+
+
भलिबल संघको निर्वाचन :

नेपाली भलिबलको संरचनात्मक विकास मास्केको मुख्य एजेण्डा

गोविन्दराज नेपाल/नमिता दाहाल गोविन्दराज नेपाल/नमिता दाहाल
२०७९ असार २४ गते ९:००
निरोज मास्के, उपाध्यक्ष, नेपाल भलिबल संघ

२४ असार, काठमाडौं । नेपाल भलिबल संघको केन्द्रीय कार्यसमिति निर्वाचनको मिति घोषणा भइसकेको छैन । नयाँ खेलकुद ऐनको अन्योलता र कोराना महामारीका कारण निर्वाचन हुन नसक्दा कार्यसमितिको पदावधि सकिएको दुई वर्ष पूरा भइसकेको छ । त्यसैले साउन ५ गते बस्ने संघको पूर्ण बैठकले सम्भवतः चुनावको मिति तय गर्नेछ ।

केन्द्रीय निर्वाचनका लागि ७७ जिल्ला र ६ प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । भलिबल संघले खेलकुद ऐन जारी हुनुअघि नै विधान संशोधन गरी संघीय संरचना कार्यान्वयन गरिसकेको हुनाले उसलाई निर्वाचन गर्न अब नीतिगत समस्या छैन ।

वर्तमान अध्यक्ष मनोरञ्जन रमण शर्माले नदोहोरिने घोषणा गरेपछि भलिबल संघले नयाँ नेतृत्व पाउने निश्चित छ । वर्तमान कार्यसमितिकी उपाध्यक्ष निरोज मास्केले संघको पहिलो महिला अध्यक्षको इतिहास कोर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेको २०७७ भदौमै हो । नेतृत्वको तयारीमा दुई वर्षदेखि सक्रिय मास्केबाहेक अन्यले अहिलेसम्म उम्मेदवारी घोषणा गरेका छैनन् ।

अर्का उपाध्यक्ष यामबहादुर गुरुङ, महासचिव जितेन्द्रबहादुर चन्द पनि नेतृत्वका आकांक्षी छन् । तर, उनीहरुले अहिलेसम्म औपचारिक घोषणा गरेका छैनन् । सेन्ट्रल एसियाली भलिबल संघका कोषाध्यक्षसमेत रहेका महासचिव चन्दले निर्वाचनको मिति घोषणा नहुञ्जेल आफूले उम्मेदवारी दिने/नदिनेबारे केही नबोल्ने बताएका छन् ।

अहिलेसम्म चुनावी मैदानमा अध्यक्षको एक्ली उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरेकी निरोज मास्केले अनलाइनखबरसँगको कुराकानीको क्रममा आफ्नो चुनावी एजेण्डा, अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गरिन् । अन्तरमुखी स्वभावकी मास्केका अधिकांश योजना सैद्धान्तिक देखिन्छन् । व्यवहारिक योजनाबारे प्रश्न गर्दा उनले आफ्नो टिमले विस्तृत योजनाको मस्यौदा बनाउँदै गरेको बताइन् ।

भलिबल संघलाई व्यवस्थित गर्ने, राष्ट्रिय टिम बलियो बनाउने, नेपाली भलिबलको संरचनात्मक विकास गरी देशभर भलिबलको पहुँच विस्तार गर्ने र पूर्वाधारका विकासका लागि सरकार र निजी क्षेत्रसँग सहकार्य गर्ने उनका मुख्य एजेण्डा हुन् । करिव डेढ दशकदेखि भलिबलमा सक्रिय मास्के एक–एक कार्यकाल सदस्य र कोषाध्यक्ष हुँदै उपाध्यक्ष बनेकी हुन् ।

सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलका रुपमा घोषणा गरेको थियो । तर, संघ सञ्चालन, संरचनात्मक बेथिती, प्रतियोगिता व्यवस्थापन र राष्ट्रिय टिम तयारीमा संघ भगवान भरोसामा चलेको छ । फुटबल र क्रिकेटमा जस्तै भलिबलमा अन्तर्राष्ट्रिय मातृ संस्थाबाट आर्थिक सहयोग हुँदैन । सरकारी बजेटको सीमितताले लगानीको वातावरण बनेको छैन । ३९ सदस्यीय जम्बो टिमको कार्यसमिति स्वयम्सेवकका रुपमा संघमा रहन्छ । मास्के आफू निर्वाचित भएमा संघको व्यवस्थापन सुधार्न चाहन्छिन् । ‘भलिबल संघले जति गर्नुपर्ने थियो गर्न सकेन । नसकेको कामकुराहरु धेरै छन्, हामीसँग ऐतिहासिक अभिलेखसमेत छैन,’ उनले भनिन्, ‘राष्ट्रिय खेल भनेपछि यो राष्ट्रव्यापी हुनुपर्छ । भलिबलको सन्जाल देशभरी नै छ । देशभर यो खेल परिचित छ । तर, संरचनात्मक रुपमा हाम्रो पहुँच पुग्न सकेको छैन । ग्रासरुटदेखि नै यसको संरचना र पूर्वाधार विकास गर्नुपर्नेछ ।’

डेढ दशकदेखि संघमा सक्रिय हुँदा पनि भलिबललाई स्थापित गर्न नसकेकोमा उनमा आफैंप्रति गुनासो छ । यसबीचमा राष्ट्रिय खेलको विकास र प्रगतिका लागि पर्याप्त पहल नभएको मास्केको दाबी छ ।

हरेक जिल्लामा कम्तिमा एउटा एकेडेमी स्थापना गर्ने योजना

२०३३ सालमा राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएको भलिबलको लोकप्रियता घट्दो क्रममा छ । तत्कालीन समयमा विद्यालयस्तरमा सबैभन्दा लोकप्रिय खेल थियो । खेलाडी उत्पादनमा विद्यालयले ठूलो भूमिका खेलेका थिए । ०४० को दशकमा संस्थानहरुले भलिबल टिम स्थापना गरी यसको उत्थानका लागि ठूलो सहयोग गरे ।

भलिबलको आधिकारिक ग्रासरुट कार्यक्रम अहिलेसम्म सञ्चालन भएको छैन । उमेर समूहको टिम नै बनाइएको छैन । जसले अन्तर्राष्ट्रिय सहभागितामा असर परेको स्वयम् संघका पदाधिकारीहरु स्वीकार्छन् । मास्केले पनि ग्रासरुट भलिबल कार्यक्रम सञ्चालनदेखि उमेरसमूहको टिम निर्माण गर्ने आफ्नो प्राथमिकता सुनाइन् । केन्द्रमै भलिबलको एउटा एकेडेमी नभएको अवस्थामा उनले हरेक जिल्लामा कम्तिमा एउटा एकेडेमी स्थापना गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरिन् ।

‘यो असम्भव कुरा होइन । हामीलाई केन्द्रमा एउटा एकेडेमी अत्यावश्यक भइसकेको छ । जिल्लास्तरमा पनि हरेक जिल्लामा एकेडेमी बनाउनुपर्छ,’ उनले भनिन्, ‘स्थानीय तहसँगको सहकार्यमा विद्यालयस्तरमा भलिबलको पहुँच विस्तार गर्ने, खेलाडी उत्पादन गर्ने र उमेर समूहको तहगत टिम निर्माण गर्नेछौं ।’

राष्ट्रिय खेलको पूर्वाधार निर्माणका लागि सरकारले पछिल्लो दुई आर्थिक वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । तर, उल्लेख्य सफलता मिलेको छैन । अहिलेसम्म कभर्डहल निर्माणका लागि उपयुक्त जग्गा पहिचान भएको छैन । दुई वर्षदेखि बजेट फ्रिज हुने स्थिति छ । सरकारले आगामी आर्थिक वर्षमा पनि कभर्डहल निर्माणका लागि १ करोड रुपैयाँ छुट्याएको छ । ‘हामी जति पनि छौं, सबै भलिबल विकासकै लागि यो क्षेत्रमा आएका हौं । यसकै लागि म पनि आउन चाहेको हुँ । सबैको साथ र सहयोग पाउनेमा म ढुक्क छु’, मास्केले भनिन् ।

पछिल्ला केही वर्षयता खेलाडी उत्पादनको मुख्य थलो क्लब बनेका छन् । संघको संरचनामा क्लबहरुलाई समाहित गरी व्यवसायिक बनाउने मास्केको अर्को योजना हो । यसले प्रतियोगितादेखि प्रशिक्षणसम्म सहयोग पुग्ने उनको विश्वास छ । छिट्टै देशभर आयोजना हुने प्रतियोगितालाई पनि वर्गीकरण गरेर राष्ट्रिय खेलाडीको सुरक्षामा ध्यान दिने उनले बताइन् । ‘हामीमा अनुसन्धानको कमी भइरहेको छ । निजी क्षेत्रलाई पनि भलिबलमा सामेल गर्न सक्छौं । यसका लागि पूर्वकार्यको समीक्षा तथा गर्न बाँकी योजनाको अनुसन्धान अपरिहार्य छ,’ उनले भनिन् ।

नेपालको महिला टिमले अन्तर्राष्ट्रियस्तरमा सम्भावना देखाएको छ । दुई दशकको इतिहासमा नेपालले लगातार दुईपल्ट सेन्ट्रल एसियन भलिबल प्रतियोगिताको उपाधि जितेको छ भने पछिल्लो दक्षिण एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेको छ । राखेपले नेपाली महिला टोलीलाई एसियाली खेलकुदमा सहभागी गराउने निर्णय लिएको छ । घरेलु प्रतियोगिताहरु पनि पुरुषको तुलनामा महिलाकै बढी छन् ।

पुरुष टिमले घरेलु र अन्तर्राष्ट्रिय दुवैमा कम एक्स्पोजर पाएका छन् । मास्केले खेलाडीहरुलाई वैदेशिक प्रशिक्षणदेखि नियमित अन्तर्राष्ट्रिय सहभागितामा वृद्धि गरिने बताएकी छन् ।

तस्वीर: आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?