+
+

लालमोहर यादव : मलेसियाविरुद्ध सुपर रेइड हान्दा प्रो–कबड्डीमा चिठ्ठा

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ साउन २६ गते ६:३१
लालमोहर यादव । तस्वीर : चन्द्र आले/अनलाइनखबर

२६ साउन, काठमाडौं । चार वर्षअघि इण्डोनेसियामा आयोजित १८औं एसियाली खेलकुद अन्तर्गत प्रो-कबड्डीमा नेपालले मलेसियामाथि जित रचेको थियो । सो खेलका नायक हुन्– लालमोहर यादव । आक्रामक र रक्षात्मक दुवै भूमिकामा अब्बल प्रदर्शन गरेका उनले सुपर रेइड हान्दै जितमा लालमोहर लगाए । नेपाली सेना हुँदै कबड्डीको राष्ट्रिय टिममा पुगेका लालमोहरका लागि त्यो जितले प्रो कबड्डीको ढोका खोलिदियो ।

विश्व कबड्डीको महारथी देश भारतमा फ्रेञ्चाइज प्रतियोगिता प्रो कबड्डी लिग स्थापित र प्रतिष्ठित छ । विश्वभरका कबड्डी खेलाडीको आकर्षणका रुपमा रहने यो प्रतियोगिताको छैठौं संस्करणदेखि लालमोहर आवद्ध छन् ।

सञ्जय श्रेष्ठले पहिले नै नेपाली खेलाडीका लागि प्रो कबड्डीको ढोका खोलिसकेका थिए । लाल मोहरलाई पनि राम्रो प्रदर्शन गर्दै प्रो कबड्डी जाने इच्छा पलाउनु स्वाभिक थियो । जुन एसियाडपछि पूरा भयो ।

फ्रेञ्चाइज टिम पुनेरी पल्टनले छैटौं सिजनका लागि उनलाई ८ लाख भारुमा भित्र्यायो । सातौं सिजन २ लाख बढी पारिश्रमिकसहित बैंगलुरु बुल्स पुगेका लालमोहरले आठौं सिजन क्लबविहीन भए । आसन्न नवौं सिजनका लागि उनी पुनः बैंगलुरुमै पगेका छन् । उनीसँगै अर्का नेपाली खेलाडी नागेश्वर यादव पनि यो सिजन प्रो कबड्डी लिगमा बिक्री भएका छन् ।
प्रो कबड्डी–उच्च व्यवस्थापन, खेल्न नपाउँदा छटपटी

सुरुमा पुनेरी पल्टन टिममा पुग्दा लालमोहर त्यहाँको व्यवस्थापन देखेर चकित बने । खानपानदेखि, ट्रेनिङ सबै व्यवस्थित थियो । उच्चस्तरका प्रशिक्षक थिए । पारिश्रमिक पनि राम्रो थियो । ‘आर्मी भएको हुनाले नेपाली खेलाडी अनुशासित छन् भन्नेमा उनीहरु हामीप्रति सकरात्मक थिए,’ लालमोहरले भने ।

नेपालबाट जे गर्न गएको उनले त्यो पाएनन् । छैठौं सिजनमा मात्र होइन सातौं सिजनमा पनि उनले कोर्टबाहिर बेञ्चमै बसेर पूरा सिजन बिताए । खेल्न नपाउँदा उनलाई ठूलो छटपटी हुन्थ्यो । ‘टिममा कसलाई खेलाउने भन्ने त प्रशिक्षकमा निर्भर हुने कुरा भयो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले व्यावसायिक करिअरको सुरुवाती दिन स्मरण गरे, ‘कबड्डी टिम गेम हो । सबैजना सँगै अभ्यास गछौं । त्यतिबेला जोस हुन्ट । कोर्टभित्र पनि सँगै हुन पाए राम्रो गथेँ भन्ने हुन्थ्यो ।’


यस पटक नेपालका दुवै खेलाडी लालमोहर र नागेश्वर थारु एउटै टिममा छन् । दुई मध्ये एक जनाले खेल्ने अवसर पाएमा पनि त्यो ठूलो उपलब्धी हुने लालमोहरको विश्वास छ । उनीहरु सम्मिलित बैगलुरु बुल्सको प्रशिक्षण यही अगष्ट तेस्रो सातादेखि बेंगलोरमा हुने तय छ । उताबाट चिठ्ठी आएपछि सबै प्रक्रिया मिलाएर जाने लालमोहरले बताए । नेपाली खेलाडीको आउनेजाने टिकटदेखि सबै खर्च टिमले नै बेहोर्नेछ ।

प्रो कबड्डीमा एक टिममा कम्तीमा १८ जना र बढीमा २५ जनासम्म खेलाडी हुन्छ । एक टिमले दुई विदेशी खेलाडी कम्तीमा राख्नैपर्नेछ । यस्तै सेटमा एक जना विदेशी खेलाडी खेलाउनुपर्नेछ ।

प्रो कबड्डी खेल्न नपाए पनि लालमोहरले धेरै कुरा सिकेका छन् । कमजोर घरेलु संरचना र सीमित अन्तर्राष्ट्रिय सहभागिता रहने नेपालको कबड्डीबाट उदाएर व्यावसायिक लिगको अनुभवले उनी निःशन्देह नेपालका नम्बर एक खेलाडी हुन् । ‘प्रशिक्षण कसरी गर्नेदेखि समय व्यवसथ्पनसम्मका धेरै कुराहरु सिक्ने अवसर भयो,’ उनले भने ।

प्रो कबड्डीबाट फर्किएपछि लालमोहरले यहाँका अन्य खेलाडीहरुसँग अनुभवहरु बाँड्ने गरेका छन् । अब खेलाडीको रुपमा केही समय अझै खेल्ने र पछि साना खेलाडीहरुलाई सिकाउने लाल मोहरको इच्छा छ । भन्छन्, ‘भविष्यमा स्कुलका विद्यार्थीलाई सिकाउने र राम्रो खेलाडी उत्पादन गर्ने मन छ ।’

नेपाल कबड्डी संघले पनि प्रो कबड्डी जस्तै लिग नेपालमा आयोजना गर्ने तयारी गरेको छ । यदी यस्तो प्रतियोगिता हुन सके धेरै राम्रो हुने र धेरै खेलाडीहरु पनि आउने उनको विश्वास छ ।

अक्षय कुमारसँगको भेट उनलाई विशेष लाग्छ, ‘टाढैबाट देख्दा पनि नमस्ते के छ भन्नुभयो । गुड डिसिप्लेन भन्नुभयो ।’ क्रिकेटर विराट कोहली लगायत अन्य चर्चित सेलेब्रेटीहरु समेत भेट भएको उनले बताए ।

सिरहादेखि प्रो कबड्डीसम्मको यात्रा

लालमोहरका बुबाको इच्छा थियो छोराले ठूलो भएर देशको सेवा गरोस्, परिवारको नाम राखोस् । सिरहाको सामान्य परिवारमा जन्मेका लाल मोहरले पनि सानैदेखि त्यसैका लागि मिहिनेत गरे । पढाइ राम्रै थियो, खेलकुदमा पनि सानैदेखि रुचि बढाए । गाउँमा रहँदा प्रायः सबै खेल खेलेका छन् ।

पिताको इच्छाअनुसार उनी देशको सेवा गर्न नेपाली सेनामा भर्ती भए । सेनाबाटै खेलाडी बनेर उदाए, अन्तर्राष्ट्रिय फ्रेञ्चाइज लिगसम्म पुगेर परिवारको नाम राखे ।

३१ वर्षीय लालमोहरले कबड्डीको राष्ट्रिय टिमबाट खेल्न थालेको सात वर्ष भयो । त्यसअघि उनी २०६८ सालमा आर्मीमा भर्ती भएर २०७२ सालदेखि त्रिभुवन आर्मी क्लबमा आवद्ध भएका हुन् ।

लालमोहरले सिराहकै श्री सत्यनारायण सूर्यनारायण बहुमुखी क्याम्पसबाट प्लस टू सम्मको अध्ययन पूरा गरेपछि नेपाली सेनामा जागिर सुरु गरे ।

‘बुबाको चाहना छोराले देशका लागि सेवा गरोस् भन्ने थियो । म सानै देखि कुस्ती खेल्थें । कबड्डीबारे सुनको थिएँ तर खेलेको थिइनँ । फिजिकल फिटनेस पनि राम्रो भएकाले आर्मी हुन कठिन भएन,’ उनले भने ।

आर्मीको आन्तरिक तालिम र प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि उनी क्लबमा पुगेका हुन् । तालिममा शारीरिक रुपमा बलियो भएपछि उनलाई कबड्डी खेलाडीका रुपमा क्लवमा बोलाइएको थियो । प्रधानसेनापति ट्रफीमा उनको मध्यपृतना टिमले लगातार तीन पटक उपाधि जितेपछि उनको कबड्डी यात्रा सुरु भएको हो ।

लालमोहरसहितको आर्मीको कबड्डी टिमले सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र त्यसबीचमा भएको राखेप च्याम्पियनसिपमा स्वर्ण पदक जित्यो । सेनामा अमलदार रहेका लालमोहरले त्रिभुवन आर्मी क्लब र नेपालका लागि लगातार खेल्दै आएका छन् ।

राष्ट्रिय टिममा प्रवेश

२०७३ सालमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रमा स्वर्ण जितेपछि लाल मोहर राष्ट्रिय टिमा पनि छनोट भए । सन् २०१६ मा भारतको गुवाहटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो ।

त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको १८ औं एसियन गेम्समा पनि उनले सहभागिता जनाए । जहाँ नेपालले समूह बीमा पाँच खेल खेल्दा चार खेलमा पराजित भएको थियो भने मलेसियालाई हराएको थियो । महेश बोहराको कप्तानीमा रहेको नेपाली टिमको उपकप्तान उनै लालमोहर थिए ।

नेपालले मलेसियालाई २९–१७ ले हराएको थियो । जापानसँग तीन र इण्डोनेसियासँग चार अंकको अन्तरले नेपाल पराजित भएको थियो ।

‘हामीले त्यहाँ मलेसियालाई हरायौं । जुन हाम्रो लागि खुशीको क्षण थियो । जापानसँग पनि हामी जित नजिक थियौं । तर अन्तिमतिर राम्रो प्रदर्शन गर्न नसक्दा पराजित भएका थियौं,’ लालमोहरले एसियन गेम्सको अनुभव सुनाए ।

एसिनन गेम्सपछि उनले २०१९ मा नेपालमै भएको १३औं साग खेले । यस्तै बंगलादेशमा भएको बंगबन्धु अन्तर्राष्ट्रिय प्रतियोगिता पनि दुई पटक खेलिसकेका छन् ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?