+
+

भलिबल संघको कार्यसमिति ४१ जनाको हुने, ९ उपाध्यक्ष रहने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १ गते १९:३९

१ भदौ, काठमाडौं । नेपाल भलिबल संघको कार्यसमिति ४१ सदस्यीय हुने भएको छ । भलिबल संघको संशोधित विधान अनुसार कार्यसमितिमा दुई पदाधिकारी थप गर्ने प्रस्ताव गरिएको छ । यसपछि ३९ सदस्यीय कार्यसमिति अब ४१ सदस्यीय हुनेछ ।

भदौ २२ गते संघको निर्वाचन तथा वार्षिक साधारण सभा हुँदैछ । नयाँ खेलकुद ऐन अनुसार संघको निर्वाचनका लागि विधान संशोधन गर्नु अनिवार्य रहेकोले भलिबल संघले गंगाबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय विशान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

समितिले तयार पारेको मस्यौदालाई नेपाल भलिबल संघको मंगलबार बसेको नवौं पूर्ण बैठकले संशोधनसहित पारित गरेको हो ।

‘अब साधारण सभाले संशोधित विधान अनुमोदन गरेपछि अर्को पटक देखि यो व्वयस्था लागु हुनेछ । अहिलेको निर्वाचनबाट भने ३९ सदस्यीय कार्यसमिति नै हुनेछ,’ संघकी उपाध्यक्ष निरोज मास्केले भनिन् ।

थपिएका दुवै पदाधिकारी उपाध्यक्ष छन् । यसअघि ५ निर्वाचित सहित ७ उपाध्यक्ष हुने व्यवस्था थियो । संशोधित विधान अनुसार अब ९ उपाध्यक्ष हुनेछ ।

‘सातवटै प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सात उपाध्यक्ष निर्वाचित हुनेछन् । दुई जना उपाध्यक्ष मनोनित हुनेछ,’ अध्यक्षको दाबेदार रहेकी मास्केले भनिन् ।

निरोज मास्के ।

वर्तमान विधान अनुसार भलिबल संघमा २५ जना निर्वाचनबाट निर्वाचित हुने र बाँकी १४ जना मनोनित हुने व्यवस्था छ । नयाँ विधान अनुमोदन भएपछि २७ जना निर्वाचित हुने र १४ जना मनोनित हुनेछन् ।

मताधिकार संख्यामा पनि हेरफेर

यस्तै संशोधित विधानमा संघको निर्वाचनमा सहभागी हुने मताधिकार संख्यामा पनि हेरफेर गरिएको छ ।

जसमा केन्द्रिय कार्यसमितिका ससद्यहरु ४१ जना, प्रत्येक प्रदेश भलिबल संघबाट १ महिलासहित ३ जना प्रतिनिधि गरी २१ जना, प्रत्येक जिल्ला भलिबल संघबाट सिफारिस भइ आएका १-१ प्रतिनिधि गरी ७७ जना तथा पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरुमध्येबाट छनोट भइ आएका पुरुष तथा महिला १-१ गरी कूल १४१ जना हुनेछ ।

अहिले कुल १३६ मताधिकार रहेकोमा १३३ जनाले भदौ २२ गतेको निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

भलिबल संघ २०३३ सालमा स्थापना भएको ऐतिहासिक विषयलाई विधानमै उल्लेख गर्नुपर्ने भएकोले स्थापना दिनलाई पनि संशोधित विधानमा समावेश गरिएको छ । साथै खेलाडीको परिभाषा समेत समेटिएको छ ।

यसैगरी भलिबललाई स्थानिय तहसम्मै लैजानको लागि हरेक पालिकामा १३ सदस्यीय पदाधिकारी रहने संघ गठन गरिनेछ ।

संघीय संरचना अनुसार नेपाल भलिबल संघ ७ प्रदेश, ७७ जिल्ला र ७५३ पालिका सम्म विस्तार गरिने भएको छ । नेपाल भलिबल संघ गैरनाफामुलक संस्था हुने पनि संशोधित विधानमा उल्लेख गरिएको छ । यसअघि संघमा २० प्रतिशत महिला पदाधिकारी अनिवार्य रहेकोमा अब ३३ प्रतिशत महिला अनिवार्य हुनुपर्ने व्यवस्था राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?