+
+

महजोडीको फिल्म ‘महापुरुष’ अमेरिकामा नियमित शोमै प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १६:५३

काठमाडौं । भाइटीकाको भोलिपल्ट विश्वव्यापी रिलिज हुन लागेको फिल्मले अमेरिकामा पनि हलमै प्रदर्शनको मौका पाएको छ । कात्तिक ११ गते महजोडी स्टारर फिल्मलाई नियमित शोमा अमेरिकामा हेर्न पाइने भएको हो ।

प्रदीप भट्टराई निर्देशित फिल्म अमेरिकासहित अस्ट्रेलिया, बेलायत, जापान, युरोप, दक्षिण कोरिया र मध्यपूर्वका देशमा प्रदर्शन हुँदैछ ।

निर्माता रविन्द्रसिंह बानियाँले अमेरिका र अस्ट्रेलियाको प्रदर्शनका लागि नियमित शोको व्यवस्था गरिएको बताए । एमएसएम इभेन्ट्सले अस्ट्रेलिया र नेपाल ११ इन्टरटेनमेन्ट एलएलसीले अमेरिका राइट्स महंगो मूल्यमा खरिद गरेका छन् ।

प्रायः नेपाली फिल्मलाई विदेशमा कुनै पर्व र अवसरमा मात्र प्रदर्शन गर्ने चलन छ । तर यो प्रवृत्तिलाई तोड्दै ‘महापुरुष’लाई नियमित शोमै देखाइन लागिएको जनाइएको छ ।

निर्देशक भट्टराईका अघिल्ला फिल्मले दर्शकलाई निराश नबनाएकाले अस्ट्रेलियामा ‘महापुरुष’को राम्रो माग रहेको एमएसएम इभेन्ट्सका एक प्रतिनिधिले बताए ।

अमेरिका रिलिजको जिम्मा पाएको नेपाल ११ इन्टरटेनमेन्टका प्रतीक सुवेदीले भट्टराई र निर्माता बानियाँको अघिल्ला फिल्मले दर्शकको मन जितेका कारण ‘महापुरुष’को राइट्स लिएको बताए ।

नियमित शोमा फिल्म देखाउने भएपछि आफूले वितरण कम्पनीसँग सहकार्य गरेको निर्माता बानियाँले बताए । ‘जसरी फिल्म सिनेमा देखाउने शैली कम्युनिटी हलबाट सिनेमा हलमै पुग्यो । अब दर्शकलाई एउटा शो दिने भन्दा पनि रेगुलर शोमै सिनेमा देखाउने हाम्रो तयारी पूरा भएको छ । अब दर्शकले अन्य विदेशी सिनेमा झैं आफ्नो अनुकूल समयमा हेर्न पाउनुहुनेछ,’ बानियाँले भने ।

अमेरिकामा नेपाल रिलिजकै दिन ३० शोको हारहारीमा फिल्म प्रदर्शन हुनेछ । यसको अस्ट्रेलिया र अमेरिका राइट्स ५०/५० लाखमा बिक्री भएको हो ।

सामाजिक कथावस्तुमा आधारित ‘महापुरुष’मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्रसिंह बानियाँ, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, राजाराम पौडेल लगायतको अभिनय छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता म्याक्स दीपेश खत्री हुन् भने बानियाँ कार्यकारी निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?