+
+

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव

रासस रासस
२०८१ वैशाख १ गते १८:४८

१ वैशाख, दमौली (तनहुँ) । नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबार सडक खाना महोत्सव सुरु भएको छ ।

बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर इकाइ र रेबान तनहुँको संयुक्त आयोजनामा सडक खाना महोत्सव सुरु भएको हो । महोत्सव आगामी वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ वर्षलाई जिल्लाभित्रै बसेर स्वागत गर्न र बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने प्रमुख लक्ष्यसहित सडक खाना महोत्सव आयोजना गरिएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।

सडक खाना महोत्सवका अवसरमा विविध जातजातिका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ । मगर, नेवार, गुरुङ, ब्राम्हणलगायत अन्य जातजातिका सांस्कृतिक नाचलाई सडक खाना महोत्सवमा समावेश गरिएको प्रधानको भनाइ छ ।

आन्तरिक पर्यटकको अलवा बन्दीपुरमा विदेशी पर्यटकको पनि उत्तिकै भीड हुन्छ । यहाँ विशेषगरी चिनियाँ पर्यटकको सङ्ख्या बढी छ । नेपाल आएका अधिकांश पर्यटक एक रात बस्नका लागि बन्दीपुर आउने गरेका छन् ।

यसवर्ष बन्दीपुरमा २६ देशबाट पर्यटक आएको तथ्याङ्क छ । बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्याण्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान, अष्ट्रेलिया, बेलायत, आयरल्याण्ड, दक्षिण कोरिया, बेल्जियम, थाइल्याण्ड, ताइवान, स्वीटजरल्याण्ड, मलेसिया, होल्याण्ड, पोर्चुगल, चेक रिपब्लिक, इरान, भारत, ग्रिस र अर्जेन्टिनाका पर्यटक आएको जनाइएको छ ।

बन्दीपुरमा आयोजना हुने सडक खाना महोत्सवले यहाँको पर्यटनमा टेवा मिल्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । बन्दीपुर घुम्न आउने पर्यटकलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्न बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेपछि पर्यटकलाई थप सहज भएको छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाका अनुसार गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्चलगायतका भाषामा तयार पारिएको छ ।

बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय, पातलेद्वार गुफा, पहाड पानी, सहिद स्मारक पार्कलगायतका १७ पर्यटकीय गन्तव्यको सूचना फरक–फरक भाषामा तयार भएको छ ।

सदरमुकाम दमौलीबाट १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरिलगायतका हिमशृङ्खला देखिन्छ ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना–ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डइन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दीपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालन छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?