
काठमाडौं । मिस नेपालको ताज जितेपछि प्रियंकारानी जोशी पहिलो विदेश भ्रमणमा निस्किएकी छन् । उनी मंगलबार बेलुका कतार एयरवेजमार्फत अमेरिकातर्फ उडिन् ।
दुई योजना लिएर उनी न्युयोर्क उडेकी हुन् । पहिलो– मिस नेपाल उत्तर अमेरिकी फिनालेमा सहभागी हुनु र दोस्रो– आगामी विश्व सुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस परियोजनाका लागि लगानीकर्ता जुटाउनु ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अनलाइनखबरसँग कुरा गर्दै प्रियंकाले आफ्नो अमेरिका भ्रमण आगामी मिस वर्ल्डको तयारी पनि भएको बताइन् । उनले बिजुली नपुगेको गाउँमा दुई तीन वर्षसम्मको लागि सोलार जडान गर्ने परियोजना मिस वर्ल्डमा प्रस्तुत गर्दैछिन् ।
उनी यो प्रोजेक्ट अमेरिकामा चिनाएर यसका लागि रकम जुटाउन पहल गर्नेछिन् । ‘यही कारण मिस वर्ल्डको तयारीको यात्राको रुपमा मैले लिएकी छु । यहींबाट पोखरा जाँदा त न्यास्रो लाग्छ, तर देश छाडेर जाँदा अलिकति न्यास्रो लागे पनि देशलाई प्रतिनिधित्व गर्न जान लागेकोमा खुसी छु,’ उनले भनिन् ।
आफ्नो अमेरिका भ्रमण आफूजस्तै युवतीलाई ‘पेजेन्ट’को महत्व चिनाउन र देशको परिस्थिति बुझाउन पनि महत्वपूर्ण हुने प्रियंकाले बताइन् ।
मिस नेपाल आयोजक द हिडन ट्रेजर र मिस नेपाल नर्थ अमेरिकाबीच सम्झौता भएपछि मिस नेपालको सहभागिता त्यहाँ हुन लागेको हो । मिस नेपाल नर्थ अमेरिकाको विजेताले मिस नेपालमा प्रतिस्पर्धाको मौका पाउने सम्झौता भएको छ ।
सोहीअनुसार प्रतियोगी छनोट गर्ने अवसर पनि प्रियंकालाई हुनेछ । हिडन ट्रेजर निर्देशक सुवर्ण क्षेत्री पनि उनीसँगै अमेरिका प्रस्थान गरेका छन् । मिस नेपाल नर्थ अमेरिकाको अन्तिम प्रतिस्पर्धा आगामी आइतबार हुँदैछ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4