+
+

उपदान र उपचार खर्च माग्दै हेटौंडा सिमेन्टका पूर्वकर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १६:१७

१३ वैशाख, हेटौंडा । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योगका २७ जना पूर्वकर्मचारी आन्दोलित भएका छन् ।

सेवाबाट अवकाश पश्चात उद्योगले उपदान रकम र औषधि उपचार खर्च नदिएको भन्दै पूर्वकर्मचारीहरू बिहीबार धर्नामा बसेका हुन् । २१ साउन २०७९ यता १० वैशाख २०८१ सम्म ३० जना कर्मचारीले अवकाश लिइसकेका छन् ।

पछिल्लो पटक १० वैशाख २०८१ मा हृदयनारायण चौधरीले अवकाश लिएको उद्योग प्रशासनले जानकारी दिएको छ । चौधरीको उपदान र उपचार खर्चको उद्योगले निर्क्याैल गरिसकेको छैन । उद्योगका अनुसार उनको करिब ५५ लाख लिनुपर्ने अनुमान छ ।

यसअघि अवकाश लिइसकेका उदयपुरका अम्बरबहादुर विष्टलाई भने गत माघमा उद्योगले करिब ५५ लाख रुपैयाँ उपदान र उपचार खर्च दिएको थियो ।

आन्दोलित २७ जनाले उपदान रकम र औषधि उपचारवापतको खर्च गरी १६ करोड ९६ लाख ९१ हजार ३३८ रुपैयाँ लिन बाँकी रहेको उद्योग प्रशासनले जानकारी दिएको छ । १३ करोड ६२ लाख ६९ हजार २८६ उपदान रकम र ३ करोड ३४ लाख २२ हजार ५२ औषधि उपचार रकम रहेको छ ।

अवकाश लिएकामध्ये हेटौंडा–१३ पदमपोखरीका निङ्मा दोर्जे लामाको मृत्यु भइसकेको छ । उनका छोरा छेवाङ सिन्तान लामा आन्दोलनमा सहभागी छन् । उपदान र उपचार खर्च गरी ५२ लाख ८२ हजार ९९९ रुपैयाँ लिनुपर्ने निङ्माको गत १८ मंसिरमा मृत्यु भएको थियो । ‘उपचार गर्न खर्चसमेत भएन । यतिका वर्ष उद्योगमा काम गरेर उपचारसमेत गर्न नपाउँदा दुःख लाग्यो,’ छोरा छेवाङले भने ।

सप्तरीको खड्ग नगरपालिका–११ का बहुरीप्रसाद चौधरी हस्पिटलले जोडिदिएको वैकल्पिक पिसाब थैली नै बोकेर आन्दोलनमा होमिएका छन् । पिसाब थैलीमा क्यान्सर भएपछि शल्यक्रिया गरेको चौधरीले जानकारी दिए ।

‘मेरो पिसाब थैलीमा क्यान्सर हुँदासमेत ऋण खोजेर उपचार गर्नुपरेको छ । त्यो ऋण तिर्नलाई अब यस्तो अवस्थामा के काम गर्न जाउँ । उद्योगले पैसा दिएन त्यति भएर बिरामी हुँदा पनि धर्नामा आएको छु,’ उनले सुनाए । चौधरीको उद्योगसँग ५२ लाख ३१ हजार ७२३ रुपैयाँ लिनुपर्ने अभिलेखमा छ ।

वीरगञ्जका सञ्जय केशरी अर्याल मुटुको समस्याले घरको ओछ्यानमै थलिएको अवकाश पीडित कर्मचारी समूहका संयोजक एकाबहादुर डंगोलले जानकारी दिए । उनले उपचारसमेत गर्न नपाएको उनको भनाइ छ । अर्यालले उपदानको ६३ लाख ७० हजार ५२३ र उपचार खर्चवापतको १२ लाख २ हजार १९ रुपैयाँ नपाएको उद्योग प्रशासनको अभिलेखमा उल्लेख छ ।

उद्योगसँग ४३ लाख ९ हजार ७२३ रुपैयाँ लिन बाँकी हेटौंडा–४ घर भएका रामकुमार सुनारले गत भदौमा श्रीमती पार्वती सुनार गुमाए । क्यान्सरले श्रीमतीको मृत्यु भएको बताउँदै सुनारले भने, ‘श्रीमतीको उपचार गर्न जागिर छोडेँ । न जागिर रह्यो, न श्रीमती । अझैसम्म उद्योगले उपदान र उपचार खर्च पनि दिएन ।’

चौधरी, अर्याल, सुनारजस्ता सबैको आ–आफ्नै दुःख र पीडा रहेको आन्दोलनलाई नेतृत्व गरिरहेका डंगोल सुनाउँछन् । उद्योगको उत्पादन लगायतका क्षेत्रमा ३५–४० वर्षदेखि काम गर्दा बुढ्यौलीमा आएर अधिकांशलाई रोगले च्यापेको उनले बताए । यतिका वर्षसम्म पसिना बगाएको उद्योगले उपचार गर्नसमेत पैसा नदिंदा दुःख लागेको शिव अधिकारीले बताए ।

अवकाश पाएका कर्मचारीहरूले ३० चैत २०८० मा अर्थमन्त्री वर्षमान पुनसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, मकवानपुरका प्रतिनिधि सभा सदस्य नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलासहित सबै राजनीतिक दललाईलाई निवृत्तिभरण वापतको रकम उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

उद्योगले गत २५ पुसमा पूर्वकर्मचारीसँग सम्झौता गर्दै फागुन २०८० भित्र एक जनालाई उपदान दिने र बाँकी सबैलाई असार मसान्तसम्म दिइसक्ने सहमति गरेको थियो ।

महाप्रबन्धक वसन्तकुमार पाण्डेले पूर्वकर्मचारीको माग जायज भए पनि उद्योग रकम दिन सक्ने अवस्थामा नभएको बताए । उद्योग घाटामा रहेकाले रकम दिन नसकिएको उनको भनाइ छ । उद्योगको सबलीकरण र पूर्वकर्मचारीहरूको समस्या समाधानका लागि पहल भइरहेको पाण्डेले बताए । अर्थ मन्त्रालयमा पूर्वकर्मचारीहरूको रकम एकमुष्ट दिनुपर्ने मागसहित पत्राचार गरिएको र जवाफ सकारात्मक आएको पाण्डेले जनाए ।

६० करोड दायित्व

हेटौंडा सिमेन्ट उद्योगले ६० करोड बजारमा तिर्न बाँकी रहेको महाप्रबन्धक पाण्डेले बताए । कोइला, जिप्सन, आइरन लगायतका कच्चापदार्थ र चुनढुंगाको २६ करोड रुपैयाँ उधारो उद्योगमाथि रहेको छ ।

उद्योगलाई आवश्यक पर्ने स्पेयर पार्टस्को करिब ३ करोड रुपैयाँ, ३० जना अवकाश प्राप्त कर्मचारीकै झण्डै १८ करोड पनि बाँकी छ । अतिरिक्त समय कार्य भुक्तानी रकम गत वैशाखदेखि नै भुक्तान हुन सकेको छैन । कर्मचारीको सञ्जय कोषको रकम पनि गत भदौसम्म मात्रै दाखिला भएको पाण्डेको भनाइ छ ।

उद्योगले स्थायी कर्मचारीको बीमा गरेको रकमसमेत भुक्तानी दिन सकेको छैन । उद्योगका सूचना अधिकारी अशोक गौतमले कर, विद्युत् लगायत गरेर करिब ८ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए ।

सिमेन्ट उत्पादन र बिक्रीबाट प्राप्त रकमबाट कर्मचारीको तलब भुक्तानी गरिएको हेटौंडा सिमेन्ट उद्योग प्रशासनले जनाएको छ । उद्योगले १२ वैशाखसम्म ३५ करोड मात्रै आम्दानी गरेको छ । ६ सय ४९ रुपैयाँ प्रतिबोराका दरले सिमेन्ट बिक्रीबाट ३३ करोड ३९ लाख १७ हजार ४३७ रुपैयाँ आम्दानी गरेको छ । कवाडी सामानको लिलामीबाट २ करोड रुपैयाँ आम्दानी भएको उद्योगले जनाएको छ । उद्योगको गोदाममा करिब डेढ लाख बोरा सिमेन्ट मौज्दात छ । जसको मूल्य ९ करोडमाथि हुन्छ ।

निरन्तर घाटामा

आर्थिक वर्ष २०६६/६७ र २०६७/६८ मा दुई वर्ष नाफामा रहेको उद्योग आर्थिक वर्ष २०६८/६९ देखि २०७०/७१ सम्म तीन वर्ष लगातार घाटामा चल्यो । आर्थिक वर्ष २०७१/७२ देखि २०७४/७५ सम्म चार वर्षमा भने नाफा कमाएको थियो । त्यसयता निरन्तर घाटामा छ ।

हेटौंडा सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७५/७६ यता करिब ९० करोड रुपैयाँ घाटा व्यहोरेको छ । उद्योगका मेसिन पनि पुरानो भएपछि नयाँ उपकरण जडान गर्न उद्योगले सरकारसँग एक अर्ब ६० करोड रुपैयाँ माग गरेको छ ।

उद्योग राम्रोसँग सञ्चालन गर्न नयाँ मेसिन जडान गर्नुपर्ने महाप्रबन्धक पाण्डेले बताए । सरकारबाट सहजै अनुदान आउने नदेखिएपछि उद्योगको नाममा रहेको जग्गा बिक्री गर्न खोजेका पाण्डे विवाद भएपछि पछि हटेका थिए ।

उद्योगले आर्थिक वर्ष २०६६/६७ मा ८४ हजार ९ सय ६ मेट्रिक टन सिमेन्ट उत्पादन गरी ११ करोड ७० लाख १६ हजार नाफा गरेको थियो । २०७१/७२ मा ५ करोड ३२ लाख, २०७२/७३ मा चार करोड ६५ लाख ५० हजार, २०७३/७४ मा १५ करोड ४८ लाख ७७ हजार, २०७४/७५ मा १६ करोड ३६ लाख नाफा गरेको तथ्यांक छ ।

आर्थिक वर्ष २०७७/७८ मा १७ करोड ४ लाख, २०७८/०७९ मा १० करोड ६९ लाख, २०७९/८० मा १० करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?