+
+

स्वास्थ्य पर्यटनबाट समृद्धिको मार्गचित्र

अहिले विश्वको करिब ८ अर्ब जनसङ्ख्या मध्ये झण्डै ३ अर्ब जनसंख्या रहेका दुई ठूला देशहरू चीन र भारतको बीचमा नेपाल अवस्थित छ। यहाँको पर्यटन विकासमा सरकारले विशेष ध्यान दिन सके केही दशकमा नै हामी समृद्ध बन्न सक्छौं।

प्रकाश परियार  प्रकाश परियार 
२०८१ वैशाख २५ गते ९:५७

पूर्वमा कञ्चनजंघादेखि पश्चिममा अपि पहाडसम्म हिउँले ढाकिएको सुन्दर र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ नेपाल। जैविक विविधतायुक्त बहुजातीय, बहुभाषिक, बहुधार्मिक र सामाजिक तथा सांस्कृतिक रूपमा सम्पन्न नेपाल विश्वमा पर्यटनको दृष्टिले एक प्रमुख गन्तव्य स्थलको रूपमा परिचित छ। नेपालको अर्थतन्त्रलाई सबल र सुदृढ गर्ने एक महत्वपूर्ण उद्योगको रूपमा पर्यटन क्षेत्रलाई लिइन्छ। पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्र विकासको एउटा आधार स्तम्भको रूपमा पनि लिइन्छ।  

नेपालमा थुप्रै खालका पर्यटन व्यवसायको प्रचुर सम्भावना रहेको छ। पर्वतारोहण, र्‍याफ्टिङ, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पुरातात्विक सम्पदाहरूको अवलोकन, उच्च स्थानमा रहेका हिमताल तथा प्राकृतिक सम्पदाहरूको अवलोकन, वन्यजन्तु तथा चराचुरुङ्गीहरूको अध्ययन अवलोकन गर्न अक्सर पर्यटकहरू नेपाल आउने गर्दछन्। 

हाम्रो जस्तो आयातमुखी अर्थतन्त्र भएको देशमा पर्यटन क्षेत्रमा गरिने लगानी र यस क्षेत्रको विकासले रोजगारी सिर्जनादेखि देशको कुल गार्हस्थ्य उत्पादनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ।

अहिले विश्वको करिब ८ अर्ब जनसङ्ख्या मध्ये झण्डै ३ अर्ब जनसंख्या रहेका दुई ठूला देशहरू चीन र भारतको बीचमा नेपाल अवस्थित छ। यहाँको पर्यटन विकासमा सरकारले विशेष ध्यान दिन सके केही दशकमा नै हामी समृद्ध बन्न सक्छौं। नेपालमा पर्यटन विकासको प्रबल सम्भावना रहँदारहँदै पनि यसमा राष्ट्रिय लगानी, पूर्वाधार विकास र उचित प्रवर्धनको अभावमा आशातीत प्रगति गर्न सकिएको छैन। 

नेपालमा पर्यटन विकासका नयाँ क्षेत्र खोज्दै जाँदा एउटा राम्रो र प्रचुर सम्भावना भएको क्षेत्र हो- स्वास्थ्य पर्यटन। यस लेखमा विशेषगरी स्वास्थ्य पर्यटनबारे उल्लेख गरिनेछ।  

के हो स्वास्थ्य पर्यटन? 

स्वास्थ्य पर्यटन (मेडिकल टुरिज्म) भनेको सहज र सर्वसुलभ रूपमा स्वास्थ्य सेवाहरूको खोजी गरी त्यसको सुविधा भोग गर्न एक देश वा भूगोलबाट अर्को देश वा भूगोलमा जाने प्रक्रिया हो। यस अन्तर्गत विशेषगरी चिकित्सकीय परीक्षणहरू, जटिल प्रकारका स्वास्थ्य सेवाहरू, आयुर्वेदिक उपचार, योग, ध्यान, प्राणायम, मिसावटरहित खानपिन जस्ता कुराहरू पर्दछन्। 

कुनै व्यक्ति आफू रहेको स्थानमा उपलब्ध स्वास्थ्य सेवाको पहुँच, त्यसको लागत, स्वास्थ्य सेवाको उपलब्धता, उपयोग गर्न लाग्ने समय र गुणस्तरलाई मध्यनजर गर्दै तुलनात्मक राम्रो स्वास्थ्य सेवा उपभोग गर्न एक ठाउँबाट अर्को स्थानमा जानुलाई स्वास्थ्य पर्यटन भन्न सकिन्छ।  

विश्वमा किन बढ्दैछ स्वास्थ्य पर्यटन? 

स्वास्थ्य विज्ञान अध्ययन र सेवाको उपभोग निकै खर्चालु हुन्छ। अनुसन्धान र परीक्षणमा निकै खर्च र समय लाग्ने गर्छ। ३/४ चरणको अध्ययन र परीक्षण विना मानव शरीरमा औषधि र उपचारको प्रयोग गर्न नमिल्ने र यी सम्पूर्ण प्रक्रियाको लागि उच्चस्तरको जनशक्ति र प्रविधि आवश्यक पर्छ। त्यसैले पनि स्वास्थ्य सेवा अरूको तुलनामा बढी खर्चिलो हुने गर्दछ।

अमेरिकन व्युरो अफ स्टाटिस्टिकले सन् २००० को जनवरीदेखि जूनसम्म विभिन्न सेवा र वस्तुहरूको मूल्य परिवर्तनको अध्ययन गरेको थियो। त्यसले सबैभन्दा बढी अस्पताल सेवाको करिब २५० प्रतिशत मूल्य परिवर्तन भएको देखिन्छ। यसले संसारमा सबैभन्दा बढी मूल्यवाला सेवा भनेको नै स्वास्थ्य सेवा हो र यसको महत्त्व जीवित प्राणीहरू सबैलाई उत्तिकै पर्ने देखिन्छ।

स्वास्थ्य पर्यटनको बढोत्तरी 

विश्वका अधिकांश देशहरूले स्वास्थ्य बीमालाई सफल रूपमा प्रयोग गरिरहेका छन् तथापि स्वास्थ्य बीमा प्रणालीले नसमेट्ने थुप्रै उपचार छन्। फलतः मानिसहरू ती सेवा प्राप्त गर्न लालायित हुन्छन्। त्यसैले पछिल्लो केही दशकमा स्वास्थ्य पर्यटनको सम्भावना बढिरहेको छ।  

विश्व बजारमा दन्त सेवा, कस्मेटिक उपचार, कृत्रिम गर्भाधारण (आईभीए), जटिल खालको क्यान्सर, मुटु रोग र न्यूरो रोगको उपचार जस्ता विभिन्न उपचार अत्यन्तै महँगो र खर्चिलो हुन्छ। त्यसैले सर्वसुलभ उपचारको खोजीमा स्वास्थ्य पर्यटन बढिरहेको छ।

सामान्यतः विकसित मुलुकमा स्वास्थ्य सेवा पनि निकै उत्कृष्ट हुन्छ। उपचार राम्रो, भरपर्दो र सफल भएतापनि सेवा लिनको लागि लामो समय पर्खिनुपर्ने, अत्यधिक रकम खर्च गर्नुपर्ने जस्ता कारणले पनि मानिस स्वास्थ्य पर्यटनमा निस्कन्छन्।  

आधुनिक विज्ञान र प्रविधिको युगमा हवाई सेवाको सहज उपलब्धता, ग्लोबल भिलेजको अवधारणा, विकासोन्मुख मुलुकमा सस्तो मार्केट, अनुकूल विनिमय दर, कम व्यावसायिक ज्याला, आधुनिक उपकरण तथा उच्च प्रविधिको विकास जस्ता कारणहरूले गर्दा पनि विश्वमा स्वास्थ्य पर्यटनको अवधारणा बढिरहेको छ।

सारा विश्व शिक्षित र प्रविधिमैत्री भइरहेकोले मानिसहरू आफ्नो स्वास्थ्यप्रति बढी सचेत देखिन्छन्। त्यही अनुपातमा स्वास्थ्य पर्यटनको चेतनामा पनि वृद्धि भइरहेको छ।  

नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना

स्वास्थ्य पर्यटकलाई आकर्षित गर्न हाम्रो स्वास्थ्य सेवालाई विश्वस्तरीय बनाउनुपर्छ। त्यसका लागि सरकारले कानुन, नीतिनियम र नियमन चुस्तदुरुस्त बनाउनुपर्छ। विद्यमान कानुनी जटिलतालाई सहज बनाउने, नीतिनियमहरू परिवर्तन गर्ने र कडाइको साथ नियमन गर्ने काम गर्नुपर्छ।

हुनत स्वास्थ्य सेवा र शिक्षालाई नाफामुखी व्यवसाय भन्दा पनि बढी सेवाको दृष्टिकोणले हेर्ने गरिन्छ। नागरिक निरोगी हुने कुराप्रति सरकार वा राज्यको पूर्ण जिम्मेवारी हुनैपर्छ। तथापि सरकार आफैं वा निजी वा सार्वजानिक निजी साझेदारी मार्फत लगानी गरेर स्वास्थ्य सेवालाई आम्दानीको स्रोतको रूपमा पनि लिन सकिन्छ। 

नेपालको अहिलेको परिवेशलाई मात्रै नियाल्ने हो स्वास्थ्य पर्यटनको सम्भावना अत्यन्तै न्यून देखिन्छ। अहिले हाम्रो देशमा स्वास्थ्यमा सर्वव्यापी पहुँच करिब ५४ प्रतिशत मात्रै पुगेको छ। यो तथ्याङ्कसँग नेपालको जनसाङ्ख्यिकी लाभको अवस्थालाई तुलना गर्दा हामी जहाँ छौं, त्यहींबाट अगाडि बढ्नुको विकल्प छैन। तसर्थ विश्व हिंडिरहेको दिशामा अगाडि बढ्नेतर्फ सोच्नुपर्दछ। 

समृद्धिको विभिन्न आयाममध्ये स्वास्थ्य पर्यटन एउटा सेतुको रूपमा रहन सक्छ। करिब तीन अर्ब जनसंख्याको बीचमा रहेको हाम्रो देशले त्यसको एक प्रतिशत मात्रै स्वास्थ्य पर्यटकहरू भित्र्याउन सकेमा समग्र पर्यटन व्यवसाय सफल हुन सक्छ। 

सन् २०२३ मा नेपालमा १० लाख १४ हजार ८८२ जना विदेशी पर्यटकहरू भित्रिएको र उनीहरूको औसतमा एक जनाको नेपाल बसाइँ जम्मा १३.२ दिन रहेको पाइएको छ। तीमध्ये कति जनालाई स्वास्थ्य सेवाको आवश्यक पर्‍यो र उपचार लिए भन्ने तथ्याङ्क भेटिंदैन।  

स्वास्थ्य पर्यटनको महत्त्व 

आधुनिक चिकित्सा प्रणाली हाम्रो देशको तुलनामा छिमेक लगायत अन्य देशमा धेरै नै गुणस्तरीय र उन्नत छ। आधुनिक चिकित्सा हाम्रो पूर्वीय सभ्यतासँग जोडिएको मौलिक प्रणाली होइन। यस्तो अवस्थामा आयुर्वेद, योग, ध्यान, प्राणायम, प्राकृतिक उपचार आदिलाई हिमालयको काख र प्रकृतिको अनुपम सौन्दर्यताको समिपमा स्थापना गरी त्यसको गुणस्तर कायम गर्न सक्ने हो भने यसबाट सबैभन्दा बढी स्वास्थ्य पर्यटनमा टेवा पुग्छ।

नेपालमा संसारकै उत्कृष्ट आँखाको लेन्स तिलगंगा आँखा प्रतिष्ठानले उत्पादन गर्दछ। मुटु र छालाका रोगहरू, कस्मेटिक उपचारहरू नेपालको तुलनामा अन्य मुलुकहरूमा अत्यन्तै महँगो र खर्चिलो भएको फाइदा पनि हामीले उठाउन सक्नुपर्दछ।

सरकार वा निजी क्षेत्रले लगानी गरी मेडिकल शिक्षाबाट पनि देशको आयस्रोतमा बढावा दिन सक्छ। यसको उदाहरण छिमेकी देश भारत नै हो। वर्षेनि लाखौं विद्यार्थी युरोप, अमेरिका, युद्धग्रस्त युक्रेन, रूस जस्ता देशहरूमा मेडिकल शिक्षाको लागि गइरहेका हुन्छन्। 

यसको केही अंश भारतको जस्तो हावापानी, संस्कृति, चालचलन मिल्ने हाम्रो देशमा ल्याउन सक्ने हो भने पनि शिक्षाको माध्यमबाट अर्थतन्त्रसँगै स्वास्थ्य पर्यटनमा समेत योगदान दिन सकिन्छ। उदाहरण हो क्युबा। हाम्रोभन्दा कम जनसंख्या भएको क्युबाले हजारौं स्वास्थ्यकर्मी उत्पादन गरी विकसित देशहरूमा पठाएर मनग्ये आम्दानी गरिरहेको छ।

नेपालको हिमाली र पहाडी भेगमा ठूला अस्पताल, उपचार केन्द्र, नेचुरल हिलिङ सेन्टर, योगाश्रम, प्राकृतिक ध्यान स्थल, पुनर्स्थापना केन्द्र आदिमा सरकार र निजी दुवै क्षेत्रले लगानी गर्ने हो भने नेपालमा स्वास्थ्य पर्यटन, आम्दानीको नयाँ स्रोतको रूपमा रहन सक्छ।

अहिले विश्वमा ज्येष्ठ नागरिकहरूको जनसंख्या तीव्र गतिमा बढिरहेको छ। स्वास्थ्य विज्ञानले मानिसहरूको उमेर बढ्दै जाँदा बिरामी पर्ने दर पनि बढ्ने कुरालाई स्वीकार गर्दछ र यो उमेर समूहका व्यक्तिहरूलाई छिटो–छरितो र लामो समयसम्म उपचार गर्नुपर्ने हुन्छ। यो अवस्थामा हाम्रो देशको हिमालको काखमा प्राकृतिक उपचार केन्द्रमा राखेर उपचार गर्ने वातावरण बन्यो भने आधा रोग त्यसै निको हुन सक्छ।

हाल नेपालमा मेडिसिटी, नर्भिक, ह्याम्स, ग्रान्डी लगायत केही निजी क्षेत्रका अस्पतालहरूले स्वास्थ्य पर्यटनको आंशिक रूपमा प्रयोग गरिरहेको भेटिन्छ भने यस्ता अस्पतालहरू केवल काठमाडौं (राजधानी) केन्द्रित मात्रै छन्। जसरी अहिले पर्यटकीय क्षेत्रहरूमा ठूला–ठूला रिसोर्टहरू निजी तवरबाट खुलिरहेका छन् त्यसै गरी ठूला अस्पताल, केन्द्र, योगाश्रम, ध्यान आश्रमहरू बनाउन जरूरी छ।

नेपालको लहान सगरमाथा चौधरी आँखा अस्पतालमा उपचार लिनेमध्ये करिब ६० प्रतिशत बिरामीहरू छिमेकी देश भारत र बंगलादेशका रहेका अस्पतालले दाबी गर्दै आएको छ। यसले मात्रै पनि नेपालमा स्वास्थ्य पर्यटनको सम्भावनाको बलियो संकेत गर्छ।  

६० लाखभन्दा बढी नेपालीहरू विश्वका विभिन्न देशमा स्थायी वा अस्थायी रूपले बसोबास गर्दै आइरहेका छन्। विशाल सङ्ख्यामा रहेका प्रवासी नेपालीहरू त्यहाँको महँगो स्वास्थ्य सेवा र स्वास्थ्य बीमाबाट उपचार गर्न लामो समय पर्खिनुपर्ने जस्ता कारण कतिपय सर्जरी, प्रसूति सेवासम्मका उपचारहरू नेपालमा आएर गर्छन्। अत: गैरआवासीय नेपालीहरू मार्फत स्वास्थ्य पर्यटनलाई प्रवर्धन गर्न सकिन्छ।

टेलिमेडिसिन मार्फत स्वास्थ्य उपचार गर्ने, स्वास्थ्य उपचारको लागि सजिलोसँग डाक्टरको समय लिन पनि सजिलो हुनसक्छ। समग्रमा, कम व्यावसायिक लागत, उपचारको लागि लामो समय पर्खनुपर्ने, प्राकृतिक तथा सांस्कृतिक रूपमा धनी देश भएकोले र आयुर्वेद, योगा, ध्यान, स्पा लगायतको उच्च सम्भावना रहेकोले नेपालमा स्वास्थ्य पर्यटनको सम्भावना प्रचुर देखिन्छ। 

अवसर 

निजी क्षेत्रले विभिन्न राष्ट्रहरूमा प्रदान गरिएका सबै प्रकारका स्वास्थ्य बीमा उपयोग गर्न मिल्ने रणनीति बनाउँदै सोही अनुसारको सेवा उपभोग गर्न अन्तर्राष्ट्रिय पर्यटकहरूलाई प्रोत्साहित गर्नुपर्छ

लागतमा बचावट: बिरामी भएकै कारण व्यक्ति गरिबीतिर धकेलिएका उदाहरण प्रशस्तै छन्। विकसित देशहरूसँगै छिमेकी देशको तुलनामा हाम्रो देशमा शल्यक्रिया, दन्त उपचार र कस्मेटिक उपचार सहित स्वास्थ्य सेवाको लागत कम भएकोले पर्यटकहरू नेपालमा उपचार गराउन आकर्षित बन्न सक्छन्। कम मूल्यमा स्तरीय सेवा प्राप्त गर्न लालायित हुनसक्छन्।

वैकल्पिक स्वास्थ्य उपचारको उपलब्धता: विकसित देशहरूमा उन्नत खालको आधुनिक चिकित्सा उपचार प्रणाली भएतापनि नेपालमा वैकल्पिक उपचार विधिहरू अभ्यासमा छन्। आयुर्वेद, योग, ध्यान, स्पा लगायतको प्रचुर सम्भावना रहेकोले त्यसको फाइदा लिन सक्नुपर्दछ। 

आधुनिक चिकित्सा प्रणालीको कच्चा पदार्थका रूपमा प्रयोग हुने जडीबुटी उत्पादनका लागि नेपालको उच्च पहाडी र हिमाली क्षेत्र उर्वर मानिन्छ। यसमा प्राथमिकता सहित काम गर्न सके प्रत्यक्ष फाइदा देशको अर्थतन्त्रमा पर्छ।  

 उपचारको लागि कम समय: विकसित देशहरूमा विशेषज्ञ चिकित्सकहरू मार्फत उपचार गर्न निकै समय पर्खिनुपर्ने हुन्छ। लामो समय कुर्न नसक्ने वा थप तत्काल उपचार खोज्ने बिरामीहरूको लागि नेपाल उत्तम विकल्प हुनसक्दछ।

पर्यटनसँग उपचारको संयोजन: नेपाल प्राकृतिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक लगायत विविधतायुक्त राष्ट्रको रूपमा चिनिन्छ। त्यसैले अवलोकन भ्रमणका लागि मात्रै नेपाल आउने पर्यटकहरूलाई स्वास्थ्य उपचारमा तान्न सकेमा यसले पर्यटनसँग स्वास्थ्य उपचारको संयोजन स्थापित गर्न सहयोग पुग्दछ।

चुनौती

गुणस्तर र सुरक्षा: नेपालमा अहिलेको सर्वाधिक चुनौती भनेको स्वास्थ्य सेवाको गुणस्तर, उच्च व्यावसायिक जनशक्ति र नेपाल भित्रिने पर्यटकको सुरक्षाको हो। यदि यी विषय चुस्तदुरुस्त राख्न सकियो भने नेपालमा स्वास्थ्य पर्यटनको उच्च सम्भावना रहेको छ।

भाषागत र सांस्कृतिक अवरोध: भाषागत अप्ठ्यारा र सांस्कृतिक भिन्नताहरूले पर्यटक र स्वास्थ्य सेवा प्रदायकहरू बीच सञ्चार प्रक्रियामा चुनौती सिर्जना हुनसक्छ। यसको उचित व्यवस्थापन भनेको स्वास्थ्य जनशक्तिहरूको संचार सीपमा विशेष ध्यान दिनु हो।

कानुनी र नैतिक बाधाहरू: स्वास्थ्य पर्यटनमा बिरामीहरूको अधिकार, उनीहरूको सुसूचित सहमति, चिकित्सकीय दायित्व र मेडिकल रेकर्डहरूको गोपनीयता सहित कानुनी र नैतिक चुनौती हाम्रो लागि समस्या बन्न सक्दछन्। यसको समाधानको लागि देशमा चिकित्सकीय अभ्यास र बिरामीको हेरचाह, नियन्त्रण गर्ने कानुनी ढाँचा र नियमहरूलाई कडाइका साथ परिपालन गर्नुपर्दछ।

पूर्वाधार विकास, जोखिमपूर्ण यात्रा र सरकारको संलग्नता: नेपालमा पूर्वाधारहरूको न्यून विकास, हवाई तथा सडक यातायातको सुरक्षामा कमि तथा यी सबै प्रक्रियामा सरकारको न्यून उपस्थिति हुनु अर्को चुनौती हो। तथापि स्वास्थ्य पर्यटनको बारेमा सरकारी तवरबाट अभियान संचालन गर्ने, त्यसको लागि पूर्वाधार विकासमा जोड दिंदै निजी क्षेत्रलाई संलग्न गराउने र हवाई तथा सडक सुरक्षामा विशेष ध्यान दिने हो भने सजिलै स्वास्थ्य पर्यटनको प्रवर्धन गर्न सकिन्छ।

सुझाव  

स्वास्थ्य पर्यटकलाई आकर्षित गर्न हाम्रो स्वास्थ्य सेवालाई विश्वस्तरीय बनाउनुपर्छ। त्यसका लागि सरकारले कानुन, नीतिनियम र नियमन चुस्तदुरुस्त बनाउनुपर्छ। विद्यमान कानुनी जटिलतालाई सहज बनाउने, नीतिनियमहरू परिवर्तन गर्ने र कडाइको साथ नियमन गर्ने काम गर्नुपर्छ। 

साथै, सरकारले भिसा प्रक्रियामा पनि सहजता ल्याउनुपर्छ। अहिलेको तीन महिनाभन्दा बढी बस्न नमिल्ने नीति परिवर्तन गरी स्वास्थ्य पर्यटकको लागि भिसा प्रक्रिया सजिलो, बिरामी व्यक्ति र उसको साथमा आउने अन्य हेरालुहरूलाई पनि सहज वातावरण र लामो समयको भिसा प्रदान गर्नुपर्छ। 

सरकारले पूर्वाधार विकास र गुणस्तरमा जोड दिनुपर्छ। सेवाको गुणस्तरमा निगरानी र नियमन कडाइका साथ गर्नुपर्दछ। योसँगै मानव संशाधन विकास, सुरक्षा तथा प्रवर्धन अर्को प्राथमिकता हुनुपर्छ। दक्ष जनशक्तिको वृद्धि र विकासमा केन्द्रित हुँदै सेवाको सुरक्षा साथै हवाई मार्ग र सडक मार्गको सुरक्षा केन्द्रित गतिविधि सञ्चालन गर्ने र स्वास्थ्य पर्यटनको प्रवर्धन गर्न जोड दिनुपर्छ। 

स्वास्थ्य मन्त्रालय वा पर्यटन मन्त्रालय अन्तर्गत एउटा छुट्टै स्वास्थ्य पर्यटन विभागको स्थापना गरी स्वास्थ्य पर्यटनलाई प्रोत्साहन गर्ने, विभिन्न किसिमका इजाजत पत्र वा प्रमाणपत्र जारी गर्ने, गुणस्तर नियमन गर्ने, अन्तर्राष्ट्रिय मापदण्डलाई कार्यन्वयन गरी सुरक्षित सेवाको प्रत्याभूत गर्ने जस्ता काम पनि सरकारले गर्नुपर्छ। 

निजी क्षेत्रले पनि स्वास्थ्य पर्यटनको लागि पूर्वाधार निर्माणमा जोड दिनुपर्छ। यसका लागि सरकारसँग साझेदारी पनि एउटा विकल्प हुनसक्छ। निजी तथा व्यावसायिक क्षेत्रले स्वास्थ्य पर्यटनका विभिन्न किसिमका प्याकेज निर्माण गरी अन्य देशको भन्दा फरक सेवाको विकास गर्नुपर्छ। गैरआवासीय नेपाली संघ तथा अन्य पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य पर्यटनको प्रवर्धनमा पनि जोड दिनुपर्छ। 

स्वास्थ्य पर्यटन क्षेत्रको पहिचान, प्रवर्धन र अनुसन्धानमा निजी क्षेत्रको पनि संलग्नता र भूमिका हुनुपर्छ। स्वास्थ्य पर्यटनका विभिन्न क्षेत्रहरूको पहिचान गरी विश्व बजारमा त्यसको प्रचारप्रसार तथा प्रवर्धन गर्ने र त्यसलाई नयाँ पर्यटन उद्योगको रूपमा विकास गर्न आवश्यक अध्ययन तथा अनुसन्धान गरी सरकारलाई सिफारिश गर्ने जिम्मेवारी पनि निजी क्षेत्रले लिन सक्छ।  

त्यस्तै, निजी क्षेत्रले विभिन्न राष्ट्रहरूमा प्रदान गरिएका सबै प्रकारका स्वास्थ्य बीमा उपयोग गर्न मिल्ने रणनीति बनाउँदै सोही अनुसारको सेवा उपभोग गर्न अन्तर्राष्ट्रिय पर्यटकहरूलाई प्रोत्साहित गर्नुपर्छ। यस वर्षको सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य पर्यटनको क्षेत्रमा पनि बजेट विनियोजन गरी प्राथमिकताको साथ काम गर्न सकेमा देशको अर्थतन्त्रमा सहयोग पुग्न सक्दछ। 

(लेखक स्वास्थ्य बीमा बोर्डमा कार्यरत जनस्वास्थ्यकर्मी हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?