+
+

पुरुष सौन्दर्य : फेसनमा थरीथरीका दाह्री

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १३:५९

काठमाडौं । कुनैबेला मिलेको जुँगालाई पुरुषको शान-शौकातसँग जोडेर हेरिन्थ्यो । यसलाई पुरुषत्वको विम्बको रुपमा पनि बुझिन्थ्यो । समयक्रमसँगै पुरुषको अनुहारबाट दाह्रीजुँगाको शैली पनि फेरिंदै गयो । एक समय यस्तो पनि आयो, जब पुरुषहरु झ्याप्प दाह्री जुँगामा होइन, सफाचट देखिन रुचाए । थोरै दाह्रीजुँगा टुसाउनासाथ ब्लेड लगाउन हतारिन्थे ।

घुम्दै फिर्दै रुम्जाटार भने झैं अहिले फेरि दाह्रीजुँगाको पुरानै शैली पुनरावृत्ति भएको छ । यतिबेला पुरुषहरु चिरिच्याट्ट दाह्रीजुँगामा ठाँटिन थालेका छन् ।

दाह्रीको यो शैलीले खासगरी युवापुस्तालाई लोभ्याएको छ । उनीहरु दाह्रीजुँगालाई अनुहारको ढाँचा अनुरुप काँटछाट गरेर सजिन थालेका छन् । दाह्रीको यो शैलीले नेपाली युवाहरुलाई कतिसम्म एकीकृत गरेको छ भने एउटा समूहले ‘दाह्री ग्याङ’ नै स्थापना गरेका छन् । उनीहरुको एउटा रसिलो नारा छ, गालामा दाह्री, काँधमा जिम्मेवारी ।

दाह्री थरीथरीका

युवाहरुलाई लाग्छ, दाह्रीले परिपक्व र आकर्षक देखिन्छ ।

दाह्री पाल्नुलाई ‘मेट्रो सेक्सुअल शैली’ पनि भनिन्छ । दाह्री पाल्ने युवाको जमात निकै ठूलो छ । तन्नेरीहरु पहिलेको जस्तो सफाचट भन्दा दाह्री पाल्ने र नयाँ ढाँचामा सजाउने गरेको बताउँछन्, २० वर्षदेखि जुरी युनिसेक्स पार्लरका जुरी ठाकुर ।

‘पहिलो जस्तो दाह्री काटेर चिल्ला गला बनाउने शैली फेरिंदै गएको छ,’ ठाकुर भन्छन्, ‘अहिले त झ्याप्प दाह्री राखेर त्यसैमा ठाँटिन थालेका छन् ।’ उनका अनुसार दाह्रीले पुरुष आकर्षण बढाउने र यौनिकता पनि झल्कने उनको बुझाइ छ ।

‘अनुहारको संरचना अनुसार आफूलाई मनपर्ने सेलिब्रिटीको जस्तो नयाँनयाँ ढाँचामा दाह्री पाल्ने प्रवृत्ति व्याक छ,’ ठाकुर भन्छन्, ‘यसले वास्तवमै युवाहरुलाई स्मार्ट पनि देखाएको छ ।’

ठाकुरका अनुसार तन्नेरीमाझ चलेको शैली हो, रोयल कर्भ, लोप कट र फ्रेन्च कट ।

स्लोप : ठाकुरका अनुसार अहिले युवामाझ दाह्री काट्ने र पाल्ने सबैभन्दा लोकप्रिय स्टाइल हो स्लोप स्टाइल । यसमा गालाको दुवै भागतिर मसिनो गरी काटिन्छ । चिउँडोमा भने लामो दाह्री राखिन्छ । जुँगालाई दाह्रीकै भागमा लगेर जोडिन्छ ।

फ्रेन्च कट : फ्रेन्च कट दाह्री निकै प्रचलित शैली हो । यसमा स्लोप कट जस्तै गालाको दुई भागमा दाह्रीको कुनै अंश हुँदैन । त्यसमा सफाचट हुन्छ । चिउँडोको भागमा भने लामो दाह्री राखिन्छ ।

रोयल कर्भ : यसलाई राजशी ठाँटको शैली भने पनि हुन्छ । रोयल कर्भ पुराना राजामहाराजाले दाह्रीजुँगा राख्ने स्टाइल हो । यसलाई राजसी ठाँट र शान-शौकतसँग पनि जोडिन्छ । हाई प्रोफाइल, उच्च घरानाका र व्यापारी वर्गमाझ यो स्टाइल प्रचलित छ । यो स्टाइलमा जुँगा मोड्ने गरी राखिन्छ भने दाह्री अलि लामो पालिन्छ ।

फुल बियर्ड : यो कटमा दाह्री जुँगा पूरै राखिएको हुन्छ । यसमा चिउँडोतिर झरेको जुँगा छोटो हुन्छ भने चिउँडोको दाह्री भने अलिक लामो हुन्छ । गोलाकार भन्दा लाम्चो मुखाकृति हुनेले यो कट राख्दा राम्रो सुहाउँछ ।

क्लिन सेफ : क्लिन सेफ दाह्री पाल्ने तथा मिलाउने पहिला निकै लोकप्रिय स्टाइल थियो । बीचमा यो स्टाइलको प्रचलन हराए पनि अहिले यो फेरि बढ्दै गएको छ । अनुहारलाई सफा सुग्घर र चिल्लो देखाउन चाहने वर्गले क्लिन सेफ गर्ने गरेका छन् । जुरी ठाकुरका अनुसार अहिले यो स्टाइल तन्नेरीमाझ फेरि प्रचलनमा आइरहेको छ ।

अहिलेका तन्नेरीहरु कपाल काट्ने भन्दा दाह्री मिलाउन बढी शैलुन धाउने गरेको बताउँछन् जुरी युनिसेक्स पार्लरका सञ्चालक जुरी ठाकुर । ‘अहिलेको युवाले दाह्री काट्नु भन्दा मिलाएर पाल्न र बेलाबेला काँटछाँट गर्न मन पराउँछन्,’ उनी भन्छन्, ‘युवामा दाह्रीप्रतिको लगाव र माया निकै बढ्दै गइरहेको छ ।’

‘दाह्री प्रकृतिले दिएको फूलबारी’ दाह्री ग्याङले दाह्री पाल्ने युवाको समूह बनाएर तन्नेरीलाई दाह्री पाल्न झनै उत्साह दिएको छ । ग्याङले ‘म जिम्मेवार छु, मेरो दाह्री छ । त्यसैले म सार्वजनिक स्थानमा धुम्रपान गर्दिनँ’ जस्ता नारा समेत निर्माण गरेर सार्वजनिक गरिरहेको छ ।

समाजमा दाह्रीले मान्छेको व्यक्तित्व झल्काउने र उसको परिचय बताउने मनोविज्ञान छ । दाह्री आउनुलाई समाजले जान्ने बुझ्ने भइसकेको संज्ञा समेत दिने गर्छ । दाह्रीजुँगा आइसकेपछि उ स्वयं बुझ्ने भइसकेको हुने र उसले आफ्नो जिम्मेवारी सम्हाल्न सक्ने बुझाइ छ ।

दाह्रीजुँगाको स्टाइलले मानिसको जीवनशैली र पेसा-व्यवसायलाई पनि प्रदर्शित गरिरहेको हुन्छ । दाह्रीजुँगाको फेसन तन्नेरीको जीवनशैलीको महत्वपूर्ण पक्ष भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?