+

खराब पिचका कारण क्यानडा र नेदरल्यान्ड्सबीचको लिग २ खेल रद्द

२०८३ असार  ३ गते ९:०८ २०८३ असार ३ गते ९:०८

३ असार, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत क्यानडाको किङ सिटीमा भएको क्यानडा र नेदरल्यान्ड्सबीचको एकदिवसीय खेल पिचको सुरक्षासम्बन्धी चिन्ताका कारण ४.१ ओभरमै रद्द गरिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले एक विकेट गुमाएर १५ रन बनाएको अवस्थामा खेल रोकिएको थियो । दोस्रो ओभरमा म्याक्स ओ’डाउड शून्यमै आउट भएका थिए । तर खेलाडीहरूको सुरक्षामाथि प्रश्न उठाउने गरी पिचबाट असमान बाउन्स आएपछि ब्याटरहरू पटक-पटक बलले प्रहार भएका थिए ।

लगातार खतरनाक बाउन्स देखिएपछि अम्पायर र खेल अधिकारीहरूले खेल रद्द गर्ने निर्णय गरेका हुन् । चार दिनअघि यही मैदानमा अमेरिका र नेदरल्यान्ड्सबीच भएको खेलपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पिचलाई ‘असन्तोषजनक’ मूल्यांकन दिएको थियो ।

त्यो खेलका म्याच रेफ्री फिल थोम्पसनले पिचलाई ‘अत्यन्त खराब’ भन्दै असमान बाउन्सका कारण खेलाडीहरूको सुरक्षामा जोखिम रहेको बताएका थिए । दुवै टोलीका कप्तानले पनि पिचप्रति असन्तुष्टि व्यक्त गरेका थिए । त्यसपछि आईसीसीको पिच तथा आउटफिल्ड निगरानी प्रणालीअन्तर्गत किङ सिटी मैदानलाई एक डिमेरिट अंक दिइएको थियो ।

आईसीसीको नियमअनुसार ‘असन्तोषजनक’ पिचले एक डिमेरिट अंक पाउँछ भने ‘खेल्न अयोग्य’ ठहर भएको पिचलाई तीन अंक दिइन्छ । यी अंक पाँच वर्षसम्म कायम रहन्छन् ।

यदि कुनै मैदानले पाँच वर्षभित्र कुल छ डिमेरिट अंक जम्मा गरेमा १२ महिनाका लागि अन्तर्राष्ट्रिय खेल आयोजना गर्न प्रतिबन्ध लाग्छ । १२ अंक पुगेमा दुई वर्षसम्म प्रतिबन्ध लाग्ने व्यवस्था छ ।

लगातार दुई खेलमा पिचको गुणस्तर र खेलाडीको सुरक्षामाथि गम्भीर प्रश्न उठेपछि किङ सिटी मैदान थप निगरानीमा पर्ने सम्भावना बढेको छ ।

खेल रद्द भएपछि दुवै टोलीले १-१ अंक बाँडेका छन् । लिग २ अंकतालिकामा तेस्रो स्थानको नेदरल्यान्ड्सको २८ खेलमा ३२ अंक भएको छ भने छैटौं स्थानको क्यानडाको समान खेलमा २४ अंक भएको छ ।

तालिकामा नेपाल पनि २८ खेलमा २४ अंक जोडेर नेट रन रेटका आधारमा पाँचौं स्थानमा छ ।

लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय