८ असोज,रोल्पा । नेपाली कांग्रेसले रोल्पाका १० पालिका मध्ये ९ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । बाँकी एउटा पालिकामा भने निर्धारित समयमा अधिवेशन सम्पन्न हुनसकेन ।
रोल्पाका ९ वटै पालिकामा सभापतिसहित, महिला र पुरुष उपसभापति, सचिव, सह-सचिव र अन्य सदस्यहरु गरी २१/२१ जनाको कार्यसमिति निर्विरोध चयन भएको निर्वाचन अधिकृत सुदीप गौतमले जानकारी दिए ।
‘रोल्पामा हामीले करिब ९० प्रतिशत पालिका अधिवेशन सम्पन्न गरेका छौं। १० प्रतिशत अर्थात् एक पालिकामा मात्र अधिवेशन हुन सकेन’, उनले भने।
९ पालिकामा को-को बने सभापति ?
रोल्पा नगरपालिकामा रामबहादुर बुढाथोकी, सुनिलस्मृती गाउँपालिकामा रोशन गिरी, लुङ्ग्री गाउँपालिकामा मति पुन, सुनछहरी गाउँपालिकामा हर्कराम बुढा मगर, रुन्टिगढी गाउँपालिकामा चेतलाल खत्री, त्रिवेणी गाउँपालिकामा प्रेम प्रकाश पुन, गंगादेव गाउँपालिकामा कृष्ण वली, माडी गाउँपालिकामा पशुपति घर्ती मगर र परिवर्तन गाउँपालिकामा कुलबहादुर घर्ती मगर सभापतिमा निर्वाचित भएका छन्।
थबाङ गाउँपालिकामा भने पालिका अधिवेशन हुन सकेन । थबाङ गाउँपालिकामा केही समस्याका कारण पालिका अधिवेशन हुन नसकेको नेपाली कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले जानकारी दिए। ‘हामीले बुधबार करिब ९० प्रतिशत पालिका अधिवेशन सम्पन्न गरेका छौँ । सम्पन्न ९ पालिकामा सभापतिदेखि अन्य पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । एक पालिकामा समस्याका कारण तोकिएको समयमा अधिवेशन हुन सकेन’, थापाले भने।
थबाङ्मा बिहीबार वा शुक्रबारसम्म पालिका अधिवेशन हुने बताइएको छ ।
कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत असोज १० गते क्षेत्रीय अधिवेशन हुँदैछ।
प्रतिक्रिया 4