+
+

काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गरिंदै

सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १९:४०
पाटन दरवार स्क्वायर

१५ भदौ, काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रात्रिकालीन सम्पदा यात्रा सुरु गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले ल्याएको पर्यटन पुनरुत्थान कार्ययोजनामा यो कार्यक्रम समेटिएको थियो ।

काठमाडौं, भक्तपुर, पाटन र कीर्तिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु गर्नेबारे मन्त्री श्रेष्ठले बुधवार सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।

मन्त्री श्रेष्ठले रात्रिकालीन सम्पदा यात्राले पर्यटकहरूको आगमनमा वृद्धि हुने र उपत्यकामा पर्यटकको बसाइ अवधि लम्बिने विश्वास व्यक्त गरे । रात्रिकालीन सम्पदायात्राबाट यहाँका कला, संस्कृति र सम्पदालाई बाह्य तथा आन्तरिक पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउन तथा सम्पदाको जगेर्ना गर्न मद्धत पुग्ने उनले बताए । रात्रिकालीन सम्पदा यात्राले उपत्यकाका मठमन्दिर, जात्रा पर्वले मात्रै होइन बाजागाजा, सांस्कृतिक नाच, झाँकी र भजनले पनि पुनर्जीवन पाउने उनको भनाइ थियो ।

पर्यटन व्यवसायी र स्थानीयबासिन्दाबीच सहकार्य, सम्पदा उज्यालो देखिने गरी बत्तिको व्यवस्था, सुरक्षा व्यवस्थाका साथै साँझसम्म स्थानीय व्यवसाय सञ्चालनको तयारी पूरा गरी रात्रिकालीन सम्पदायात्रा सञ्चालन गरिनेछ । ऐतिहासिक सम्पदा, मन्दिर, पार्क तथा ढुंगेधाराको रात्रिकालीन अवलोकन निकै आकर्षक एवं मनमोहक हुने पर्यटन व्यवसायीहरुको भनाइ छ । छलफलमा उपत्यकाका स्थानीयतहका प्रतिनिधिका साथै होटल व्यवसायी, पर्यटन व्यवसायी, प्रहरी र स्थानीय संघ–संस्थाका प्रतिनिधि सहभागि भएका थिए ।

दिवाकालीन मात्रै होइन, रात्रिकालीन पर्यटन विकास गर्न तथा सम्पदा बस्तीलाई पर्यटकीय गन्तव्य बनाउन रात्रिकालीन सम्पदा यात्रा सञ्चालन गर्न लागिएको हो । रात्रिकालीन सम्पदा यात्राले स्थानीयवासिन्दाको आर्थिक समृद्धिमा सहयोग पुन्नेछ । रात्रिकालीन पर्यटन प्रवर्द्धन गर्न सम्पदा क्षेत्रहरू उपयुक्त रहेको मन्त्री श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?