+
+

नेपाली रेल चढ्न तछाडमछाड

नेपालको एक मात्र रेलवे सेवा कुर्था–जयनगर रेलमा यात्रा गर्ने यात्रुको चाप धेरै हुँदा रेल चढ्न यात्रुहरुले एउटा युद्ध नै जितेको अनुभव गर्ने गर्छन् ।

अच्युत पुरी अच्युत पुरी
२०७९ भदौ ६ गते २०:१०

६ भदौ, जनकपुर । धनुषाको इनर्वाबाट जनकपुर आएका नवीनकुमार दास कुर्था–जयनगर रेलमार्गको जनकपुर हल्टमा रेल कुर्दै थिए । सरकारी कामको सिलसिलामा जनकपुर आएका उनी रेल चढ्न आइतबार साँझ पौने ५ बजेतिर जनकपुर हल्ट (स्टेसन) आएका थिए ।

कुर्थातर्फ गएको नेपाली रेल जब जनकपुर आइपुग्यो, छिनभरमै उनी रेल चढे । कुर्थाबाटै सिट भरिभराउ आएको रेलमा जनकपुरबाट सयौं मानिस चढे ।

जब रेल रोकियो, तब सुरु भयो दौडादौड । रेल करिब ५ मिनेट जनकपुर हल्ट (स्टेसन) मा रोकियो । सयौं मानिस रेल भित्र प्रवेश गर्‍यो । रेलले लामो हर्न बजायो र सुस्त सुस्त लम्कियो परवाह हल्टतर्फ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले सञ्चालन गरेको यो नेपालको एक मात्र रेल हो । यो रेल जनकपुरस्थित कुर्थाबाट भारतको जयनगरसम्म चल्छ । कुल ८ वटा स्टेशनमा रेल रोकिन्छ । रोकिएको स्थानमा यात्रुलाई चढाउने र झार्ने गरिन्छ ।

त्यहाँबाट छुटेको रेल जनकपुर, परवाहा, बैदेही, महिनाथपुर, इनर्वा र जयनगर स्टेशनमा रोकिन्छ । जनकपुरबाट कुर्था पुगेको सामान्य कोचमा २० रुपैयाँ भाडा लाग्छ । हरेक स्टेशनमा यस्तै भीड हुने गरेको यात्रुहरु बताउँछन् । यो रेल अहिले ३५ किलोमिटर लामो छ । जयनगरबाट बर्दिबाससम्म कुल ६९ किलोमिटर रेल मार्गको एक खण्ड हो कुर्था–जयनगर ।

३५ किलोमिटर लामो कुर्था–जयनगर रेलको यात्रा अवधि साढे १ घण्टाको हो । रेल चलेपछि भीड भए पनि यात्रा धेरै सहज भएको अनुभव छ जनकपुरबाट धनुषाकै खजुरी जान रेल कुरेकी यमुना साहको । ‘जनकपुर आएका बेला गाउँ फर्किन गाडी नै नपाउने समस्या धेरै कम भइसक्यो’, उनी भन्छिन्, ‘तर, रेलमा मानिस चढ्ने र झर्ने व्यवस्थापन राम्रो नहुँदा यात्रा सहज भने छैन ।’

दैनिक दुई पटक सेवा

अहिले जयनगरबाट दैनिक दुई पटक रेल आउँछ । जयनगरबाट बिहान छुटेको रेल जनकपुरमा बिहान साढे ९ बजे तिर आइपुग्छ । यो रेल ११ बजे तिर कुर्थाबाट जयनगरका लागि छुट्छ ।

साँझ ४ बजेतिर पुनः जनकपुरमा रेल आउँछ । यो रेल साँझ ५ बजेतिर जयनगरतर्फ फर्कन्छ । स्थानीय यात्रुहरुका अनुसार अहिले जनकपुरबाट सबैभन्दा धेरै यात्रु चढ्छन् । हरेक पटक उस्तै भीड हुने गरेको उनीहरुले बताए । यसले रेलयात्रा क्रमशः स्थानीयबीचमा अभ्यस्त हुँदै गएको पाइएको छ ।

रेल चढ्न जाने यात्रुलाई शहरबाट स्टेशनसम्म लैजाने अटो रिक्साले समेत जनकपुरमा पर्याप्त व्यापार गरेका छन् । स्टेशन आसपास जुस तथा चना–चटपटे पसल गर्नेहरु समेत बढेका छन् ।

अहिले चलिरहेको रेलको गति अधिकतम ११० किलोमिटर प्रतिघण्टा हो । तर, बाक्लो बस्ती हुँदै जाने भएकाले रेल सुस्त गतिमा गुड्छ । यो रेल अगाडि र पछाडि दुवै तर्फबाट गुडाउन मिल्ने गरी डिजाइन गरिएको हो । सोही कारण रेल फर्काउनु पर्दैन । नेपालको रेलमा कुल ५ वटा डिब्बा छन् । एउटा डिब्बा वातानुकूलित छ । रेलले एक पटकमा १३ सय भन्दा बढी यात्रु बोक्ने क्षमता राख्छ ।


चन्द्र शम्शेरको पालाको रेलमार्ग

जनकपुर-जयनगर रेलमार्गले ८ दशक पुरानो बिरासत बोकेको छ । राणा प्रधानमन्त्री चन्द्र शम्शेरको पालामा सन् १९३०को दशकमा खुलेको यो रेलमार्ग सन् २०१४ देखि मर्मतका लागि भनेर बन्द गरिएको थियो । यसअघि यो रेलमार्ग ‘न्यारो गेज’मा थियो ।

जानकारहरुका अनुसार सुरुमा यो रेलमार्ग नेपालबाट भारतमा काठ ढुवानी गर्न प्रयोग हुन्थ्यो । पछि यसमा यात्रुबाहक रेल पनि चलाउन थालिएको थियो ।

अहिले भारतीय लगानीमा रेलमार्गलाई ब्रोडगेजमा विस्तार गरिएको छ । ब्रोडगेज भारतमा प्रयोग हुने रेल्वे प्रविधि हो, अहिले धेरैजसो रेल चलाउने देशले ब्रोडगेज हटाएर स्टान्डर्ड गेजमा आफ्नो रेल विस्तार गरेका छन् ।

सन् २०१४पछि रेल बन्द गरेर ब्रोडगेजमा रुपान्तरणको काम भारत सरकारले आफ्नै लगानीमा गरिदिएको हो । त्यसका लागि करिब १० अर्ब लाग्ने अनुमान भारतको थियो । तर, योजनाअनुसार बर्दिबाससम्म ७० किलोमिटरको रेलमार्ग बनाउनुपर्नेमा कुर्थासम्म करिब ३५ किलोमिटर मात्रै बनिसकेकाले कति खर्च भयो भन्ने एकीन छैन । अहिले कुर्थाबाट बिजलपुरा रेलमार्ग निर्माणको काम अन्तिम चरणमा छ । यो रुटमा पनि भारतले ब्रोडगेज रेलमार्ग बनाइरहेको छ । बिजलपुरादेखि बर्दिबाससम्म पनि भारतले नै रेलमार्ग बनाइदिने भनेपनि हालसम्म जग्गाको मुआब्जा प्रक्रिया टुंगिसकेको छैन ।

यो रेलमार्गलाई ब्रोडगेजमा विस्तार गर्न सन् २०१०मा तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका बेलामा एमओयू भएको थियो । त्यतिबेला तत्कालीन माधवकुमार नेपाल नेतृत्वको सरकारका पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरतसिंह भण्डारीले नेपालका तर्फबाट सो समझदारीमा हस्ताक्षर गरेका थिए ।

सो समझदारीअनुसार जयनगर-जनकपुर-बर्दिबाससहित जोगबनी-बिराटनगर रेलमार्ग निर्माण र स्तरोन्नतिको काम भइरहेको छ । न्यू जलपायुगुडी-काँकडभिट्टा, नौतन्वा-भैरहवा, नेपालगञ्ज रोड (रुपेडिया)-नेपालगञ्ज रेलमार्ग निर्माणको लागि पनि समझदारी भएपनि काम अघि बढाएको छैन ।

जनकपुर-जयनगर चल्ने नयाँ रेल ‘डिजेल इलेक्ट्रिक मल्टिपल युनिट’ प्रविधिमा आधारित हो ।यो रेल डिजेलबाट चल्छ । डिजेलले विद्युत उत्पादन गर्छ र बिजुलीबाटै रेल चल्छ ।

२०५६ सालपछि रेलमार्गमा डिजेलबाट चल्ने रेल चल्दै थियो । त्यसअघि कोइलाबाट चल्ने स्टिम इन्जिनयुक्त रेल थियो ।

यसको दुबैतर्फ इन्जिन जोडिएकाले रेल फर्काइरहनुपर्दैन । रेलको भित्र एसी जोडिएको छ । फराकिला र आरामदायी सिटहरु छन् । बीचमा उभिन ह्यांगरहरु छन् ।

यो रेल चलाउने जिम्मेवारी सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई दिइएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?