+
+

ए लेभल : कसले पढ्ने, किन पढ्ने ? 

गोपाल भण्डारी गोपाल भण्डारी
२०७९ साउन १८ गते ६:२२

एसईईपछि अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न चाहनेका लागि उत्कृष्ट विकल्प हो, ए लेभल ।  जगजाहेर नै छ, ए लेभल विश्वस्तरका पाठ्यक्रम, पठन प्रणाली र प्रमाण पत्र हो । ए लेभल अध्ययनका एसईईमा राम्रो ग्रेड नै लिनुपर्छ भन्ने छैन । जबकि यसले एउटा विश्वस्तरीय शिक्षाका लागि सुनौलो ढोका खोलिदिन्छ ।

अहिले ए लेभल भर्नाको सिजन हो । एसईईमा प्राप्त हुने ग्रेडले ए लेभल भर्नाको लागि खास फरक पार्दैन । ए लेभल पढ्नका लागि एउटै सर्त हो, विद्यार्थीको रुचि ।

यदि कुनै विद्यार्थीले ‘म पढ्छु’ मात्र भनिदिए पुग्छ । यसमा हाम्रो जस्तो पुरातन ढर्राले घोक्ने कुरा हुँदैन । बरु पाठ बुझ्ने, मनन गर्ने, विश्लेषण गर्ने अभ्यास जरुरी हुन्छ । रचनात्मक क्षमता भएका विद्यार्थी ए लेभलका लागि योग्य हुन्छन् ।

‘इन्डिपेन्डेन्ट लर्नर’ जो छन्, उनीहरुले ए लेभल पढ्न उपयुक्त हुन्छ । यसमा विद्यार्थीले स्वअध्ययन गर्न सक्छन् । विभिन्न स्रोतबाट आफूलाई आवश्यक कुरा खोजीखोजी पढ्न सक्छन् । पढ्नका लागि शिक्षक नै चाहिन्छ भन्ने छैन । अहिले त प्रविधिको व्यापकता छ । यस्तो स्थितिमा विद्यार्थीले पढ्नका लागि अनेक सामग्री फेला पार्न सक्छन् ।

७० वटा हाराहारी विषयमध्येबाट विद्यार्थीले आफू अनुकूलको विषय छनोट गर्न सक्छन् । मुलुक अनुकूल भिन्नाभिन्नै विषय पठनपाठन गर्ने सुविधा ए लेभलमा छ। नेपालमा जनरल पेपर अन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाएका छन् ।

अलि मिहिनेती र सिर्जनशील विद्यार्थीले ए लेभलमा राम्रो नतिजा ल्याउन सक्छन् । हाम्रो विद्यालय शिक्षाले कमजोर ठहर्‍याएका विद्यार्थीले पनि ए लेभलमा उत्कृष्टता हासिल गर्न सक्छन् । सन् २००९ मा हामीकहाँ पढेका सुमन भण्डारीले ए लेभलमा गणित विषयमा वर्ल्ड टप गरे । जबकि एसएलसीमा राम्रो अंक नआएपछि उसले ए लेभल रोजेको थियो ।

सन् २०१९ मा पनि हाम्रै कलेजबाट ऋतिक यादवले कम्प्युटरमा वर्ल्ड टप गरे । उनी अहिले हङकङमा छन् । खासमा उनी कम्प्युटरमा निकै लगाव भएको र पोख्त विद्यार्थी थिए, तर नेपालको शिक्षा पद्धति उनलाई मन परेन । त्यसैले ए लेभलमा भर्ना भएका थिए ।

हामीकहाँ आएका कतिपय विद्यार्थीले विश्व टप गरेका छन् । विश्वभरका विद्यार्थीमाझ प्रतिस्पर्धा गरेर सर्वोत्कृष्ट हुनु गौरवको कुरा त हो नै, साथै मौका पाए भने हाम्रा विद्यार्थी पनि अब्बल छन् भन्ने यसले देखाउँछ ।

ए लेभलमा आपसी छलफल, प्रोजेक्ट वर्क, सामूहिक क्रियाकलाप, सेमिनार, प्रस्तुतिकरण जस्ता अभ्यास गराइन्छ ।

ए लेभल नै किन ?

विश्व प्रतिष्ठित क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन कार्यक्रम अन्तर्गत सञ्चालन हुने शैक्षिक कार्यक्रम हो ए लभेल । यो शैक्षिक कार्यक्रम विश्वका एक सय २५ देशमा सञ्चालनमा छ । क्याम्ब्रिजले तयार गरेको पाठ्यक्रम, शिक्षण विधि र परीक्षा प्रणाली भएकाले यो निकै उन्नत र वैज्ञानिक मानिन्छ । ए लेभलको परीक्षा विश्वभरका विद्यार्थीले एकै मापदण्डमा रहेर दिनुपर्ने हुन्छ ।

यसका खास विशेषता छन्, जस्तो,  यसको कोर्स व्यावहारिक एवं प्रयोगात्मक छ । विश्वभर एकै प्रणालीबाट यसको पठनपाठन हुन्छ । ७० वटा हाराहारी विषयमध्येबाट विद्यार्थीले आफू अनुकूलको विषय छनोट गर्न सक्छन् । मुलुक अनुकूल भिन्नाभिन्नै विषय पठनपाठन गर्ने सुविधा ए लेभलमा छ। नेपालमा जनरल पेपर अन्तर्गत अंग्रेजीलाई अनिवार्य विषय बनाएका छन् । त्यसबाहेक विज्ञान, गणित, मानविकी, व्यवस्थापनका छुट्टाछुट्टै विषय पढ्न सकिन्छ । नेपालको पाठ्यक्रममा जस्तो अनिवार्य विषय पढ्नुपर्ने झमेला हुँदैन ।

विद्यार्थीले कुनै विषयमा पोख्त भएपछि आफ्नो मर्जी अनुसार परीक्षा दिन सक्छन् । त्यति मात्र होइन ७० वटा विषयमा जुनसुकै विषय पनि छनोट गरेर पढ्न सकिन्छ । एउटा संकायको विद्यार्थीले अर्को संकाय पढ्न छुट हुन्छ । कुनै विषयमा कम ग्रेड हासिल भएमा पुनः विद्यार्थीले सोही विषयको मात्र परीक्षा दिन सक्छन् । यसको कोर्स हरेक वर्ष अध्यावधिक गरिन्छ ।

वर्षमा दुई पटक ए लेभलको परीक्षा विश्वभर एकसाथ सञ्चालन हुन्छ । मे–जुनमा एउटा अनि अक्टोबर–नोभेम्बरमा अर्को । परीक्षाको नतिजा पहिलोको अगस्टमा र दोस्रोको जनवरीमा सार्वजनिक हुन्छ । ए लेभलमा ग्रेडप्रति सन्तुष्ट नभएसम्म परीक्षा दिन पाइन्छ ।  यसमा फेल भएको सर्टिफिकेट आउँदैन । ए लेभलमा फेल नभई अनग्रेडेड भन्ने हुन्छ । तुलनात्मक रुपमा यहाँ त्यति धेरै फेल हुँदैनन् । समग्रमा १० देखि १५ प्रतिशत मात्रै फेल हुन्छन् । ए लेभल पूरा गर्न चार विषयमा उत्तीर्ण गर्नुपर्छ । यद्यपि विद्यार्थीले चाहेको अवस्थामा अरु विषयमा पनि परीक्षा दिन पाउँछन् ।

ए लेभलको पढाइ जति प्रयोगात्मक र व्यावहारिक छ, उत्ति नै यसको परीक्षा प्रणाली पनि पारदर्शी र सन्तुलित छ । परीक्षार्थीको कपी पीडीएफ राखिदिएको हुन्छ । त्यसलाई शिक्षकले जाँच गरिसकेपछि पुनः प्रिन्सिपलले जाँच गर्छन् । कपी जाँचमा त्रुटि हुने कुनै सम्भावना नै हुँदैन । हामीकहाँ जस्तो अक्षर बुझिएन, केरमेट भएछ भन्ने हुँदैन ।

वैश्विक शिक्षाको प्रवेशद्वार

ए लेभल वैश्विक शिक्षाको प्रवेशद्वार पनि हो । ए लेभलको प्रमाणपत्रलाई संसारभरका विश्वविद्यालयले विश्वास गर्ने भएकाले अन्तर्राष्टिय शिक्षा लिन चाहने विद्यार्थीका लागि यो एक उपयुक्त रोजाइ हुनसक्छ ।

प्रत्येक विषय अनि प्रत्येक सेसनमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई क्याम्ब्रिजले सम्मान एवं प्रमाणपत्र दिने गर्छ, विशेष समारोह गरेर । यसमा राम्रो ग्रेड ल्याउने विद्यार्थीले विश्वका कतिपय विश्वविद्यालयबाट छात्रवृत्तिको अवसर समेत पाउन सक्छन् । त्यसो त ए लेभल अध्ययनपछि क्याम्ब्रिज, हार्वर्ड जस्ता विश्वविख्यात विश्वविद्यालयमा पढ्ने अनुकलता पनि मिल्न सक्छ ।

ए लेभल अध्ययनपछि विद्यार्थी कुन क्षेत्रमा अध्ययन गर्ने हो, सोही अनुरुप बाटो समात्न सक्छन् । जस्तो चिकित्सा, व्यवस्थापन, मानविकी, इन्जिनियरिङ ।

यद्यपि ए लेभल अध्ययनपछि विदेश नै ताक्नुपर्छ भन्ने छैन । ए लेभलमा राम्रै नतिजा हासिल गरेर यही पढ्नेहरु पनि छन् । हुन त कुनै विद्यार्थी विदेश जान्छ भन्दैमा त्यतै पलायन हुन्छ भन्ने पनि छैन । मान्छे जति क्षमतावान् हुँदै जान्छन्, देशप्रेम पनि बढ्दै जान्छ । उनीहरु विदेशमा गएर अन्तर्राष्ट्रिय शिक्षा र सीप आर्जन गरेर स्वदेश फर्कन्छन् ।

यद्यपि अब स्तरीय पढाइका लागि विदेश जानैपर्छ भन्ने धारणा पनि घट्दै गएको छ । अमेरिकामा आईटी पढ्नु र नेपालमा आईटी पढ्नुमा अब फरक छैन । विश्वविद्यालयले धेरैभन्दा धेरै विषय उपलब्ध गराउने हो भने धेरै विद्यार्थी नेपालमै पढ्थे ।

अबको पढाइ फगत आफ्नो लागि मात्र नभएर समुदायका लागि पनि हुनुपर्छ । आफ्नो ज्ञान, सीप, क्षमताबाट कुनै न कुनै रुपमा आफ्नो समुदाय पनि लाभान्वित हुनुपर्छ । जस्तो अमेरिकामा मैले कुनै विषयमा अनुसन्धान गरेको छु भने त्यो हामीकहाँ जस्तो पेपरमा उतारेर मात्र हुँदैन । त्यसलाई समुदायमा लगेर प्रयोग गर्नुपर्छ । समाजसँग जोड्नुपर्छ ।

ए लेभल पढ्नका लागि विद्यार्थीले आफ्नो क्षमता, तयारी र आर्थिक स्थितिमा पनि ध्यान दिनुपर्ने हुन्छ । ए लेभलका लागि कोर्स गर्नका लागि वार्षिक २ लाखदेखि २ लाख ७५ हजार रुपैयाँसम्म लाग्न सक्छ ।

कतिपय विद्यार्थी ए लेभल पढ्न चाहन्छन् तर आर्थिक समस्या छ भने उनीहरुले छात्रवृत्तिका लागि प्रयास गर्न सक्छन् । हामीले पनि यहाँ ए लेभलको लागि छुट्टै छात्रवृत्तिको व्यवस्था गरेका छौं । त्यसो त ए लेभल पढ्नका लागि कलेजमा भर्ना हुनैपर्छ भन्ने छैन । ब्रिटिश काउन्सिल नेपालमा आफ्नो नाम दर्ता गराएपछि विश्वविद्यालयले लिने आवश्यक दस्तुर तिरेर परीक्षा दिन पाउँछन् । अर्थात् नियमित कलेज जान असमर्थ विद्यार्थीले प्राइभेट परीक्षा दिन सक्छन् ।

नेपालमा ए लेभल

तीन दशकभन्दा बढी समय बितिसकेको छ, नेपालमा ए लेभलको पढाइ सुरु भएको । बुढानीलकण्ठ स्कुलबाट नेपालमा ए लेभल पठनपाठन सुरु भएको हो । नेपालमा ब्रिटिश काउन्सिलले ए लेभलको परीक्षा सञ्चालन र अनुगमन गरिरहेको छ । ए लेभललाई कक्षा ११ र १२ को समकक्षता प्रदान गरिएको छ । यो दुईवर्षे कोर्स हो । अहिले नेपालमा एक दर्जनभन्दा बढी कलेजमा ए लेभल पढाइ हुन्छ ।

(जेभियर इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक भण्डारीसँगको कुराकानीमा आधारित )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?