+
+

प्रकाश सपुतले फिल्म ‘वसन्त’ निर्देशन गर्ने, टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १६:२५

काठमाडौं । गायक प्रकाश सपुतले जातीय विभेद र वर्ण व्यवस्थाको कथावस्तुमा आधारित हुने फिल्म ‘वसन्त’ निर्देशन गर्ने भएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा यो सोसल-ड्रामा फिल्म निर्माणको घोषणा गरियो ।

फिल्मको शीर्ष भूमिकामा सपुतसहित स्वस्तिमा खड्का, अनुप बराल, कमलमणि नेपाल र प्रकाश घिमिरेको अभिनय हुने जनाइएको छ । निर्देशनसहित फिल्मको संगीत र पटकथा पनि सपुतकै हुने उल्लेख छ ।

फिल्मको प्रदर्शन मिति आगामी चैते दशैंलाई तय गरिएको छ । आफ्नो युट्युब च्यानलबाट टिजर सार्वजनिक गर्दै सपुतले यो प्रोजेक्टबारे विस्तृत जानकारी गराएका छन् ।

टिजरअनुसार फिल्मको कथावस्तुको सेटिङ बागलुङको ग्रामीण क्षेत्रको हो । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र यो लक्ष्य हासिल गर्न उसले हासिल गर्ने संघर्ष यसको कथा हो । सपुत आरनमा काम गर्ने लोहारको रोलमा देखिएका कमलमणिको छोरा वसन्तको भूमिकामा हुनेछन् ।

स्वस्तिमाले शान्ति नामक पात्रको रोल गरेकी छन् । टिजरमा चरित्र चित्रणबारे धेरै नखुलाइएपनि स्वस्तिमाले कथित उपल्लो जातकी युवती शान्तिको भूमिका गरेकी छन् । यी दुईले फिल्मभित्र ‘लभ इन्ट्रेस्ट’को भूमिका निर्वाह गरेका छन् ।

प्रकाश र स्वस्तिमाले यसअघि ‘जाले रुमाल फाट्यो’ र ‘कुरा बुझ्नुपर्छ’ गीतका भिडियोमा सहकार्य गरेका थिए ।

गलबन्दी प्रोडक्सनले निर्माण गर्ने यो फिल्मको कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन छन् । यो फिल्मको बजेट तीन करोड रुपैयाँ हुने चलचित्र विकास बोर्डको दर्ता विवरणमा उल्लेख छ ।

सपुतले गत वर्ष नारायण रायमाझी निर्देशित ‘परदेशी २’ बाट फिल्म अभिनयमा डेब्यु गरेका थिए । भदौदेखि छायांकन सुरु हुने ‘बसन्त’अघि उनले सेभेन सिजको फिल्म ‘पूर्णबहादुरको सारंगी’मा काम गर्नेछन् ।

टिजरको भ्वाइसओभरमा पनि सपुतले यो फिल्म आफ्नो अनुभवमा आधारित रहेको बताएका छन् । यही वाक्य उनले पत्रकार सम्मेलनमा पनि दोहोर्‍याए । उनले आफ्नो जीवनको चित्रणलाई फिल्मांकन गरिएको बताए ।

महिलालाई पर्दामा मात्र नल्याएर बलियोसँग प्रस्तुत गर्नुपर्छ भन्ने सपुतको तरिका आफूलाई मनपरेको स्वस्तिमाले बताइन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्म क्षेत्रमा प्रकाश सपुतको भविष्य उज्वल देखेको बताए ।

तस्वीर : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?