+
+

सिद्धबाबाको यज्ञमा मन्त्री र महान्यायाधिवक्ताको उपस्थितिमाथि संसदमा उठ्यो प्रश्न

गौरव पोखरेल गौरव पोखरेल
२०७९ साउन १३ गते १४:२२

१३ साउन, काठमाडौं । बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीले आयोजना गरेको यज्ञमा सरकारका मन्त्री र महान्यायाधिवक्ताको उपस्थितिबारे संसदमा प्रश्न उठेको छ ।

जिल्ला अदालत, सुनसरीमा बलात्कारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला सरकारका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र महान्यायाधिवक्ता खम्मबहादुर खाती गिरीको यज्ञमा उपस्थिति भएको विषयलाई लिएर संसद्मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रश्न उठाएको हो ।

एमालेका तर्फबाट विशेष समय लिएर बोल्दै सांसद् डा. शिवमाया तुम्बाहाम्फेले मुद्दा विचाराधीन रहेका बेला सरकारका मन्त्री र न्यायाधीवक्ता आरोपीको यज्ञमा पुग्नु आफैंमा पनि पीडितमाथिको दुर्व्यवहार भएको बताइन् ।

‘महान्यायाधिवक्ता समेत सहभागी हुन जाँदा पीडितको मनमा के उब्जियो होला ? मनोवैज्ञानिक असर पर्‍यो कि परेन ?’ उनले प्रश्न गरेकी छन्, ‘उनीमाथि दुर्व्यवहार भयो कि भएन भन्ने प्रश्न पनि उठेको छ ।’

सुनसरीको चतरा आश्रममा बस्ने सिद्धबाबाविरुद्ध ४ कात्तिक २०७६ मा एक महिलाले बलात्कार आरोप लगाएकी थिइन् । उनले ‘भनेअनुसार नगरे अनिष्ट हुने’ भन्दै बलात्कार गरेको पीडितको भनाइ छ ।

बलात्कारजस्तो गम्भीर अपराधमा मुछिएका व्यक्तिलाई अन्तिम फैसला हुनुअघि नै गुरु मानेर सरकार पक्षका जिम्मेवार व्यक्ति हिँड्नु आश्चर्यको विषय भएको उनले बताइन् । ‘सरकारको यस विषयमा गम्भीर ध्यानकर्षण हुँदै आरोपी पक्षलाई जबसम्म मुद्दा फैसला हुँदैन, तबसम्म पुर्पक्षमा राख्नुपर्ने हो’ उनले भनेकी छन् ।

सिद्धबाबाले २ देखि १० साउनसम्म पुशपतिनाथ परिसरमा ‘अतिरुद्ध महायज्ञ’ लगाएका थिए । यसको उद्घाटनमा सञ्चारमन्त्री कार्की, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर, महान्यायाधीवक्ता खातीलगायत पुगेको समाचार अनलाइनखबर डटकमले पहिलो पटक ३ साउनमा लेखेको थियो ।

उद्घाटनमा नेपाल प्रहरीका उपत्यका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुक पनि पुगेका थिए । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई पनि आमन्त्रण गरिएको थियो । तर उनीहरु सहभागी भएनन् ।

यज्ञ गर्नु धार्मिक स्वतन्त्रता विषय भए पनि यसको प्रयोग गर्दा कसैको मौलिक हकको बर्खिलाप भइरहेको छ/छैन भन्ने विषयमा पनि सोच्नुपर्ने तुम्बाहाम्फेले बताइन् ।

अझ यज्ञमा सुनाइएको एउटा मन्त्र सुनेर आफूलाई अचम्म लागेको उनले सुनाइन् । ‘अब उप्रान्त मेरो जीवन गुरु आज्ञाबाट सञ्चालित हुनेछ भन्ने गुरुवाणी नै मेरो लागि शास्त्र हुनेछ भनेर औंठाछाप हान्नुपर्ने रहेछ’ उनले भनिन्, ‘त्यस्ता औंठाछाप हानुञ्जेल पीडित पक्षले के सोच्यो होला ?’

सिद्धबाबाले पशुपतिमा यज्ञ गराएर उपस्थितहरुलाई दुई पन्ने फारम भराएर दीक्षा दिएका थिए । एउटा पन्नामा सम्बन्धित व्यक्तिको विस्तृत विवरण राखिएको थियो भने अर्को पन्नामा ‘मन्त्र दीक्षा प्राप्ति संकल्प’ भनेर औंठाछाप लगाउनुपर्ने विवरण राखिएको थियो ।

तुम्बाहाम्फेले विगतमा बलात्कार जस्तो जघन्य अपराधका आरोपितको मुद्दा फैसला नभएसम्म सम्बन्धित व्यक्तिलाई सर्वोच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्नु भनेको स्मरण गराउँदै भनिन्, ‘यस्तो कसूरमा साधारण तारेखमा छाड्ने आदेश दिने न्यायाधीशमाथि पनि प्रश्न उठेको छ ।’

जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले सिद्धबाबा जोडिएको जबर्जस्ती करणीको मुद्दामा सिद्धबाबालाई सफाइ दिएका थिए । उनलाई सफाइ दिंदा न्यायाधीशले पीडितको चरित्रमाथि नै प्रश्न उठाएका थिए । पीडितको चरित्रमाथि प्रश्न उठाउँदै निर्दोष रहेको फैसला गर्दा पीडितको पक्षमा वकालत गर्ने सरकारी वकिललाई बहसको मौकासमेत दिइएको थिएन ।

पछि उच्च अदालतले जिल्लाको फैसला बदर गर्दै पुनः प्रमाणहरु हेर्ने जिल्ला अदालतका नाममा आदेश गरेका थिए । त्यसपछि जिल्लाले उनलाई तारेखमा छाडेको थियो । ‘यस्ता व्यक्तिलाई सरकारका जिम्मेवार व्यक्तिले पश्रय दिएर अगाडि बढाउँदै पीडितलाई अन्याय गर्न मिल्दैन’, तुम्बाहाम्फेले भनेकी छन् ।

अदालतमा विचाराधीन मुद्दाबारे आफूलाई बोल्नु नभएको भन्दै उनले भनिन्, ‘तर ती व्यक्ति जोडिएको ठाउँमा हाम्रा सरकारका प्रतिनिधित्व गर्ने मन्त्री, सरकारी वकिलको प्रमुख पदमा बसेको महान्यायाधीवक्ता समेत जाँदा यो मुलुकका नेपाली महिलाहरुले नेपाली जनताले के ठानेका छन् भन्ने सरकारले सोच्ने कि नसोच्ने ?’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?