+
+
Shares

कालीकोटको शान्तिघाट खोलामा बाढी, डेढ सय परिवार सुरक्षित स्थानमा सारियो

गाउँपालिका अध्यक्ष भन्छन्– फेरि वर्षा सुरु भएको छ, सुरक्षित बसौं

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव एक्कासी बढेपछि करिब डेढ सय परिवार सुरक्षित स्थानमा सरेका छन् ।
  • बिहीबार साँझ वर्षासँगै मुहानमा पहिरो खसेर थुनिएको ताल फुटेपछि खोलामा बाढी आएको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीले बताए ।
  • अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण नआएको र खोला किनारका नागरिकलाई सचेत गराइएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।

१८ भदौ, काठमाडौं । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका भएर बग्ने शान्तिघाट खोलामा पानीको बहाव एक्कासी बढेपछि करिब डेढ सय खोला किनारका स्थानीय सुरक्षित ठाउँमा सरेका छन् ।

बिहीबार साँझ करिब ७ बजेबाट आएको वर्षाका कारण खोलाको मुहानमा पहिरो खसेको थियो । उक्त पहिरोले थुनेको ताल एक्कासी फुटेपछि खोलामा बाढी आएको हो ।

सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहनबहादुर केसीका अनुसार, मुम्राको बालीपाटादेखि गैराखाडा लामाबगर हुँदै शान्तिघाटसम्मको खोला किनारमा बाढी बढेको हो ।

केहीबेर अघि सो क्षेत्रमा वर्षा रोकिएको थियो । अहिले पुन: पानी पर्न थालेको उनले जानकारी दिए ।

उनका अनुसार, अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन । ‘भौतिक क्षतिको विवरण आएको छैन, हामी भोलि त्यसबारे बुझ्न जान्छौं,’ उनले भने ।

बाढी बढेपछि आफूले तत्कालै स्थानीयलाई खबर गरेको र करिब डेढ सय परिवार सुरक्षित स्थानमा सरेको उनले अनलाइनखबरलाई बताए ।

सान्नी त्रिवेणी गाउँपालिकाका ४, ५, ६, ८ र ९ नम्बर वडा भएर सो खोला बग्ने गरेको छ ।

शान्तिघाट खोला मुम्राबाट करिब २ सय मिटर तल पुगेर कर्णाली नदीमा मिसिने उनले बताए  ।

जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रवक्ता जनक शर्माले पनि शान्तिघाट खोलामा पानीको बहाब बढेपछि खोला किनारका नागरिकलाई सचेत गराइएको बताए ।

‘त्यस्तो ठूलो होइन । पानी परेपछि अलिकति खोला किनारका मान्छेलाई माइकिङ गरेको हो । सचेत रहनुपर्‍यो, तर आत्तिन आवश्यक छैन,’ प्रवक्ता शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?