अहिले यति पार गरियो भन्ने हुँदैन,’ शाहले अनलाइनखबरसँग भने, ‘हामीले प्रमाणका आधारमा संलग्न व्यक्तिको पहिचान गर्ने हो तर अहिलेसम्म अनुसन्धान गरिएका कुनै पनि व्यक्ति घटनामा संलग्न भएको आधार पुष्टि हुने प्रमाण भेटिएका छैनन् ।’

अहिले त्यो क्षेत्रमा तत्कालीन समयमा मजदुरका रुपमा काम गर्ने व्यक्ति र लागुऔषध प्रयोगताकर्ताहरुलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यस्तो थियो घटना

साउन १० गते दिउँसोको समयमा साथी रोशनीको घरमा गृहकार्य गर्छु भन्दै गएकी निर्मला घर फर्किनन् । अबेर साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु भयो । भोलिपल्ट बिहान भीमदत्त नगरपालिका–१८ र २ को सीमा नजिकैको उखुबारीमा उनी मृत भेटिइन् । शवको प्रकृति र शव परीक्षण रिर्पोटपछि निर्मलाको बलात्कारपछि हत्या देखिएपछि सोहीअनुसार अनुसन्धान गरियो ।

२०७५ को भदौ ४ गते प्रहरीले निर्मलाको बलात्कारपछि हत्या गरेको भन्दै दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । मानसिक अवस्थासमेत ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि वास्तविक हत्यारा बचाउन नक्कली खडा गरेको भन्दै कञ्चनपुर प्रहरीविरुद्ध आन्दोलन चर्कियो ।

आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले चलाएको गोली लागेर भीमदत्त नगरपालिका–१८ का १४ वर्षीय सन्नी खुनाको ज्यान गयो भने एक दर्जन बढी घाइते भए । सोही क्रममा दिलीपको डीएनए नमिलेपछि उनी छुटे ।

कञ्चनपुर प्रहरीले अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेका जस्ता आरोपमा तत्कालीन प्रमुख प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदिशप्रसाद भट्ट बर्खास्तसमेत भए ।

गृह मन्त्रालयले अनुसन्धानमा खटिएका सीआईबीका तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालयका तत्कालीन डीएएसपी ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी नायब निरीक्षक रामसिंह धामी, हरीसिंह धामी र प्रहरी जवान चाँदनी साउँदलाई पनि निलम्बन गरेको थियो । तर पछि उनीहरुले प्रमाण नष्ट गरेको तथा याचना दिएको मुद्दामा अदालतबाट सफाइ पाएपछि अहिले निलम्बन फुकुवा भइसकेको छ ।

कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक(एसपी) विष्ट एसएसपीमा बढुवा समेत भइसकेका छन् । निर्मला हत्या प्रकरणमा गृह मन्त्रालयद्वारा गठित उच्चस्तरीय समिति, राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यात नेतृत्वको समितिले घटनाबारे छुट्टाछुट्टै प्रतिवेदन तयार पारेका थिए । तर ती प्रतिवेदनहरु अहिलेसम्म कार्यान्वयन भएका छैनन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?