+
+
Shares

विश्वकपसँगै फुटबल सम्बन्धी यी फिल्म हेर्ने कि !

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २ गते १३:५६

अहिले फुटबल विश्वकपको गर्मी छ ।

‘म यसको समर्थक, तिमी त्यसको’, ‘यो खेलाडीले यस्तो खेल्यो, यस्तो खेल्नु पर्ने’, ‘आज राम्रो खेल भयो’ ‘आज राम्रो खेलेन’ यी र यस्ता गफहरू अहिले जताततै सुनिन्छ । हाम्रो देश सहभागी छैन । तर, सहभागीभन्दा कम छैन । मध्यरातमा भता पनि फुटबल प्रशंसकहरू अनिदो बसेरै आफ्नो टिमको समर्थन गर्न खेल हेर्छन् ।

यही सन्दर्भमा फुटबलसम्बन्धी फिल्मको चर्चा गर्नु सान्दर्भिक हुन्छ । फिल्म त्यस्तो विधा हो, जसले जुनै क्षेत्रको पनि कथा भन्न सक्छ । स्वभाविक रूपमा फुटबल क्षेत्रको कथा नहुने भन्ने कुरै भएन ।

यो सूचीमा हामीले फुटबलर बन्ने संघर्षपूर्ण कथादेखि फुटबलरको बायोपिकसम्म, फुटबल क्लबको राजनीतिदेखि फुटबल फ्यानहरूको नराम्रो पाटोसम्म सम्मलाई समेटेका फिल्महरू बनेका छन् । फुलबल सम्बन्धी चर्चित केही फिल्मको कुरा गरौं:

१.पेले : बर्थ अफ अ लिजेन्ड

PELE

नाम झैं यो फिल्म ब्राजिलका महान् खेलाडी पेले (एडसन अरान्तेस दो नासिमेन्टो) को बाल्यकाल र प्रारम्भिक जीवनमा आधारित छ । फिल्मलाई जेफ जिम्बालिस्ट र माइकल जिम्बालिस्टले निर्देशन गरेका छन् ।

२०१६ मा आएको यो फिल्म ब्राजिलको साओ पाउलोको गरिब बस्ती ‘फाभेला’ बाट सुरु हुन्छ । सानो पेले (लियोनार्डो लिमा कार्भाल्हो / केभिन डे पाउला) खाली खुट्टा र फाटेको बल खेलिरहन्छ ।

उनका बुबा (सेउ जर्ज) पनि फुटबल खेलाडी थिए । तर चोटका कारण खेलबाटै टाढिनुपर्‍यो । तर, पेलेको असाधारण प्रतिभा देखेर उनी ब्राजिलको राष्ट्रिय टिम (सेलेसाओ) मा छानिन्छन् । र, मात्र १७ वर्षको उमेरमा १९५८ को फिफा विश्वकपमा सहभागी हुन्छन् । उनले आफ्नो देशलाई विश्व च्याम्पियन नै बनाउन महत्वपूर्ण भूमिका खेल्छन् ।

समग्रमा फिल्मले पेलेलाई नजिकबाट बुझ्न मद्दत गर्छ ।

२.द ड्याम्ड युनाइटेड

डेभिड पिसको चर्चित उपन्यासमा आधारित यो फिल्म २००९ मा आएको थियो । टम हुपरले निर्देशन गरेको यो फिल्मले ब्रायन क्लफले १९७४ मा ४४ दिन एउटा क्लबमा बिताएको दिनहरूको कथा भन्छ ।

ब्रायन क्लफ लिड्स युनाइटेड क्लबको म्यानेजर बनेका थिए । उनी अत्यन्तै कन्फिडेन्ट, मुखर र प्रतिभाशाली थिए । क्लफ र उनका सहायक पिटर टेलरले दोस्रो डिभिजनको कमजोर टोली ‘डर्बी काउन्टी’ लाई कडा मिहिनेत गरेर इङ्ल्यान्डको च्याम्पियन बनाएका थिए ।

तर लिड्स युनाइटेडका पूर्व म्यानेजर डन रेभी (कोल्म मिनी) सँग उसको पुरानो व्यक्तिगत द्वन्द्व छ । त्यो द्वन्द्वले के–के निम्त्याउँछ ? कस्तो परिस्थिति सिर्जना गर्छ ? बाँकी कथा फिल्मले भन्दै जान्छ ।

३.बेन्ड इट लाइक बेकह्याम

२००२ मा बनेको यो ब्रिटिश कमेडी ड्रामा फिल्म हो । यसका निर्देशक गुरिन्दर चढ्ढा हुन् । यो फिल्म खेल, परिवार, संस्कृति र सपनाको कथा हो । अहिले विश्वकप चलिरहेका बखत तपाईंले यो फिल्म हेर्न सक्नुहुने छ । फिल्ममा हामीले मुख्य पात्रको रूपमा जेस्मिन्दर ‘जेस’ भाम्रा (पर्मिन्दर नागरा) १८ वर्षकी ब्रिटिश भारतीय सिख केटी देख्छौं । उनी फुटबल खेल्न अत्यन्तै मन पराउँछिन् । डेभिड बेकहम उनका ठूला आइकन हुन् ।

उनी डेभिड झैं बन्न चाहन्छिन् । व्यावसायिक रूपमा फुटबल खेल्ने उनको सपना छ । तर उनका बुबाआमा (आनुपम खेर र आमा शाहिन खान) ले फिटिक्कै त्यो कुरा मन पराउँदैनन् । उनीहरू जेसलाई पढाइमा ध्यान दिन, राम्रो सँग खाना पकाउन र भारतीय केटासँग विहे गरेर बस्नभनिरहन्छन् ।

फिल्मले जेसको आफ्नै सपना, परिवारको अपेक्षा, संस्कृति लगायतका विषय देखाउँछ । भनौं न, एउटा कट्टरपन्थी समाजमा आफ्नो सपना पछ्याउन कति गाह्रो हुन्छ भन्ने कुरा नै फिल्मको मुख्य विषयवस्तु हो ।

४. गोल !

पूरा नाम गोल ! द ड्रिम बिगिन्स भएको यो फिल्म सन् २००५ मा बनेको ब्रिटिश स्पोर्ट्स ड्रामा फिल्म हो । यसका निर्देशक ड्यानी क्यानन हुन् । यो फिल्म फुटबलप्रतिको लगाब, गरिबीबाट माथि उठ्ने संघर्ष र सपना पूरा गर्ने कथा भन्ने हो । यो गोल ट्रिलोजीको पहिलो भाग पनि हो ।

फिल्ममा मुख्य पात्रका रूपमा सान्तियागो मुनेस (कुनो बेकर) छन् । उनी मेक्सिकन मूलका युवा हुन् । उनी अमेरिकाको लस एन्जेलसको बारियो क्षेत्रमा बस्छन् । परिवारसँगै काम गर्छन् । बाल्यकालदेखि नै फुटबलप्रति उनको अत्यन्तै झुकाव हुन्छ ।

तर, उनका बुबा (टोनी प्लाना) ले फुटबललाई समयको बर्बादी मात्र मान्छन् । फुटबल खेल्न छाडेर परिवारको व्यवसायमा लाग्न भन्छन् । तर एक दिन न्यूकासल युनाइटेडका पूर्वखेलाडी तथा स्काउट ग्लेन फोय (स्टिफेन डिलेन) ले सान्तियागोलाई स्थानीय खेलमा देखेपछि उनीहरूलाई इङ्ल्यान्डको प्रोफेसनल क्लबमा ट्रायलको मौका दिन्छन् ।

त्यसपछि सान्तियागोको जीवनमा के हुन्छ ? के उनी परिवारसँग विद्रोह गरेर जान्छन् ? फिल्मले बाँकी कथा भन्छ ।

५.फिभर पिच

यो सन् १९९७ मा बनेको ब्रिटिश रोमान्टिक कमेडी-ड्रामा फिल्म हो । फिल्म निक होर्नबीको किताब फिभर पिच: अ फ्यान्स लाइफमा आधारित छ । यसका निर्देशक डेभिड इभान्स हुन् ।

फिल्मको कथा पल एशवर्थ (कोलिन फर्थ) नामक पात्रबाट देखाइएको छ । उनी लन्डनको एक स्कूलमा पढाउँछन् । र, उनी आर्सनल फुटबल क्लबको फ्यान हुन्छन् । सकेसम्म यो क्लबको खेल उनी कहिल्यै छाड्दैनन् ।

एक दिन स्कुलमा नयाँ शिक्षिका सारा ह्युजेस (रुथ जेमेल) सँग उनको भेट हुन्छ । दुवैबीच प्रेम सम्बन्ध सुरु हुन्छ । तर, पलको आर्सनलप्रतिको अत्यधिक लगाबले गर्दा सम्बन्धमा समस्या निम्तिन थाल्छ । त्यो कस्तो समस्या हो ? त्यसले केके गाह्रो बनाउँछ ? उनीहरूलाई के हुन्छ ? यी यस्ता कथा भन्दै फिल्म अघि बढ्छ ।

६.शाओलिन सकर

कुङ फु र फुटबल जोडेर बनाइएको शाओलिन सकर (२००१) हङकङको स्पोर्ट्स कमेडी-एक्शन फिल्म हो । यसका निर्देशक तथा मुख्य अभिनेता स्टिफेन चाउ हुन् । उनले दुई खेललाई जोडेर कथा देखाइएको हुँदा फिल्म अत्यन्तै रमाइलो र कल्ट क्लासिक बन्न पुगेको छ ।

फिल्मको मुख्य पात्रको रूपमा सिङ (स्टिफेन चाउ) छन् । उनी शाओलिन मन्दिरका पूर्व भिक्षु हुन् । उनी शाओलिन कुङ फुलाई संसारमा लोकप्रिय बनाउने सपना देख्छन् । उनी ‘माइट स्टिल लेग’ नामले चिनिन्छन् । किनकि उनको खुट्टा अत्यन्त शक्तिशाली छ ।

एकदिन उनलाई पुरानो फुटबल स्टार गोल्डेन लेग फङ (एन म्यान-ट्याट) ले भेटिन्छन् । उनीहरूले शाओलिनका अरू भाइहरूलाई जम्मा गरेर ‘टीम शाओलिन’ बनाउँछन् । त्यसपछि उनीहरूले कुङ फुको शक्ति प्रयोग गरेर फुटबल खेल्न थाल्छन् । त्यसपछिको कथा नै फिल्मको मुख्यविषयवस्तु हो । समग्रमा फिल्म हास्य, एक्शन, रोमान्स र प्रेरणा मिश्रित छ ।

७.द किपर

यो सन् २०१८ मा बनेको ब्रिटिश-जर्मन बायोपिक ड्रामा फिल्म हो । निर्देशक मार्कस एच. रोजेनमुल्लर हुन् । यो फिल्म म्यानचेस्टर सिटीका प्रसिद्ध जर्मन गोलकिपर बर्ट ट्राउटम्यानको सत्य कथामा आधारित छ ।

दोस्रो विश्वयुद्धको अन्त्यतिर जर्मन प्याराट्रुपर बर्ट ट्राउटम्यानलाई ब्रिटिश सेनाले पक्राउ गर्छन् । ब्रिटिश सेनाले उनलाई ल्यानकासायरको बन्दी शिविरमा राख्छन् । शिविर नजिकैको सानो फुटबल टिमका म्यानेजर ज्याक फ्रायरले बर्टको गोलकिपिङ देखेर उनीसँग खेल्न बोलाउँछन् ।

खेलकै कारण बर्टलाई स्वतन्त्रता पनि मिल्दै जान्छ । उनी स्थानीय टिमबाट पनि खेल्न थाल्छन् । त्यही क्रममा एउटा कैदी कसरी विश्वको उत्कृष्ट खेलाडी बन्न पुग्यो ? भन्ने कुरा नै फिल्ममा देखाइएको छ ।

८. ग्रीन स्ट्रीट हुलिगन्स

सन् २००५ मा बनेको यो ब्रिटिश-अमेरिकी क्राइम ड्रामामा ब्रिटेनको फुटबल समर्थकहरूबीचको हिंसा देखाइएको छ । मुख्य पात्र म्याट बकनर (एलिजाह वुड) हार्वर्ड विश्वविद्यालयका पत्रकारिता विद्यार्थी हुन् । उनी लागुऔषधको झुटा आरोपमा विश्वविद्यालयबाट निकालिन्छन् । त्यसपछि आफ्नी बहिनीको घर लन्डन जान्छन् ।

त्यहाँ उनलाई बहिनीको सासुरा पिट डनहम (चार्ली हन्नम) ले भेट्छन् । ती फुटबल क्लब वेस्ट ह्याम युनाइटेडका ठूलो समर्थक र ग्रीन स्ट्रीट एलिट नामक हुलिगन समूहको नेता हुन्छन् ।

र उसकै सहयोगमा हामीलाई म्याटको आँखाबाट फ्यानहरू बीचको हिंसा देखाइन्छ । यसरी यो फिल्मले फुटबलको रोमाञ्चक पक्षभन्दा हुलिगनिज्मको अँध्यारो पक्ष देखाउन सफल भएको छ ।

९. युनाइटेड

२०११ को यो फिल्मले म्यानचेस्टर युनाइटेड फुटबल क्लबको इतिहासमा भएको सबैभन्दा दुख:द् घटना, १९५८ को म्युनिक एयर डिजास्टर देखाउँछ ।

म्यानचेस्टर युनाइटेडको बस्बी बेब्स नामक युवा टिमलाई इतिहासकै सबैभन्दा युवा र प्रतिभाशाली टिम मानिन्थ्यो । यसलाई म्यानेजर म्याट बस्बीले तयार पारेका थिए । टिमले घरेलु तथा युरोपेली प्रतियोगिताहरूमा छोटो समयमा नै राम्रो गरिरहेको हुन्छ ।

तर बेलग्रेडबाट युरोपियन कप खेलपछि फर्कने क्रममा म्युनिकको एयरपोर्टमा विमान दुर्घटना हुन्छ । दुर्घटनामा ८ जना खेलाडीको मृत्यु हुन्छ । त्यसपछि के भयो ? घटनाहरू कस्ता भए ? भन्ने नै फिल्मको मुख्य विषयवस्तु रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?