News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाको बाढीमा बेपत्ता भएका कञ्चनपुरका ३९ जनामध्ये ३० जना अझै सम्पर्कमा नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
- प्रशासनका अनुसार सात जना सम्पर्कमा आएका छन् भने कञ्चनपुरका २७ वर्षीय राजेन्द्र भट्ट र ३२ वर्षीय प्रदीप चन्दको रसुवा अस्पतालमा उपचार भइरहेको छ।
- सम्पर्कविहीन सूचीमा नेपाली सेनाका जवान श्याम पन्तसहित अन्य जिल्लाका छ जना र एक भारतीय नागरिक पनि रहेका प्रशासनले जनाएको छ।
१३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले रसुवामा आएको भीषण बाढीमा परी बेपत्ता भएका ३० जना अझै सम्पर्कमा नआएको जनाएको छ ।
प्रशासन कार्यालयले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत बेपत्ता भएका ३९ जनामध्ये अझै ३० जना सम्पर्कमा नरहेको जनाएको हो ।
कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन भएका ३९ मध्ये सात जना सम्पर्कमा आएका र अन्य दुई जनाको उपचार भइरहेको छ ।
सम्पर्कमा आउनेमा शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका ३४ वर्षीय सुनिल चौधरी, भीमदत्त नगरपालिका–६ भगवती टोलकी ३४ वर्षीया चन्दा जोशी रहेका छन् ।
यस्तै बेलडाँडी गाउँपालिका–३ कमरीका अजय राना, सुरेश राना र सन्तोष राना (सबै २५ वर्षीय), बेलौरी नगरपालिका–३ का २२ वर्षीय नवीन चौधरी र आदर्श चौधरी (दुवै २२ वर्षीय) पनि सम्पर्कमा आएका छन् ।
जिल्ला प्रशासन कार्यालयले ठेगाना नखुलेका कञ्चनपुरका २७ वर्षीय राजेन्द्र भट्ट रसुवा अस्पतालबाट रेफर भएका र ३२ वर्षीय प्रदीप चन्दको रसुवा अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार बेलुका रसुवा अस्पतालमा ६ बजेसम्म उपचार भएका बाढी प्रभावित घाइते र बिरामीहरूको विवरण सार्वजनिक गरेको थियो ।
उक्त विवरणमा राजेन्द्रको स्वास्थ्य अवस्था गम्भीर र प्रदीपको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ । प्राधिकरणका अनुसार उनीहरू दुवै जनालाई रसुवा अस्पतालले रेफर गरेको छ ।
कञ्चनपुर प्रशासनका अनुसार सम्पर्कविहीनको सूचीमा कञ्चनपुर घर भएका तीन जना नेपाली सेना पनि छन् । भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका जवान ३५ वर्षीय श्याम पन्त, कृष्णपुर नगरपालिका–५ घर भएका लेस नायक रमेशराज जोशी र वडा नम्बर ४ घर भएका दर्जा नखुलेका हिक्मतबहादुर पाल सम्पर्कविहीन भएका हुन् ।
प्रशासन कार्यालयले अन्य देश र जिल्ला घर भइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जानकारी प्राप्त भएका ६ जना पनि सम्पर्कविहीन रहेका बताएको छ ।
जसमा डडेल्धुराको गन्यापधुरा–१ का २८ वर्षीय सुरजबहादुर महता, बैतडीको सिगास गाउँपालिका–७ का २२ वर्षीय लक्ष्मण ऐर, बैतडीकै डिलाशैनी गाउँपालिका–७ का ३८ वर्षीय वीरेन्द्र धामी, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का ५० वर्षीय पदमराज जोशी, बर्दियाको रम्भापुर गाउँपालिका ढोडियाका ४० वर्षीय बुद्धिराम चौधरी र भारतीय नागरिक ४५ वर्षीय भवानीदत्त विष्ट रहेका छन् ।
प्रतिक्रिया 4