+
+
Shares

सडक छ, पुल छैन : वर्षा सुरु भएपछि सधैं जोखिमपूर्ण यात्रा

सूर्यप्रकाश बुढामगर सूर्यप्रकाश बुढामगर
२०८३ भदौ १६ गते १२:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा पाछाबाङ खोलामा पक्की पुल नहुँदा वर्षाको समयमा सधैं समस्या हुने गरेको छ ।
  • वडा अध्यक्ष खिम विक्रम चन्दले जग्गाधनीसँग कुरा नमिल्दा पुल बन्न नसकेको बताए।

१६ भदौ, रोल्पा । पक्की पुल नहुँदा जोखिम मोलेर सवारीसाधन आवतजावत गरेका यस्ता दृश्यबारे हरेक वर्षको वर्षायाममा चर्चा हुने गर्छ । रोल्पाको परिवर्तन गाउँपालिका-३ बागमारा पाछाबाङ खोलामा अहिलेसम्म पक्की पुल बन्न सकेको छैन । शुक्रबार बिहान उक्त खोलामा बसेपछि डोरी लगाएर तान्दै गरेको भिडियो अहिले सामाजिक सञ्जालमा फैलिइरहेको छ ।

भिडियोमा स्पष्ट रूपमा डोरी चुँडिएर बस तान्दै गरका व्यक्तिहरू पछाडितिर गएको देख्न सकिन्छ । सडक बनेसँगै पक्की पुल बन्छ भनेको आफूले धेरै पटक सुनेको स्थानीय साधना डाँगी बताउँछिन् । ‘हामीले पटकपटक सुन्दै आएको कुरा यो वर्ष बन्छ, अर्को बर्ष बन्छ भन्छन् तर कहिल्यै बनेन’ डाँगी भन्छिन् ।

पुल नबन्दा हरेक वर्ष सास्ती खेप्नुपरेको अर्का स्थानीय खुम रिजालले सुनाउँछन् । जब बर्खा लाग्छ, तब सवारीसाधनलाई यो खोला पार गर्ने निकै सास्ती हुन्छ’ रिजाल सुनाउँछन् ।

सडक छ,  पुल छैन 

उक्त पाछाबाङ खोला पुल शहीद मार्ग अन्तर्गत दुईखोली चुन्बाङ खण्डमा पर्छ । यो सडक हुँदै रोल्पाको पश्चिमी क्षेत्रका नागरिकसहित रुकुम पश्चिमको मुसिकोट र रुकुम पूर्वको चुन्बाङ हुँदै रुकुमकोट सम्म सवारीसाधन आवतजावत गर्छन् । रुकुम पश्चिम र रुकुम पूर्वका नागरिक यहीँ सडक प्रयोग गरेर दाङ, बुटवल, नेपालञ्ज पुग्ने गर्दछन ।

केही व्यक्तिहरूको विवादका कारण यो ठाउँमा पुल बन्न नसकेको परिवर्तन गाउँपालिका-३ का वडा अध्यक्ष खिम विक्रम चन्दले बताए । ‘पुल निर्माण नहुनुमा केही समस्या देखिन्छ, त्यो समस्या भनेको जग्गा धनीको हो’ वडा अध्यक्ष चन्दले भने । उनका अनुसार पुल निर्माण हुने स्थानको दुवै ठाउँमा व्यक्तिको जग्गा पर्ने भएकोले कुरा नमिल्दा पुल बन्न नसकेको हो ।

यो आर्थिक २०८३/०८४ मा पुल निर्माण हुने परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए । अहिले पुलको डिपिआर गरी आर्थिक लागत मूल्यांकनको काम भइरहेको र ठेक्का प्रक्रियामार्फत असोज महिनादेखि निर्माण कार्य सुरु बुढा मगरको भनाइ छ । ‘पुल निर्माण भएपश्चात् खोलामा जोखिम मोलेर सवारीसाधन आवतजावत गर्दै आएको समस्या समाधान हुन्छ’ उनी भन्छन् ।

नेतृत्वमा सधैं प्रश्न 

पुल नबन्दाको विषयलाई लिएर सामाजिक सञ्जालमा रोल्पाबाट सरकारको नेतृत्व गरेका जनप्रतिनिधिलाई प्रश्न खडा गरेको देखिन्छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सहित रोल्पाबाट उच्च तहका नेता निर्वाचित भए पनि समयमा पक्की पुल बन्न नसकेको गुनासो हुँदै आएको छ ।

रकम सुनिश्चितता

पुल निर्माणको लागि भनेर यो आर्थिक बर्ष २०८३/०८४ मा नेपाल सरकारबाट बहुवर्षीय स्रोत सहमति अनुसार १० करोड प्राप्त भएको उल्लेख गरिएको छ । गत आर्थिक वर्ष २०८२/०८३ मा पुल निर्माणको लागि ३ करोड विनियोजन भएको थियो । जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले ३ करोड देखि मुनिका योजनाको रकम कटौती गर्दा परिवर्तन गाउँपालिका-३ बागमारा पाछाबाङ खोलाको विनियोजन भएको ३ करोड रकम समेत कटौती भएको थियो ।

लेखक
सूर्यप्रकाश बुढामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?