१३ भदौ, रोल्पा। तिब्बततर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रोल्पाका २४ जना अझै सम्पर्कविहीन भएका छन् ।
रोजगारीको सिलसिलामा रसुवा पुगेका २८ जनामध्ये ४ जना भने सम्पर्कमा आएको जिल्ला प्रशासन रोल्पाले जानकारी दिएको छ ।
स्थायी ठेगाना नखुलेको दिलिजा पुन, रुन्टिगढी गाउँपालिका-८ का ध्रुवबहादुर बुढामगर, थबाङ गाउँपालिका-२ का नवराज रोकामगर र रोल्पा नगरपालिका-२ का रमेश वली सम्पर्कमा आएको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । ‘हाम्रो सम्पर्कमा अहिलेसम्म चार जना सम्पर्कमा आएको भन्ने जानकारी आएको छ’, उनले भने ।
रसुवा बाढीपछि अन्य २४ जना भने अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सुनिलस्मृति गाउँपालिका-६ का रविलाल भण्डारी,राजेन्द्र महत,कुमार महरा,बसन्त महरा,सन्जु महत,सुनिलस्मृति गाउँपालिका-५ का हरि बहादुर घर्ती,आर्यन घर्ती,सुनिलस्मृति गाउँपालिका-५ का अनाराम पुन,सोम बहादुर घर्ती र सुनिलस्मृति गाउँपालिका–३ का जक्त हादुर पुन मगर गरी सुनिलस्मृति गाउँपालिकाबाट १० जना रहेका छन् ।
त्यस्तै रोल्पा नगरपालिका-१० का लेखराज रोका,माडी गाउँपालिका-५ की तिला बाँठा मगर,माडी गाउँपालिका-३ की दीपा घर्ती मगर,गंगादेव गाउँपालिका-२ की कमला पुन मगर,परिवर्तन गाउँपालिका-६ का कुलप्रसाद बुढामगर,मीना घर्ती मगर,डिपी बुढामगर खुसी बुढामगर र सुनछहरी गाउँपालिका-५ का सुनिल विक रहेका छन् । यस्तैगरी रुन्टीगढी गाउँपालिका-८ का गीता बस्नेत,हस्तबहादुर बस्नेत,गोपाल पुन,गोपाल परियार र विकास परियार रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पामा बेपत्ता तथा सम्पर्कविहीन हुने संख्या २६ जनाको मात्र उपलब्ध भएकोमा खोज तथा उद्धार कार्यमा थप २ जना थपिएको रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए ।
‘हामीलाई थप दुई जना विवरणमा नभएको सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ,सम्पर्कमा आउनेमा स्थायी ठेगाना नखुलेको दिलिजा पुन र रोल्पा नगरपालिका-२ का रमेश वली रहेका छन्’, सहायक प्रजिअ गौतमले भने ।
बेपत्ता तथा सम्पर्कविहीन परिवारका सदस्यले अब जिवितै भेटिने आशा मार्न थालेका छन् । ‘हामीले सासको आशा मारिसकेका छौं, अब लासको मात्र आशा छ’, एकै परिवारका चारजना सदस्य सम्पर्कविहीन भएका परिवर्तन गाउँपालिका-६ का भीमप्रकाश बुढामगरले भने । उनका दाइ,भाउजु,भतिज र भजिती सम्पर्कविहीन छन् ।
प्रतिक्रिया 4