+
+

पचाल झरनालाई नेपालकै अग्लो झरनाको मान्यता दिन आग्रह

रासस रासस
२०८१ वैशाख ११ गते १९:०६

११ वैशाख, मान्म (कालीकोट)। कालीकोटको पचाल झरना गाउँपालिका–३ मा रहेको पचाल झरनालाई नेपालकै अग्लो झरनाको आधिकारिक मान्यता दिन स्थानीयले आग्रह गरेका छन् ।

पटकपटक नापजाँच गर्दा यसअघि नेपालकै लामो भनिएको झरनाभन्दा अग्लो रहेको पत्ता लागेकाले त्यसको आधिकारिक अभिलेख राखी पूर्वाधार विकासमा लगानी र प्रचारप्रसारमा ध्यान दिन स्थानीयको आग्रह छ ।

स्थानीय शिवराज सेजुवाल पटकपटक नापजाँच गरेर नेपालकै अग्लो दाबी गरिए पनि आधिकारिक अभिलेख राख्ने निकायले ध्यान नदिँदा पर्यटन प्रवर्द्धनका कामसमेत हुन नसकेको बताउँछन् ।

‘यो झरना नेपालकै लामो हो भन्ने देखिएको छ तर त्यसको आधिकारिक अभिलेख राखिएको छैन । यदि सो अभिलेख राखी झरनाको संरक्षण, विकास तथा पर्यटन प्रवर्द्धन गर्न सकिए कर्णालीको आकर्षक गन्तव्य बन्नसक्छ र यसतर्फ सरोकारवालाको ध्यान जान जरूरी छ’, उनले भने ।

पचाल झरना गाउँपालिकाका प्राविधिक इञ्जिनियर कुलप्रसाद न्यौपानेले पनि यसअघि नेपालकै अग्लो भनिएको तेह्रथुमको ह्याप्तुङ झरना (३६५ मिटर) भन्दा अग्लो रहेको बताए । यो झरना ४१५ मिटर अग्लो रहेको उनको भनाइ छ ।

‘गाउँपालिकाले गरेको सर्वेक्षणमा पचालझरना खसेको ठाउँदेखि तल ठोक्किएको ठाउँसम्म तीन सय ८१ मिटर उचाइ र ठोक्किएको ठाउँबाट तल झरेको ठाउँसमेतको दूरी लिँदा चार सय १५ मिटर अग्लो रहेको पाइयो’, न्यौपानेले भने, ‘पर्यटन बोर्डले यसलाई मान्यता दिएमा सबैको ध्यानाकर्षण हुन्थ्यो । जसले पर्यटन प्रवर्द्धनका काम गर्न पनि सहज हुने हाम्रो बुझाइ छ ।’

गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले गाउँपालिकाले झरनासम्म पुग्नका लागि पैदलमार्ग, होमस्टे र सूचना केन्द्र स्थापना गरे पनि अन्य निकायबाट सहयोग नपाइएको गुनासो गरे ।

‘नेपाल पर्यटन बोर्डले अग्लो झरना भनेर अभिलेख नराखिदिँदा प्रचारप्रसार गर्न सकिएको छैन । त्यसैकारण कर्णालीकै प्रमुख पर्यटकीय गन्तव्य बन्नसक्ने यो झरना ओझेलमा परेको छ’, अध्यक्ष शाहीले भने । यो झरना सन् २०२० मा सरकारको सय गन्तव्यभित्र परेको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?