+
+

एक वर्षमा भ्रमण आय साढे ३२ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते १९:४९
फाइल तस्वीर

२ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण प्रभावित पर्यटन क्षेत्रमा देखिएको सुधार क्रमशः आम्दानीमा समेत देखिन थालेको छ । आर्थिक वर्ष २०७८/७९ मा भ्रमण आय सकारात्मक बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यस आवमा भ्रमण आय ३२ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । भ्रमण व्यय ९७ अर्ब ३२ करोड रुपैयाँ रहेकोमा ६७ अर्ब ७० करोड रुपैयाँ शिक्षाका लागि विदेशिएको हो । यस अनुसार नेपाली नागरिकले शिक्षामा बाहेक भ्रमणको प्रयोजनमा विदेशमा २९ अर्ब ६२ करोड खर्च गरेका छन् ।

यसरी भ्रमण आय २ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । पर्यटनबाट हुने आय गत आर्थिक वर्ष २०७७/७८ मा मात्र ७ अर्ब २६ करोडमा खुम्चिएको थियो । सो वर्ष पर्यटक आय समेत नराम्रोसँग प्रभावित भएको हो । आर्थिक वर्ष २०७६/७७ मा भने ६० अर्ब ८५ करोड रुपैयाँ भ्रमण आय रहेको थियो । सो आवको अन्तिम चार महिनामा भने कोरोना महामारीले पर्यटक आगमन ठप्प भएको थियो ।

कुन आवमा कति भ्रमण आय ?

  • आव २०७६/७७ : ६० अर्ब ८५ करोड
  • आव २०७७/७८ : ७ अर्ब २६ करोड
  • आव २०७८/७९ : ३२ अर्ब ४४ करोड

सन् २०१९ मा नेपालमा कीर्तिमानी संख्यामा पर्यटक आगमन भएको थियो । सो वर्ष ११ लाख ९७ हजार १९१ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा सरकारले भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भित्राउने लक्ष्य लियो । तर, भ्रमण वर्ष शुरु भएको २ महिना भित्रै कोरोना महामारी र लकडाउन शुरु भयो । यसबाट लगातार पर्यटक आगमन प्रभावित भइरह्यो ।

सन् २०२० मा २ लाख ३० हजार पर्यटक आएकोमा सन् २०२१ मा मात्र १ लाख ४९ हजार ८३३ जना पर्यटक नेपाल आए । सन् २०२२ मा भने पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को जुलाईसम्म २ लाख ८२ हजार १२२ जना पर्यटक नेपाल आइसकेका छन् ।

नेपालबाट भने कति मानिस भ्रमणको प्रयोजनमा बाहिरिन्छन् भन्ने यकिन तथ्यांक छैन । अध्यागमन विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कुल १६ लाख २३ हजार ४ सय ८४ जना नेपाली विदेश गएका छन् । यो संख्या वैदेशिक रोजगारी, शिक्षा, स्वास्थ्य–उपचार, व्यापार, सरकारी तथा औपचारिक भ्रमण, संयुक्त राष्ट्रसंघमा खटिने कर्मचारी र भ्रमणका सिलसिलामा गएकाहरुको संयुक्त संख्या हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?