+
+

काठमाडौंमा भारी वर्षा, नदी किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते ६:५५
फाइल तस्वीर

२९ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा गएराति ठूलो पानी परेको छ । मनोहरा, गोदावरी, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले आज बिहान ५ बजे जारी गरेको सूचना अनुुसार सबै नदीमा जलसतह बढ्दो छ । यद्यपि मनोहरामा जलसतह सतर्कता आसपाससम्म पुग्न सक्ने अनुमान विभागले गरेको छ । अहिले भने काठमाडौंमा पानी पर्न रोकिएको छ तर अझै केही घण्टा नदी किनारको सडकमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे अध्यावधिक गरेको मौसमी बुलेटिनमा लेखिए अनुसार गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

आज राति भने प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना महाशाखाले औंल्याएको छ ।

यद्यपि आगामी ३ दिनसम्म नेपालका प्रमुख नदीहरुको जलसतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?