+
+

विद्यालय समायोजन गर्न कस्सिए रोल्पाका स्थानीय सरकार

महेश न्यौपाने महेश न्यौपाने
२०७९ साउन १६ गते ६:१२

१६ साउन, रोल्पा । रोल्पाका दुई स्थानीय तहले सामुदायिक विद्यालय समायोजन गर्ने भएका छन् । जिल्लाको गंगादेव गाउँपालिका र परिवर्तन गाउँपालिकाले विद्यालय एकापसमा गाभ्ने तथा तह घटाउने गरी समायोजन योजना अघि बढाएका हुन् ।

फिल्ड अनुगमन पश्चात समायोजनको काम अघि बढाउने भन्दै गंगादेव गाउँपालिका अध्यक्ष हरिबहादुर पुनले गाउँपालिकामा सबै विद्यालय अनुगमन गरिसकेका छन् । ‘विद्यालयको यथार्थ अवस्था पत्ता लगाउन आफैं स्थलगत अनुगमन गरें,’ अध्यक्ष पुनमगरले भने, ‘अब विद्यार्थी र शिक्षकको संख्या तथा वडाको आवश्यकताका आधारमा विद्यालयको तह र शिक्षकको दरवन्दी कायम हुन्छ ।’ विद्यार्थी संख्या कम रहेका विद्यालयहरु तह घटाउने गरी समायोजन गर्ने अध्यक्ष पुनको भनाइ छ ।

कक्षा ३ सम्म चलेका केही विद्यालयलाई बालविकासमा, कक्षा ५ चलेका विद्यालयलाई कक्षा ३ मा र कक्षा ८ चलेका विद्यालयलाई कक्षा ५ मा कायम गर्ने गरी तह घटाउने योजना रहेको उनले बताए । ‘विद्यार्थी संख्याको अनुपातमा शिक्षक धेरै छन्, उनीहरुलाई अनावश्यक तलव दिएर राज्यलाई आर्थिक भार बढेको छ,’ उनले भने, ‘अनावश्यक दरबन्दी कटौती र मिलान गर्छौं ।’ यसो गर्दा भौतिक संरचना र जनशक्ति व्यवस्थापनले समग्र विद्यालय व्यवस्थापनमा सहज हुने उनको बुझाइ छ ।

रोल्पामा ४०२ सामुदायिक विद्यालयमा करिब ७० हजार विद्यार्थी अध्ययन गर्छन् । यहाँका ९५ वटा विद्यालयमा दरबन्दी शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ ।

गंगादेव गाउँपालिकामा ३९ वटा सामुदायिक विद्यालय रहेका छन् ।

परिवर्तन गाउँपालिकाले पनि ‘जनसमुदायको इच्छा र चाहना’ सहितको सुझाव र सल्लाहमा विद्यालय समायोजनको नीति अगाडि बढाइने जनाएको छ । परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै यो बुँदा समावेश गरेको छ । ४३ वटा सामुदायिक विद्यालय रहेको परिवर्तन गाउँपालिकाले विद्यालय समायोजनका लागि यस वर्ष बजेट समेत विनियोजन गरेको छ ।

गाउँपालिकाले प्रा.वि./प्रा.वि समायोजन हुने हकमा रु १० लाख अनुदानको व्यवस्था गरेको छ । यसैगरी प्रा.वि./निमावि समायोजन हुने हकका रु २० लाख, निमावि/मावि समायोजन हुने हकमा रु ३० लाख र मावि/मावि समायोजन हुने हकमा रु ५० लाख अनुदानको व्यवस्था गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष अभिभावकको इच्छा र चाहना तथा सुझाव सल्लाहका आधारमा विद्यालय समायोजन गर्ने परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढामगरले बताए । ‘दुई वटा मावि समायोजनको काम अघि बढेको छ, बाँकी विद्यालय पनि समायोजन गर्ने योजनामा छौं,’ प्रवक्ता बुढामगरले भने ।

यस अघि रोल्पाका दुई स्थानीय सरकारले पनि विद्यालय समायोजनको कार्यक्रम अघि बढाएका थिए । जस बमोजिम रोल्पा नगरपालिका उक्त कार्यक्रम सफल गर्न सकेको थिएन भने त्रिवेणी गाउँपालिकाले निजी विद्यालय सरकारी विद्यालयमा समायोजन गर्नुका साथै विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालय एकापसका गाभेको पनि थियो । साथै तह समेत घटाएर विद्यालय समायोजनको योजना सफल पारेको थियो ।

रोल्पामा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नहुँदा अभिभावकहरुमा व्ययभार बढेको छ । रोल्पामा ४०२ सामुदायिक विद्यालयमा करिब ७० हजार विद्यार्थी अध्ययन गर्छन् । यहाँका ९५ वटा विद्यालयमा दरबन्दी शून्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जानकारी दिएको छ । रोल्पाभरमा प्रावि तहमा २५२, निमावि तहमा ४३१ र मावि तहमा २९८ दरबन्दी अपुग छ । दरबन्दी नभएका ठाउँमा निजी स्रोतबाट शिक्षक राखिएको छ ।

जिल्लाको सुनछहरी गाउँपालिकाले अहिलेसम्म मावि तहमा एउटा पनि सरकारी दरबन्दी पाएको छैन । शिक्षकका लागि तलब कतिपय ठाउँमा अभिभावकले र कतिपय ठाउँमा पालिकाहरुले व्यहोर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?